काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीबन्धु टी-इस्टेटको जग्गा बिक्री कांग्रेसका पालामा नभएको बताएका छन्।
काठमाडौंमा बिहीबार प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा बोल्दै सभापति देउवाले नेकपा (एमाले) को सरकारका पालमा गिरीबन्धुबारे निर्णय भएको बताए।
‘ओलीजीले बोलेको भनेर बाहिर आएको छ। अदालतले फैसला गरेपछि गिरीबन्धु टि-इस्टेटको निर्णय कांग्रेसको पालामा भएको भनेर। आफूले निर्णय गर्नुहुन्छ, कांग्रेसलाई भन्नुहुन्छ,’ देउवाले भने, ‘कहिले, कसको पालोमा भयो, के भयो भनिदिए भइहाल्यो नि! त्यसकारण यस्तो कुरा उहाँ जस्तो नेताले भन्न सुहाउँदैन, आफूले गरेको कुरा गरेको हो भन्न के आपत्ति छ। अदालतले उहाँलाई भनेको छ, उहाँ के भन्नुहुन्छ भने कांग्रेसको पालामा भएको छ।’
उनले त्यसबेला गिरिजाप्रसाद कोइराला र आफू प्रधानमन्त्री बनेको भन्दै गिरीबन्धुबारे केही निर्णय नभएको पनि बताए।
‘ओलीजीले यस्तो कुराबोल्नुभयो, उहाँ जस्तो नेताले यस्तो बोल्नु हुँदैन थियो,’ उनले भने।
एमाले संसदीय दलको बुधबारको बैठकमा ओलीले गिरीबन्धु टि-इस्टेटका सन्दर्भमा अदालतको आदेशअनुसार कानुन बनाउँदा कसरी अपरिपक्व भयो भनेर टिप्पणी गरेका थिए।
‘नेपाली कांग्रेसले एक पल्ट ५१ औं बिघा, एकपल्ट १९ बिघा कमिसन खाएर बिक्री गर्न दिएको छ जमिन, त्यही गिरिबन्धु टि- इस्टेटको। पछि अदालतले नियम बनाउनु, ऐन बनाउनु, ऐन बनाएर मात्रै यस्ता कामहरू अघि बढाउनु भनेपछि अदालतको आदेश बमोजिम ऐन बनाएका हौं।
नियम बनाएका हौं। त्यसको कार्यान्वयन भएको छैन। त्यो नियममा विभिन्न शर्तहरू राखिएको छ। ती शर्तहरू पूरा भएर यो ठाउँको जग्गा यो ठाउँमा किन्ने, यो ठाउँमा सट्टापट्टा, यो ठाउँको जमिन बिक्ने, यो कित्ताको भनिएको पनि छैन। अदालतले अहिले पनि फैसला गर्दा हदभन्दा बढीको यो जग्गा दिन पाइँदैन भन्नुपर्यो नि!,’ उनले भनेका थिए।


