धर्मगुरुहरु बलात्कार देखि हत्यासम्मका आपराधिक कार्यमा

काठमाडौं । कुनै पनि धर्म र त्यसप्रतिको आस्था आफैँमा संवदेनशील विषय हुन् । धर्मसँगै आउने निष्ठा, नैतिक आचरण र मूल्यले समाजमा आफ्नै ढंगले ‘शासन’ गरिरहेका हुन्छन् । तर, जुनसुकै धर्म अवलम्बन गरेपनि धर्मगुरुका नाममा स्वार्थ लुट्ने गिरोह बढ्दो छ ।

धर्मकै आडमा धन थुपार्नेदेखि यौन शोषण र हत्याजस्ता जघन्य अपराधमा धर्मगुरुहरू संलग्न हुने गरेको पाइन्छ । यो अपराध कुनै एक धर्ममा मात्र सीमित छैन । मन्दिरका पुजारी, चर्चका पास्टर, गुम्बाका रिम्पोछेलगायत विभिन्न धर्मगुरु हत्या, बलात्कार, ठगीजस्ता अपराधमा मुछिने गरेका छन् ।

धर्मको आडमा कसले के अपराध गरे ?

१. रामबहादुर बम्जन

धर्मगुरुको नाममा अपराध गर्नेहरूमध्ये एक हुन्, रामबहादुर बम्जन । आफूलाई ‘लिटील बुद्ध’ बताउने बम्जन अनुयायीलाई हत्या, बलात्कार र बेपत्ता बनाएको आरोप मंगलबार पक्राउ परेका छन् ।

बम्जनविरुद्ध चारजना पुरुष/महिला बेपत्ता बनाएको आरोप छ । वि.सं २०७६ सालमा बम्जनका विभिन्न आश्रमबाट चार जना अनुयायी हराएको खुलेको थियो । तीन जिल्ला प्रहरी कार्यालयमा उनीविरुद्ध निवेदन दर्ता भएका छन् । बारामा सुरेश आलेमगर, मकवानपुरमा सन्चलाल वाइबा र फुलमाया रुम्बालाई बेपत्ता बनाएको उनीमाथि आरोप छ । त्यस्तै नुवाकोटमा चुल्मा र कर्मा भनेर बोलाइने चिनिमायाँ तामाङलाई बेपत्ता बनाएको उनीमाथि आरोप लागेको छ ।

त्यसैगरी उनलाई बलात्कार गरेको आरोप पनि लागेको छ । वि.सं २०७५ सालमा बम्जनमाथि १८ वर्षीया अनुयायीलाई दुई वर्षसम्म पटकपटक बलात्कार गरेको आरोप लागेको छ । बम्जनमाथि सात वर्षसम्म सर्वसाधारण र परिवारका सदस्यलाई बन्धक बनाई कुटपिट गरेको अर्को आरोप पनि छ । त्यसपछि उनीमाथि विदेशी नागरिकलाई बन्धक बनाएको, वन क्षेत्रका विषयमा विवाद गरेको आरोप पनि लागेको छ ।

२. रिम्पोछे छुल्ठिम दोर्जे

२०७४ असोज १९ गते बलात्कारको आरोपमा काठमाडौंको दक्षिणकाली बोसन गाउँस्थित पेमा तासी छुलिङ घोम्बो कासुङ गुम्बाका रिम्पोछे छुल्ठिम दोर्जे योञ्जन पक्राउ परेका थिए । झारफुक गर्न गुम्बामा आएका युवतीमाथि उनले करणी गरको आरोप लागेको थियो ।

सोही वर्षको मंसिर ५ गते उनीविरुद्ध प्रहरीले मुद्दा चलाएको थियो । जिल्ला अदालत काठमाडौंले २०७५ असोज १५ गते उनलाई साइबर अपराध मुद्दामा ५० हजार जरिवाना र पीडितलाई १ लाख ५० हजार क्षतिपूर्ति भराउने फैसला गर्याे । २०७६ असोज २९ गते उच्च अदालत पाटनले करणीकै कसुरमा दोषी ठहर गर्दै ७ वर्ष कैद र पीडितलाई ३० लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो ।

