ढुंगा उत्खननले पानीका मुहान सुक्दै

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित चन्दली डाँडामा ढुंगा उत्खननसँगै पानीको मुहान सुक्न थालेका छन् । बिक्री वितरण गर्ने उद्देश्यका साथ घर छाउने ढुंगा उत्खनन हुन थालेपछि पानीका मुहान सक्दै जान थालेका हुन् ।

स्थानीय स्वास्थ्य चेपाङको नेतृत्वमा उक्त स्थानमा ढुंगा उत्खनन भइरहेको स्थानीयवासी रेशम चेपाङले बताए । ‘अवैधरुपमा उक्त स्थानमा ढुंगा उत्खनन हुने गरेको छ । ती ढुंगा चितवनका विभिन्न होटल निर्माण प्रयोजनका लागि प्रयोग गरिन्छन्’, उनले भने । अवैधरुपमा ढुंगा उत्खनन गर्न थालेपछि खानीको डाँडाभन्दा तल रहेका चेपाङ गाउँ गारघर, जैथली, चौकीडाँडा, साप्रेनी र बङ्ग्याङलगायतमा पहिरोको जोखिममा बढेको छ ।

करिब २० वर्ष अघि पनि उक्त स्थानबाट ढुंगा निकाल्दा पहिरो गएको थियो । पुनः सोही ठाउँबाट जथाभावी ढुंगा निकाल्न थालेपछि स्थानीयमा पहिरोको जोखिम बढेको भन्दै त्रास छाएको छ । ढुंगा उत्खनन गर्दै गर्दा ती गाउँमा पिउने पानीको मुहान सुक्दै गएको रेशमले बताए । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ र वडाध्यक्ष सन्तबहादुर रानालाई जानकारी गराउँदा पनि कुनै चासो नदिएको भन्दै अनुगमनसमेत गर्न नआएको उनको भनाइ थियो ।

ढुंगा उत्खनन कार्य रोक्न आग्रह गर्दा उत्खननको नेतृत्व गर्ने स्वास्थ्य चेपाङले चुप लागेर बस्न भनी धम्की दिएको रेशमले जानकारी दिए । उनले भने, ‘ढुंगा उत्खनन भएको थाहा पाएपछि गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षलाई जानकारी गराएँ, तर उहाँहरु अनुगमनमा आउनुभएको छैन, पानीको मुहान सुक्दै गएको र पहिरोको जोखिम भएकाले उत्खनन कार्य रोक्न वडासदस्य विक्रम चेपाङलाई आग्रह गरे पनि हालसम्म सुनुवाई भएको छैन, ढुंगा उत्खनन गर्ने ठेकेदारले चुप लागेर बस्ने धम्की दिएको छ ।”’

तीन साताअघिदेखि अवैधरुपमा ढुंगा उत्खनन गरेको थाहा पाइएपछि वडा सदस्य चेपाङ सो स्थानमा निरीक्षणमा पुगेका थिए । गाउँपालिका अध्यक्ष गुरुङसँग यस विषयमा प्रतिक्रिया लिँदा उक्त स्थानमा ढुंगा उत्खननका लागि पालिकाले कसैलाई अनुमति नदिइएको बताए । ‘हामीलाई पनि त्यहाँ ढुंगा निकालेको जानकारी आएको छ, आइतबार हामी निरीक्षणमा जाने तयारीमा छौँ,’ उनले भने ।

यसैबीच श्री नागेन सामुदायिक उपभोक्ता समिति इच्छाकामना– १ ज्यान्दालाले विज्ञप्ति निकालेर ढुंगा उत्खनन कार्य रोक्न आग्रह गरेको छ । उक्त सामुदायिक वनभित्र रहेको सार्वजनिक जग्गाको ढुंगा उत्खननसँगै पहिरोको जोखिम बढेको र चन्दलीको टारसँग जोडिएको उक्त जग्गा मासिँदै गएको जनाइएको छ ।

उक्त स्थानमा प्याराग्लाइडिङको सफल परीक्षणसमेत भएकाले पर्यटकीय गन्तव्यको रुपमा प्रचुर सम्भावना भएको वडा सदस्यसमेत रहनुभएको वन उपभोक्ता समितिका अध्यक्ष विक्रम चेपाङले बताए । ढुंगा उत्खननले प्याराग्लाइडिङलाईसमेत असर पर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

४ सय ८९ किलो लागुऔषधसहित १ जना पक्राउ

४ सय ८९ किलो लागुऔषधसहित १ जना पक्राउ

पर्सा । पर्सा प्रहरीले ४८९ किलो लागुऔषधसहित पक्राउ परेका एक युवकलाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी..