तत्कालिन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सिनियर हुँदाहुँदै पनि उनीहरुलाई प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)बाट डीआईजीमा बढुवा नगरी जुनियरलाई गरेर संगठनको ‘चेन अफ कमान्ड’ नै बिगार्ने काम गरेका थिए ।

काठमाडौं । नेपाल प्रहरीमा रिक्त ६ वटा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदपुर्ति गर्न गृह मन्त्रालयले बढुवाको तयारी थालेको छ । बढुवाको रेसमा नायब महानिरीक्षक (डीआईजी)मा पछि पारिएका तीन अधिकृत पनि छन् ।
सिनियर हुँदाहुँदै डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम शाह, सुशिल सिंह राठौर र उमा प्रसाद चतुर्वेदी एआईजी बढुवाको दौडमा छन् । तर, अहिले एआईजी बढुवाको चर्चा चलिरहँदा उनीहरुलाई राज्यले न्याय गर्ला कि नदेला ? प्रश्न उब्जिएको छ ।
तत्कालिन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सिनियर हुँदाहुँदै पनि उनीहरुलाई प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)बाट डीआईजीमा बढुवा नगरी जुनियरलाई गरेर संगठनको ‘चेन अफ कमान्ड’ नै बिगार्ने काम गरेका थिए ।
त्यसैले अहिले यी तीन अधिकृतलाई वर्तमान सरकारले अघिल्लो सरकारको गल्तीलाई सच्याएर बढुवा गर्ला कि नगर्ला चासोको विषय बनेको छ । जबकी उनीहरु तीनैजना प्रहरी संगठनमा अब्बल र इमान्दार अधिकृत हुन् ।
राज्यको दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकै कारण एसएसपीसम्म अगाडि हुँदाहुँदै उनीहरुलाई छाडेर तत्कालिन गृहमन्त्री लामिछानेले आफूलाई सहयोग गरेका अधिकृतहरुलाई डीआईजीमा बढुवा गरेपछि सर्वत्र उनको आलोचना भएको थियो ।
तर, अहिलेका गृहमन्त्री रमेश लेखकलाई त्यतिबेलाको गल्ती सच्याएर अन्यायमा परेका अधिकृतहरुलाई न्याय दिने मौका मिलेको छ । जसले गर्दा प्रहरी संगठनभित्र भत्किएको ‘चेन अफ कमाण्ड’ लाइनमा आउने विश्वास गरिएको छ ।
एसएसपी बढुवामा शाह दोस्रो नम्बरमा, राठौर तेस्रो नम्बरमा, चतुर्वेदी चौथो नम्बरमा थिए भने पाँचौं नम्बरमा दानबहादुर कार्की, छैटौंमा मनोज केसी र सातौंमा राजन अधिकारी थिए । तर, कार्की, केसी र अधिकारीले डीआईजी बढुवामा फड्को मारेका थिए ।
जबकी शाह, राठौर र चतुर्वेदी २०५३ को टोली हुन् भने कार्की, केसी र अधिकारी २०५४ को टोली हुन् ।