३. श्रीनिवास आचार्य

२०७५ चैत २५ मा मोरङको रामजानकी मन्दिरमा ‘बाल सन्त स्वामी श्रीनिवास आचार्य’ माथि गोली प्रहार भयो । घटना लगत्तै प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान गर्यो ।

तर, अनुसन्धानका क्रममा श्रीनिवासाचार्य आफैँले चितवन, बेलचोक घर भएका बडीगार्ड माधव चौधरीलाई आफूमाथि गोली हान्न लगाएको खुल्यो । प्रहरी अनुसन्धान अनुसार, उनले धार्मिक एजेन्डालाई उग्र बनाउन भन्दै यस्तो हर्कत गरेका थिए ।

४. बसन्त बलम्पाकी

२०७५ जेठ ५ गते बर्दिबास नगरपालिका–३ भब्सीस्थित राईमण्डल इन्देश्वर महादेव मन्दिरका प्रमुख पूजारी बसन्त बलम्पाकी हात हतियारसहित पक्राउ परेका थिए । भोले बाबाको भेषमा आपराधिक तथा यौनजन्य क्रियाकलाप गरेको आरोपमा उनलाई प्रहरीले चार थान खुकुरीसहित पक्राउ गरेको थियो ।

उनीमाथि झारफुकको लागि मन्दिर पुग्ने मानसिक रोगीलाई गाँजा खुवाउने, निगार खुवाउने, त्यसले नपुगे बेहोस बनाएर कुटपिट गरी उपचार गर्ने गरेको आरोप लागेको थियो । यतिमात्र होइन झारफुकको लागि मन्दिरमा पुग्ने युवतीलाई महिनौं राखेर यौन शोषण गरेको आरोप पनि लागेको छ ।

५. सिद्धबाबा रामकृष्णाचार्य

२०७६ मंसिर १६ मा अनुयायीलाई बलात्कार गरेको अभियोगमा सुनसरी बराहस्थित हनुमान मन्दिरका पुजारी ‘सिद्धबाबा रामकृष्णाचार्य श्री वैष्णव कृष्णदास’ भन्ने कृष्णबहादुर गिरी अस्पतालबाटै पक्राउ परेको थिए ।

पूर्वराजा ज्ञानेन्द्र शाहदेखि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, राजनीतिज्ञ तथा उच्च सुरक्षा अधिकारीसम्मै पहुँच बनाएका ‘सिद्धबाबा’ तीन लाख धरौटी बुझाएर रिहा भए । तर, सोही वर्षको माघ ९ गते उच्च अदालत विराटनगरले उनलाई पुनः पुर्पक्षका लागि थुनामा राख्ने आदेश दियो । आदेश आउनुभन्दा केही घण्टा अघि मात्र उनी भारततर्फ फरार भए ।

६. ध्रुवबाबा जोशी

२०७६ पुस २७ ललितपुरस्थित आशा विश्वासी चर्चका पास्टर विश्वास भनिने ध्रुवबाबा जोशी बलात्कार आरोपमा पक्राउ परेका थिए । उनीमाथि ‘पास्टरसँग शारीरिक सम्बन्ध राखेमा परमेश्वरले पापबाट मुक्ति दिलाउनुहुन्छ’ भन्दै अनुयायीलाई पटकपटक करणी गरेको आरोप लागेको छ ।

उनले सोही वर्षको कात्तिकमा चापागाउँस्थित एक गेस्टहाउस र पुसमा युवतीकै कस्मेटिक पसलमा गएर करणी गरेका थिए । जोशीले ‘परमेश्वरको आदेश छ, मसँग शारीरिक सम्बन्ध राखे पापबाट मुक्ति मिल्छ’ भन्दै बारम्बार करणी गरेका थिए ।

७. विजय भण्डारी

धर्मको आडमा अपराध गर्ने अर्का ‘बाबा’ हुन्, गुल्मीका विजय भण्डारी । उनले ‘अमेरिका पठाइदिन्छु’ भनेर ठगी गरेको आरोप छ । ठगी गरेको आरोपमा निवेदन परेपछि पक्राउ पुर्जी जारी थियो । त्यसपछि भण्डारी फरार भएका थिए ।

