आलोक यादव / धनगढीमाई । विगत तीन वर्षदेखि प्राविधिक कारणले बन्द रहेको सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ५ स्थित डिप बोरिङ नेपाली कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादवको व्यक्तिगत लगानीमा पुनः सञ्चालनमा आएको छ।

डिप बोरिङ बन्द हुँदा सिँचाइको अभावमा खेतीपाती गर्न समस्या भोगिरहेका स्थानीय किसानहरू यसको पुनः सञ्चालनपछि खुसी भएका छन्।
पानीको समस्याका कारण कृषि कार्यमा ठूलो असर पुगेको भन्दै किसानहरूले लामो समयदेखि डिप बोरिङ मर्मतको माग गर्दै आएका थिए। जिल्ला सभापति यादवले किसानहरूको समस्यालाई मध्यनजर गर्दै व्यक्तिगत खर्चमा बोरिङ मर्मत गराएर सञ्चालनमा ल्याएका हुन्।

डिप बोरिङ पुनः सञ्चालनमा आएसँगै यस क्षेत्रका किसानहरूलाई गहुँ, धान, तरकारी लगायतका बाली सिँचाइ गर्न सहज भएको छ। यसबाट उत्पादन बढ्ने र आर्थिक अवस्थामा सुधार आउने विश्वास गरिएको छ।
स्थानीय किसानहरूले रामचन्द्र यादवको यस कार्यको प्रशंसा गर्दै उनीजस्तो विकासप्रेमी नेता नगर प्रमुखमा आवश्यक रहेको बताएका छन्। उनीहरूले यादवको पहलले आफूहरूको वर्षौंदेखिको समस्या समाधान भएकोमा आभार व्यक्त गरेका छन्।


