जनमतको उम्मेद्वारीले सत्ता गठबन्धनलाई सकस

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचन हुने दिन नजिकिँदै गर्दा गठबन्धनमा रहेका केही दलका अलग उम्मेद्वारीले केही ठाउँमा सकस पर्ने देखिएको छ । गठबन्धनमा रहेका दल मध्ये सिके राउतको जनमत पार्टीले त केही ठाउँमा उम्मेदवारी नै अलग दिएको छ । अन्यत्र गठबन्धनलाई सहयोग गर्ने बताए पनि विशेष गरी मधेसमा उसले आफूले ल्याउने मतले गठबन्धनलाई असहज हुने अनुमान गरिएको छ ।

२०७९ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा चुनावदेखि मधेसका केही जिल्लामा बलियो उपस्थिति जनाएको जनमतले राष्ट्रिय सभा चुनावमा पनि आफ्नै उम्मेद्वार उठाएर त्यसको पुष्टि गरेको छ ।

सत्तारूढ गठबन्धनमा रहे पनि जनमत मधेस र लुम्बिनीमा भने आफ्ना उम्मेद्वारलाई अलग्गै मत माग्दै छ ।माघ ११ गते राष्ट्रिय सभा चुनाव हुने बाँकी १७ स्थानमा जनमतले गठबन्धनलाई समर्थन गर्ने अध्यक्ष राउतले बताए ।लुम्बिनीमा ‘अन्य क्लस्टर’बाट बालगोविन्द चौधरी थारू र ‘मधेस क्लस्टर’बाट रामशंकर महासेठ जनमतका उम्मेद्वार हुन् ।अलग्गै उम्मेद्वार उठाउनुलाई जनमतका प्रवक्ता डा.शरदसिंह यादव क्रान्तिकारी कदमका रूपमा व्याख्या गर्छन् ।‘सत्ता गठबन्धनमै रहेर पनि हामीले तराई–मधेसका जनताको मुढ र भावनाको कदर गरेका हौँ’, यादवले भने, ‘सरकार बनाउन गठबन्धन बनेको हो । यो चुनावका लागि होइन ।’

‘यसअघि उपराष्ट्रपति चुनाव र बारा–२ को उपचुनावमा पनि हामीले आफ्नै उम्मेदवार उठाएर गठबन्धनभित्रै लडेका थियौँ’, उनले थपे ।यद्यपि, जनमतले उठाएको यो कदमको नतिजा के आउँछ ? त्यसका लागि माघ ११ सम्म पर्खनै पर्छ ।२०७९ मंसिरमा सम्पन्न प्रतिनिधिसभा चुनावमा सप्तरी क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई हराएर सरप्राइज दिए ।

तत्कालीन कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीसँगको गठबन्धनका साझा उम्मेद्वार यादवलाई राउतले दोब्बर बढी मत अन्तरले पराजित गरेका थिए ।

मधेसमा उनको पार्टीले प्रदेशसभामा मात्र १३ सिट जितेको छ । जसले सरकार बनाउन जनमत निर्णायक अवस्थामा रह्यो ।संसदीय राजनीति थालेको पहिलोपटक नै जनमतले मधेसमा प्रभाव पारेकैले राष्ट्रिय सभा चुनावमा लड्ने निर्णय गरेको जनमत प्रवक्ता यादवले बताए ।

‘अरू ठाउँको तुलनामा मधेसका जनताको मुढ सजग छ, उनीहरू परिवर्तनकै पक्षमा उभिएका छन्’, यादवले थपे, ‘मतभारका आधारमा भन्दा यहाँका जनप्रतिनिधि र जनताको मनोविज्ञानले जित्ने अवस्था देखिन्छ ।’

त्यसबाहेक जनमत मधेसको वैकल्पिक शक्तिका रूपमा उदाएको र सिके राउत नेतृत्वप्रति विश्वास बढ्न थालेको उनी दाबी गर्छन् ।‘गोप्य मतदान हो चुनाव’, यादवले थपे, ‘एकरातमा धेरै कुरा पल्टन सक्छ ।’

