काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टि स्टेट जग्गा प्रकरणमा आफ्नो नेतृत्वको सरकारले कुनै पनि हिनामिना नगरेको बताएका छन् । एमालेकाे केन्द्री कमिटी बैठकमा ओलीले भने, ‘गिरीबन्धुमा अदालतको आदेश अनुसार कानुनमात्र बनाएको हो । हाम्रो समयमा गिरीबन्धु टि स्टेट प्रकरणमा कुनै प्रकारको लेनदेन र सट्टापट्टा भएको छैन ।’
त्यस्तै, अध्यक्ष ओलीले अहिलेकाे गठबन्धन सरकार भ्रष्टाचार, अनियमितता र कुशासन बढावा गर्नतर्फ केन्द्रित भएको आराेप लगाए । ओलीले सरकारका मन्त्रीहरू भ्रष्टाचारमा नाम जोडिएकाे भए पनि झण्डा हल्लाउँदै बयान दिने तथा मानिस मरेको घटनामा दोषी भए पनि पद नछोड्ने खालका रहेका बताए ।
यस्ता मन्त्रीहरूलाई हटाउन नसक्ने ‘हुतिहारा प्रधानमन्त्री’ले शासन गरिरहेकाे ओलीले बताए । ओलीले भने, ‘सरकारले बनाएको छानबिन आयोगले दोषी मन्त्री हो भनेको छ । मन्त्रीमा नैतिकता छैन । हटाउन नक्सने हुतिहारा प्रधानमन्त्री छन् । आफैँले बनाएको आयोगले दोषी करार गर्दा समेत त्यस्तो मन्त्री बसिरहन मिल्छ, लोकलाज छैन ।’
ओलीले दुई युवककाे ज्यान जानेगरी ललितपुरकाे बालकुमारी घटनामा दोषी देखिएका भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए । सरकारले आफू निकटका व्यक्तिहरूलाई सुनकाण्ड र ललितानिवास जग्गा प्रकरणमा जोगाएको भन्दै ओलीले आलाेचना गरे ।


