लहान । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर ६ स्थित कल्याणपुरमा नयाँ विद्युत ट्रान्सफर्मर जडान भएपछि स्थानीय बासिन्दा तथा विशेषगरी कृषकहरुमा खुसियाली छाएको छ ।

लामो समयदेखि वर्षा नहुँदा र सिँचाइको भरपर्दो व्यवस्था नहुँदा समस्यामा परेका किसानहरु गाउँमा नयाँ ट्रान्सफर्मर जडान भएसँगै अब सहज रुपमा बोरिङ सञ्चालन गर्न पाइने भएपछि उत्साहित भएका हुन् ।
गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको सन्दर्भमा यो महत्वपूर्ण कार्य सम्पन्न भएको हो ।गाउँपालिकाका अध्यक्ष चतुरानन्द ठाकुर, उपाध्यक्ष अमरकला यादव र प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार सिंहले कृषि क्षेत्रको सुधार र किसानको समस्या समाधान नै आफ्नो मुख्य लक्ष्य रहेको बताउनुभएको छ ।
अध्यक्ष ठाकुरले भन्नुभयो, “लामो समयदेखि पानी नपरेर किसानहरू ठूलो मारमा थिए । सिँचाइको अभावमा खेतबारी बाँझै रहने हो कि भन्ने चिन्ता थियो । अब यो नयाँ ट्रान्सफर्मरले किसानहरूलाई ठूलो राहत दिनेछ र उहाँहरूको सिँचाइ समस्या समाधान हुनेमा हामी विश्वस्त छौं ।” उहाँले कृषि उत्पादन बढाउन र किसानको जीवनस्तर उकास्न गाउँपालिका सदैव प्रतिबद्ध रहेको बताउनुभयो ।
यसैगरी, उपाध्यक्ष अमरकला यादवले ट्रान्सफर्मर जडानले महिला किसानहरूलाई समेत ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अब समयमै सिँचाइ गर्न पाउँदा खेतीपाती फस्टाउनेछ, जसको प्रत्यक्ष लाभ हाम्रो घर-घरमा पुग्नेछ ।”
प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार सिंहका अनुसार गाउँपालिकाले विद्युतीकरण र कृषि पूर्वाधारमा लगानी बढाउँदै लगेको छ । केही समयअघि मात्र गाउँपालिकाले किसानहरूको कृषि मिटरको लामो समयदेखि बाँकी रहेको विद्युत महसुल समेत तिरिदिएर राहत प्रदान गरेको थियो । कल्याणपुरमा जडान गरिएको यो ट्रान्सफर्मर सोही राहत र सुधार कार्यक्रमको निरन्तरता भएको उहाँले प्रस्ट पार्नुभयो ।
स्थानीय किसान जिवछ साहले खुसी व्यक्त गर्दै भने, “पानी नभएर धानको ब्याड सुक्न लागेको थियो । अब ट्रान्सफर्मर आएपछि रातदिन जतिबेला पनि बोरिङ चलाएर खेतमा पानी लगाउन पाइने भयो । गाउँपालिकाले हाम्रो ठूलो समस्या समाधान गरिदियो ।”
विद्युतको अभावमा यसअघि जोखिमपूर्ण तरिकाले टाढाबाट तार तानेर सिँचाइ गर्नुपर्ने बाध्यता रहेकोमा अब भने सुरक्षित र भरपर्दो विद्युत आपूर्ति हुने भएपछि स्थानीयले जनप्रतिनिधिहरूलाई धन्यवाद दिएका छन् । यस कदमले कृषि उत्पादनमा सकारात्मक प्रभाव पर्ने र किसानहरूको आर्थिक अवस्थामा सुधार आउने अपेक्षा गरिएको छ ।


