पत्रकारमाथि अपशब्द प्रयोग गर्ने नगर अध्यक्ष साहलाई कारबाही गर्न माग

लहान । नेपाल पत्रकार महासंघ, सिरहा शाखाका अध्यक्ष मनोज बनैता यादवलाई लक्षित गरी सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरेको भन्दै नेकपा एमाले लहान नगर अध्यक्ष राजकुमार साहविरुद्ध सञ्चार सम्बद्ध संगठनहरूले कारबाहीको माग गरेका छन्।

अध्यक्ष यादवले लहानका उपमेयरको भिडियो सामग्री सामाजिक सञ्जालमा राखेपछि साहले मंगलबार आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै चौतर्फी विरोध भएको हो।

नेपाल पत्रकार महासंघ मधेस प्रदेशले बुधबार विज्ञप्ति जारी गर्दै साहको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासचिव शैलेन्द्र क्रान्तिद्वारा हस्ताक्षरित विज्ञप्तिमा साहले प्रयोग गरेको ‘भ्रमपूर्ण, अश्लील र आपत्तिजनक अभिव्यक्ति’ को निन्दा गर्दै छानबिन गरी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ।

यस्तै, महासंघको सिरहा शाखाले पनि विज्ञप्ति जारी गरी शाखा अध्यक्ष यादवमाथि भएको गालीगलौज र गैरजिम्मेवार अभिव्यक्तिका लागि नगर अध्यक्ष साहलाई कानुनी दायरामा ल्याउन माग गरेको छ।

शाखा सचिव मुकेशकुमार यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यदि कुनै भिडियो सामग्री सत्यतथ्यमा आधारित छ भने त्यसको प्रसारण गर्नु पत्रकारको न केवल अधिकार हो, कर्तव्य पनि हो। सोही विषयलाई लिएर अमर्यादित गालीगलौज गर्नु निन्दनीय र सम्पूर्ण पत्रकार समुदायप्रतिको घोर अपमान हो।’

यस घटनाप्रति प्रेस सेन्टर सिरहा र प्रेस युनियन सिरहाले पनि छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै निन्दा व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..