जनमतको उम्मेद्वारीको विषयले गठबन्धन दलभित्र हल्लीचल्ली मच्चिएको छ । उनीहरू मतभारको हिसाबकिताब गर्दै आन्तरिक रिपोर्ट लिइरहेका छन् ।

जनता समाजवादी पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जनमतको उम्मेद्वारीले पार्नसक्ने असरबारे गठबन्धनमा गम्भीर छलफल भएको बताए ।‘जसपा उम्मेद्वारले सहजै जित्ने भए पनि गठबन्धनबाटै कांग्रेसका समेत उम्मेद्वार जिताउन नेताहरू खटिनुभएको छ’, बस्नेतले भने, ‘कांग्रेसको कसैले मत काट्ने सम्भावना छैन ।’

मधेसमा जनमतको मत नै धेरै नभएकाले गठबन्धनका उम्मेद्वार ढुंगानालाई कुनै असर नपर्ने कांग्रेस नेता रमेश लेखकको दाबी छ ।उनी राष्ट्रिय सभा चुनावका लागि बनाइएको केन्द्रीय समन्वय समितिका संयोजक छन् ।

‘सरकारमा भएका पार्टीहरूको ७३ प्रतिशत मतभार छ,’ लेखकले भने, ‘हाम्रा उम्मेद्वारलाई कुनै प्रब्लम (समस्या) हुँदैन ।’‘गठबन्धनले आरामदायी जित्छ, सिकेजीबाहेक नै हामी जित्ने अवस्थामा छौँ’, उनले थपे ।

तर, जनतमले मधेस क्लस्टरमै उम्मेद्वार उठाएको छ । उनको प्रतिस्पर्धा कांग्रेसका आनन्द ढुंगानासँग हुँदै छ ।

‘हामीले यसैलाई जित्ने बलियो आधार देखेका छौँ, आनन्दजीको उम्मेद्वारीले कांग्रेसभित्रै विवाद छ’, जनमतका प्रवक्ता शरदसिंह यादवले भने, ‘यसको फाइदा हामीलाई होला भन्ने विश्वास छ ।’

तर, कांग्रेस नेता लेखक यसले कुनै समस्या नहुने ठोकुवा गर्छन् ।

‘आमजनताले मत हाल्ने होइन पार्टीका क्याडर र नेताले हाल्ने हो’, लेखकले थपे, ‘मतमा कुनै समस्या छैन । उम्मेद्वारीकै विषयले कोही असन्तुष्ट छैन ।’

मधेसमा कुल मतदाता ३ सय ७९ छन् भने मतभार १० हजार ७ सय ४४ छ ।

प्रदेशसभा सदस्यको संख्या १ सय ७ र स्थानीय तहको संख्या १ सय ३६ छ ।

यसैगरी, स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष २ सय ६७ छन् ।

मधेसमा जसपा, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपाबीच गठबन्धन रहेकाले यी दलको कुल मतभार ७ हजार १ छ ।

कांग्रेसको ३ हजार १ सय ४, जसपाको १ हजार ८ सय १७, लोसपाको ९ सय ३३, माओवादी केन्द्रको ७ सय ६६ छ ।

यस्तै, नेकपा एकीकृत समाजवादी पार्टीको ५ सय ८०, नागरिक उन्मुक्ति पार्टीको ५३ छ ।

जनमतको मधेसमा ७ सय ४३ र लुम्बिनीमा १ सय ५९ मतभार छ ।

मधेस प्रदेशमा एमालेको २ हजार ३ सय २ मतभार छ ।

राष्ट्रिय सभा चुनावमा मधेस प्रदेशमा त्रिपक्षीय भिडन्त यसकारण हुन्छ कि गठबन्धनकै एउटा घटक जनमत पनि प्रतिस्पर्धामा छ ।

यद्यपि, नेताहरू कुनै समस्या नरहेको र सत्ता गठबन्धनका उम्मेद्वारले सहजै जित्ने दाबी गर्छन् ।

जसपाका कार्यकारिणी समिति सदस्य एवं सांसद प्रकाश अधिकारीले मधेस प्रदेशबाट राष्ट्रिय सभा उम्मेद्वार रहेका दुवैले जित्ने बताए ।

