‘दिल खोलेर भोलि प्रधानमन्त्रीलाई विश्वासको मत दिनूस्’

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले दिल खोलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिन आफ्नो दलका सांसदहरूलाई निर्देशन दिएका छन् । विगतको अनुचित गठबन्धन फालेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उचित गठबन्धन बनाउन पहलकदमी लिएकाले मनमा कुनै शंका नराख्न उनको भनाइ थियो ।

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेता ओलीले देश अप्ठ्यारोमा पर्‍याे भन्ने ठानेर प्रधानमन्त्रीले वर्तमान गठबन्धनको पहल गर्नुभएकाले सबैले सहयोग गर्नुपर्ने बताए ।

‘विगतमा प्रधानमन्त्रीले ठुल्ठूला गल्ती गर्नुभएको होला । तर, यसपटक अनुचित छोडेर उचित गठबन्धन बनाउन पहलकदमी लिनुभएको छ । नयाँ देशभक्त प्रगतिशील समाजवादउन्मुख जनमुखी नयाँ समीकरण निर्माण गर्ने प्रधानमन्त्रीको पहल स्वागतयोग्य छ,’ उनले भने ।

कांग्रेससँगको गठबन्धनमा प्रधानमन्त्रीको कुर्सी सुनिश्चित हुँदाहुँदै पनि प्रधानमन्त्रीले देशको पक्षमा नयाँ गठबन्धन गरेको जिकिर उनले भने । ‘कम्तीमा एक–डेढ वर्ष प्रधानमन्त्रीको कुर्सी सुनिश्चित थियो । तर, देश अप्ठ्यारोमा पर्‍याे भनेर उहाँले यो गठबन्धनको पहल गर्नुभयो । त्यसैले हामी सबैले उहाँलाई खुला हृदयले समर्थन गर्नुपर्छ, सहयोग गर्नुपर्छ ।’

दलका नेता ओलीले भोलि प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई विश्वासको मत दिन पनि निर्देशन दिए । उनले प्रधानमन्त्रीलाई विश्वासको मत नदिए देश अक्षमहरूको हातमा पुग्ने बताए ।

‘भोलि प्रधानमन्त्रीले विश्वासको मत पाउनुभएन भने संविधानको धारा ७६ को उपधारा २ को च्याप्टर क्लोज हुन्छ र राष्ट्रपतिले प्रमुख पार्टीको नेताको हैसियतले भोलि नै कांग्रेस सभापतिलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुहुन्छ,’ उनले भने, ‘त्यसपछि अल्पमतको, अयोग्य, दृष्टिकोणविहीन, स्वाभिमानहीन, भवितव्यले आइलागेको, कुनै संकल्प नभएको सरकार बन्छ । हामीले त्यस्तो सरकार बन्न दिनुहुँदैन । देशलाई अस्थिरतातर्फ जानबाट जोगाउन प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्छ ।’

उनले कांग्रेसको दृष्टि सरकारमा मात्र रहने गरेको चर्चा पनि गरे । ‘अर्जुनले चरोको आँखो मात्र देखेजस्तो सरकार मात्र देख्ने, अरू केही नदेख्नेहरू छन् । उनीहरूको अल्पमतको सरकार बन्यो भने देश कता जान्छ ? त्यसैले मनको कुनामा कुनै चित्तदुखाइ नराखी दिल खोलेर विश्वासको मत दिन्छौँ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..