काठमाडौं । सामान खरिदमा भ्रष्टाचार गरेको भन्दै उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेलसहित आठ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । भेरियबल फ्रिक्वेन्सी ड्राइभ(भिफडी) खरिदमा भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार मुद्दा दायर गरेको हो ।
तत्कालिन महाप्रबन्धक पौडेलसहित तत्कालीन नायब महाप्रबन्धक नवल किशोर साहा, तत्कालीन का.मु. उपनिर्देशक पवन कुमार लाल कर्ण, तत्कालीन प्रबन्धक भरत प्रसाद नेपाल, अधिकृत नवौँ डेमलाल खनाल, तत्कालीन प्रबन्धक कमलराज पौडेल, तत्कालीन निर्देशकद्वय (प्रा.) ध्रुब बहादुर देवकोटा र महेश प्रसाद काफ्लेविरुद्ध २२ लाख ७८ हजार तीन सय पाँच रुपैयाँ बिगो कायम गरी बिशेष अदालतमा मुद्दा दायर भएको हो ।
बिना अध्ययन, आवश्यकताको पहिचान र औचित्यसमेत एकिन नगरी लागत अनुमानसमेत नबनाई केही उपयोग नहुने भिफडी खरिद गरेको अभियोग अख्तियारको छ ।