जसपाले मधेस महिलामा पूजा चौधरीलाई उम्मेद्वार बनाएको छ ।

‘मधेसमा कांग्रेस बलियो छ, उसलाई गठबन्धनबाट प्रर्याप्त साथ छ’, अधिकारीले भने, ‘यो प्रदेशमा मार्जिन नै धेरै छ ।’

‘पार्टीभित्र अन्तरघात भइहाल्ने सम्भावना देखिँदैन’, अधिकारीले थपे, ‘मधेसको राजनीतिमा कुनै समस्या आउन नदिन केन्द्रीय नेता खटिनुभएको छ ।’

आयोगले तोक्यो मतदान स्थल र केन्द्र

निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि मतदान स्थल, मतदान केन्द्र र मतदाता तोकेको छ । आयोगका अनुसार प्रत्येक प्रदेशमा एक–एक वटा मतदानस्थल र सोही मतदानस्थलमा दुई–दुई मतदान केन्द्र रहने गरी सात मतदान स्थल र १४ वटा मतदान केन्द्रमा प्रदेश सभाका ५ सय ४९ र स्थानीय तहका १ हजार ४ सय ९८ गरेर जम्मा मतदाता २ हजार ४७ जना रहेका छन् ।

तोकिएका मतदानस्थलमा प्रदेशसभाका सदस्यले मतदान गर्न र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नका लागि बेग्लाबेग्लै मतदान केन्द्र तोकिएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।

कोसी प्रदेशका लागि विराटनगर महानगरपालिका–१० मा रहेको प्रदेश निर्वाचन कार्यालय, मोरङ तोकिएको छ । जसको दुई वटा मतदान केन्द्रमा प्रदेशसभामा ९३ र स्थानीयतहका २ सय ७४ गरेर ३ सय ६७ मतदाता रहेका छन् । मधेस प्रदेशका लागि जनकपुरधाम उपमहानगरपालिका–४ मा रहेको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा दुई वटा मतदान केन्द्र तोकिएको छ । जसमा १ सय ७ प्रदेश सभा सदस्य र २ सय ६७ स्थानीय तहका गरेर जम्मा ३ सय ७४ मतदाता रहेका छन् ।

बागमती प्रदेशका लागि मकवानपुरको हेटाँैडा उपमहानगरपालिका–४ मा रहेको भुटनदेवी माध्यमिक विद्यालय प्राविधिक शिक्षालय, ब्लक एफ प्राविधिक भवनमा दुई वटा मतदान केन्द्र तोकिएको छ । जसमा १ सय १० प्रदेश सभाका सदस्य र २ सय ३७ स्थानीय तहका गरेर जम्मा ३ सय ४७ मतदाता रहेका छन् । गण्डकी प्रदेशका लागि कास्कीको पोखरा महानगरपालिका–७ रहेको प्रदेश निर्वाचन कार्यालयमा दुई वटा मतदान केन्द्र तोकिएका छन् । जसमा ६० प्रदेशसभाका सदस्य र १ सय ७० स्थानीय तहका गरेर जम्मा २ सय ३० मतदाता रहेका छन् ।

लुम्बिनी प्रदेशका लागि दाङको घोराही उपमहानगरपालिका–१५ मा रहेको कर्मचारी मिलन केन्द्रको भवनमा दुई वटा मतदान केन्द्र तोकिएका छन् । जसमा ६० प्रदेशसभा सदस्य र १ सय ७० स्थानीय तहका गरेर जम्मा २ सय ३० मतदाता रहेका छन् । कर्णाली प्रदेशका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ को प्रदेश निर्वाचन कार्यालयमा दुई वटा मतदान केन्द्र तोकिएका छन् ।

सुदूरपश्चिम प्रदेशका लागि कैलालीको धनगढी उपमहानगरपालिका–१ मा रहेको प्रदेशसभा भवनमा दुई वटा मतदान केन्द्र तोकिएका छन् । जसमा ५२ प्रदेशसभा सदस्य र १ सय ७६ स्थानीय तहका प्रतिनिधिहरूले मतदान गर्नेछन् ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा आवश्यक सुरक्षा मिलाउन आयोगको निर्देशन

