प्रसाईं भारतीय प्रहरीको नियन्त्रणमा, सीमा कटाएपछि नेपाल प्रहरीले समात्ने

काठमाडौं । नेपाल प्रहरीले पक्राउ परेको अस्वीकार गरेका राजावादी अभियान्ता दुर्गा प्रसाईं असामबाट भारतीय प्रहरीको नियन्त्रणमा आएका छन् । उनलाई नेपाली सीमा क्षेत्रमा प्रवेश गराएपछि नेपाल प्रहरीले नियन्त्रणमा लिने तयारी गरेको छ । नेपाल प्रहरीले भने उनी पक्राउ नपरेको विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

काठमाडौंमा हिंसा मच्चाएर फरार राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईं भारत भागेका थिए । एक सातादेखि भारतको आसाममा तन्ना र चटपटे बेच्दै प्रसाईंको खोजी गरिरहेका नेपाली सुरक्षाकर्मीले फेला पारेपछि भारतीय प्रहरीले उनलाई बिहीबार आसामबाट नियन्त्रणमा लिएको दाबी गरिएको हो।

प्रहरी प्रधान कार्यालयले बिहीबार राति एक विज्ञप्ति जारी गरेर ‘दुर्गा प्रसाईं पक्राउ’ भन्ने शीर्षकमा विभिन्न समाचारहरू प्रकाशन भएको सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको बताउँदै भनेको छ, ‘विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाईं नेपाल प्रहरीको खोजीको सूचीमा रहेको जानकारी गराउँदै हालसम्म उनी पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रसारण नगरिदिनुहुन सबैमा हार्दिक अनुरोध गर्छाैं।’ प्रहरीकै एक उच्च स्रोतले भने प्रसाई पक्राउ परेको दाबी गरेको हो ।

‘दुर्गा प्रसाईंको खोजीमा गएको नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरेको थियो। भारतीय प्रहरीकै सहयोगमा उनलाई नियन्त्रणमा लिइएको हो,’ नेपाल प्रहरीका एक उच्च अधिकारीले भने। प्रसाईं भारतीय प्रहरीको नियन्त्रणमा परेपछि गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक दीपक थापा, विशेष ब्युरो प्रमुख डिआइजी सिद्धिविक्रम शाहबिच आकस्मिक बैठक बसेको छ। ‘दुर्गा प्रसाईंको पहिचान चैत २७ मा भएको थियो तर विविध कारणले भारतीय प्रहरीको पहुँच पुगेन।

दोस्रो दिन मात्रै भारतीय प्रहरीले घेरा हालेर नेपाल–भारत सीमा क्षेत्रमा पठाएको हो,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने। तर प्रसाईंको सचिवालयले आफैं आत्मसर्मपण गरेको जनाएको छ। ‘अहिले दुई घण्टाअगाडि हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईंज्यूले आफ्नो सुरक्षाका लागि आफैं भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ। हिजो (बुधबार) मात्र हामीले भिडियोमार्फत हाम्रो ज्यानको सुरक्षाको ग्यारेन्टी भए २४ घण्टाभित्र उपस्थित हुन्छौं भनेका थियौं र आज उपस्थित भयौं ! (दुर्गा प्रसाईं) जय देश जय रास्ट्रवाद,’ उनको सचिवालयले बिहीबार साँझ उल्लेख गरेको छ। प्रसाईंको परिवारले पनि प्रहरीले उनलाई नियन्त्रणमा लिएको पुष्टि गरेको छ। परिवारका ती सदस्यले प्रहरीले पक्राउ गरेको नभई सुरक्षाका लागि आफैं आसाम प्रहरीको सम्पर्कमा पुगेको दाबी गरेको छ।

