काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा लागुपदार्थ दुर्व्यसनी बढिरहँदा सरकारले नियन्त्रणमा चासो नदेखाएको आरोप लगाएका छन्।
बिहीवार काठमाडौँमा भएको एउटा कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार मूकदर्शक भएको आरोप लगाएका हुन्। उनले रौतहट, कैलालीलगायत जिल्लामा पछिल्लो समय लागुपदार्थ दुर्व्यसनी बढिरहेको भन्दै सरकार, प्रहरी र प्रशासन के हेरेर बसेको भन्दै प्रश्न गरे।
उनले युवाहरु लागुपदार्थको दुर्व्यसनमा दिनप्रतिदिन फसिरहेको तर अपराधीहरु कारवाहीको दायरामा आउन नसकेको बताए। उनले राज्य सञ्चालनका तरिकामा कमी कमजोरीहरु रहेको भन्दै सुधार गर्ने सोचका साथ अघि बढ्नुपर्ने खाँचो रहेको जिकिर गरे।
‘राज्य सञ्चालनका तरिकामा अनेक कमी कमजोरी छन्‚ ती सुधार्ने सोचका साथ अघि बढ्नुपर्ने खाँचो छ। आजमात्रै मैले एउटा पत्रिकामा पढेँ, लागुपदार्थको दुर्व्यसन रौतहट र कैलाली जिल्लामा बढ्दो छ‚’ उनले भने‚ ‘सरकार के गरेर बसेको छ? प्रहरी र प्रशासन के गरेर बसेको छ? युवा लागुपदार्थको दुर्व्यसनमा फस्छन् र अपराधी कारवाहीमा पर्दैनन्।’
अध्यक्ष नेपालले राजनीतिकर्मीहरु निष्ठावान हुन नसके र स्वच्छ छवि कायम राख्न नसके राष्ट्र सेवकहरुले कुनै राम्रो कुरा सिक्न नसक्ने बताए।