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । माघ ११ गते हुने चुनावका लागि उम्मेद्वारको सुरक्षा, मतदाताको सुरक्षा, मतदानस्थलको सुरक्षा लगायतमा ध्यान दिन आयोगले उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका संयोजक आयुक्त सगुनशमशेर जबराको अध्यक्षतामा बसेको बैठकले गृह मन्त्रालयलाई नौ बुँदे निर्देशन दिएको छ ।

निर्वाचन आयोगले तयार गरेको मतपत्र ढुवानी कार्ययोजना बमोजिम गृह मन्त्रालयको समन्वयमा सुरक्षा निकायबाट आवश्यक सुरक्षा प्रबन्ध मिलाउने, राष्ट्रिय सभा सदस्य निर्वाचनको सन्दर्भमा आवश्यक सुरक्षाको समुचित व्यवस्था मिलाउने, प्रदेश राजधानी रहेका जिल्लाहरू क्रमशः मोरङ, धनुषा, मकवानपुर, कास्की, दाङ, सुर्खेत र कैलालीमा रहेका प्रदेश निर्वाचन कार्यालयहरूमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचनको कार्यमा खटिएका सम्पूर्ण जनशक्तिको सुरक्षा व्यवस्था मिलाउने निर्देशनमा उल्लेख छ ।

रााष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्यहरू, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, नगरपालिकाका प्रमुख तथा उपप्रमुख निर्वाचक मण्डलमा रहने र निर्वाचक मण्डलका सदस्यहरू प्रदेशभर छरिएर रहेकाले आफू रहेका स्थानीय तह वा जिल्लाबाट मतदानस्थल तोकिएको प्रदेश राजधानीसम्म र प्रदेश राजधानीमा निज बसेको स्थानबाट मतदान केन्द्रसम्म मतदान प्रयोजनका लागि आउने र जाने मार्ग तथा आवासीय क्षेत्रमा आवश्यक सुरक्षा प्रबन्ध मिलाउने, निर्वाचक मण्डलका सदस्य मतदाताहरूलाई मतदानस्थल रहेको मोरङको विराटनगर, धनुषाको जनकपुर, मकवानपुरको हेटौंडा, कास्कीको पोखरा, दाङको घोराही, सुर्खेतको वीरेन्द्रनगर र कैलालीको धनगढीमा होटल व्यवसायीहरूसँग समन्वय गरी मतदाताहरूको निजी खर्चमा बसोबासको प्रवन्ध मिलाउन आवश्यक समन्वय गर्ने पनि आयोगेको निर्देशनमा उल्लेख छ ।

त्यसैगरी उम्मेद्वार र मतदाताहरू निर्वाचन कार्यक्रममा सहभागी हुँदा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मात्र आवागमन गर्ने व्यवस्था मिलाउने, राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि तोकिएका मतदानस्थल तथा मतदान केन्द्र र मतगणना स्थलको सुरक्षा प्रवन्ध मिलाउने, राष्ट्रिय सभा सदस्य निर्वाचन २०८० बमोजिम निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका तथा २०८० माघ ११ गते मतदान हुने प्रदेशका सात जिल्लाहरू मोरङ, धनुषा, मकवानपुर, कास्की, दाङ, सुर्खेत र कैलाली जिल्ला प्रशासन कार्यालयलाई निर्वाचन सुरक्षा (व्यवस्था) निर्देशिका, २०७८ को दफा ५ बमोजिम गठित जिल्ला निर्वाचन सुरक्षा समितिलाई क्रियाशील तुल्याई निर्वाचन सुरक्षा व्यवस्थालाई प्रभावकारी एवं भरपर्दो बनाउन निर्देशन दिने उल्लेख छ ।

त्यस्तै निर्वाचन आचार संहिता कार्यान्वयनको सन्दर्भमा नेपाल प्रहरीलगायत सुरक्षा निकायबाट आवश्यक निगरानी गरी विवरण उपलब्ध गराइदिन नेपाल सरकार, गृह मन्त्रालयमार्फत सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..