प्रसाईं भारततिर भागेको सूचना पाएपछि प्रहरीले विभिन्न माध्यमबाट ‘लोकेसन’ पहिल्याएको थियो। उनी फरार भएपछि पनि दुईवटा भिडियो सामाजिक सञ्जालमा अपलोड गरिएका थिए। उनको पछिल्लो भिडियो सार्वजनिक हुनुपूर्व नै आसाममा रहेका नेपाल प्रहरीका अधिकारीहरूले ट्र्याक गरिसकेका थिए। सोही क्रममा पछिल्लो भिडियो सार्वजनिक भएपछि प्रसाईंलाई खोज्न सहज भएको थियो। त्यही क्रममा भारतीय प्रहरीले उनको खोजी गर्दै आसामका नेपाली बस्ती र मन्दिरहरूमा छापा मारेको थियो। चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शनले हिंसात्मक रूप लिएपछि दुई जनाको ज्यान गएको थियो। त्यसक्रममा व्यापक तोडफोड, आगजनी र लुटपाट भएको थियो ।

सुरक्षाकर्मीहरूलाई गाडी लिएर किच्न खोजेका प्रसाईं त्यही दिन फरार भएका थिए। फरार रहेकै अवस्थामा प्रसाईंले बुधबार मात्रै आफ्नो जीवनरक्षाको सुनिश्चित भए प्रहरीसमक्ष उपस्थित हुने बताएका थिए। सामाजिक सञ्जाल फेसबुकमा लाइभ गर्दै प्रसाईंले आफ्नो जीवनको रक्षाको सुनिश्चितता भए २४ घण्टाभित्र प्रहरीसमक्ष उपस्थित हुने जनााएका थिए। ‘मेरा वकिलहरू धुव्रलाल श्रेष्ठ, स्वागत नेपाल, टंक दुलाल, सुशील पन्त, डा. सुरेन्द्र भण्डारी, रमन श्रेष्ठ, डा. भीमार्जुन आचार्य र मानव अधिकार आयोगको रोहबरमा हो भने म भोलि (बिहीबार) २४ घण्टाभित्र पुलिस प्रशासनमा उपस्थित हुन्छु। मलाई खोज्नुपर्दैन। भारत भागेको भनिएको छ। म कतै भागेको छैन। नेपालमै छु नेपालकै कुनै ठाउँमा बसिरहेको छु। मेरो जीवनको रक्षाको सुनिश्चित हुन्छ भने म बाहिर आउन तयार छु,’ उनले भनेका थिए। तर उनले आफू नेपाल रहेर भनेर ढाट्दै आएको स्पष्ट भएको छ। बुधबार नै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले दुर्गा प्रसाईंलाई राज्यले पक्राउ गर्ने बताएका थिए। बुधबार साँझ नागरिक न्युजको ‘फ्रन्टलाइन’ कार्यक्रममा बोल्दै उनले प्रसाईंले राज्यविरुद्ध अराजकता फैलाएकाले सुरक्षा नदिएर पक्राउ गर्ने बताएका थिए। ‘ऊ आओस् वा नआओस्, हामीलाई मतलब छैन। राज्यसँग बार्गेनिङ गर्ने? आगजनी, लुटपाट र अराजकता फैलाउनेलाई राज्यले सुरक्षा दिन्छ कि पक्राउ गर्छ ? पक्राउ नपरुन्जेल उनलाई छोडिँदैन,’

सञ्चारमन्त्री गुरुङले भनेका थिए। चैत १५ मा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शनले शान्तिसुरक्षामा खलल पुर्‍याएको र संविधानमाथि आक्रमण गरेको उनको भनाइ थियो।’ यो राज्यविप्लव हो, चाहे पूर्वराजा ज्ञानेन्द्र शाहले गरोस् वा अरू कसैले, संविधानको रक्षा राज्यले गर्छ,’ उनले भनेका थिए। प्रहरीका अनुसार प्रसाईंकै बडीगार्ड दीपक खड्का, रामकुमार धिताल र सहयोगी दुरेन राईलाई पनि प्रसाईंसरह खोजी भइरहेको थियो। उनीहरूमध्ये केही बुधबार नै नेपाल आइसकेको स्रोतको दाबी छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..