उनले पछिल्लो समय २५ करोडभन्दा बढी रकम संकलन गर्ने योजना बनाएर चितवनमा कोटी होम चलाइरहेका थिए । तर, ठगीको आरोपमा पक्राउ पुर्जी जारी भएसँगै कोटीहोम कार्यक्रम स्थगित भएको थियो ।

८. स्वामी शिवानन्द

२०७६ पुस २८ गते युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने स्वामी शिवानन्द बाबा भनिने दीपक भण्डारी पक्राउ पनि परेका थिए । उनले चार जनालाई युरोप लगिदिन्छु भन्दै ३० लाख रुपैयाँ ठगी गरेका थिए ।

९. छत्रबहादुर गुरुङ

२०७६ जेठ १४ गते बलात्कार आरोपमा इलामको रोङ गाउँपालिका–३ का धर्मगुरु छत्रबहादुर गुरुङ पक्राउ परेका थिए । उनी आफूलाई ‘छत्रबहादुर गिरी’ भनेर ७ वर्षदेखि कोटीहोममा बस्दै आएका थिए ।

साधुको भेषमा शिव मन्दिरमा बस्दै आएका उनले महिलालाई डर देखाउँदै बारम्बार बलात्कार गरेको आरोप लागेको थियो । एक सहयोगी महिलाले विभिन्न धार्मिक कार्यक्रममा जाँदा र कोटीहोममै पनि धर्मगुरु गुरुङले आफूलाई बारम्बार बलात्कार गरेको महिला अधिकारकर्मीलाई बताएका थिए । त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

१०. पुरुषोत्तम काफ्ले

२०८० असार १२ गते नारी शक्तिको जागरण गराउने भन्दै करिब पाँच करोड र एक सय तोलाभन्दा बढी सुन ठगी गरेको अभियोगमा दोलखाका शिवसुत गौरी भक्त भन्ने पुरुषोत्तम काफ्ले पक्राउ परेका थिए ।

उनले काठमाडौँस्थित हाम्रो अभियान नेपाल र ओम आश्रम नेपाल नामक संस्था खोली पीडितलाई रकम लगानी गर्न अभिप्रेरित गराउने, सेमिनार गरी संस्थाको सदस्य बनाउने, धेरै मुनाफाको प्रलोभन देखाउने गरेका थिए ।

११. गोविन्द रिन्बोचे

२०७६ फागुन २२ गते किशोरीमाथि यौन दुराचार गरेको आरोपमा बौद्ध धर्मगुरु अस्ट्रेलियन नागरिक गोविन्द रिन्बोचे पक्राउ परेका थिए ।

उनलाई महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले गोकर्णेश्वर नगरपालिकाको कदम्बा बुद्धिष्ट प्रतिष्ठानबाट पक्राउ गरेको थियो । उनले १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको थियो ।

१२. धर्मगुरु मौलवी

२०७७ मंसिर ११ गते झारफुकको नाममा बलात्कार गरेको आरोपमा सिरहाको लहानबाट मुस्लिम धर्मगुरु मौलवी (हजरत) पक्राउ परेका थिए ।

लहान– ७ का मुस्लिम युवती समान्य बिरामी परेपछि आफ्नो जातीय धर्मगुरुसँग झारफुक गराउन मौलवीका डेरामा पुगेका थिए । मौलवीले झारफुकको नाममा बलात्कार गरेको भन्दै उनी प्रहरीमा पुगेका थिए ।

माथि उल्लेखित घटना त धार्मिक आवरणमा हुने गरेका अपराधका केही उदाहरण मात्र हुन् । प्रहरीको अपराध अभिलेखअनुसार अन्य थुप्रै घटनामा मन्दिरका पुजारी, चर्चका पास्टर, गुम्बाका रिम्पोछेलगायत व्यक्ति हत्या, बलात्कार, ठगीजस्ता अपराधमा जघन्य तथा आर्थिक अपराधसँग जोडिएका छन् ।

बारम्बार यस्ता घटना दोहोरिएपछि केही अनुयायी बाध्य भएर कथित धर्मगुरुका अपराधविरुद्ध प्रहरीमा पुग्ने गरेका छन् । पीडकहरूको पहुँच र प्रभाव शक्तिकेन्द्रसम्म जोडिने गरेको पनि देखिन्छ ।

धर्मको खोल ओढेर जघन्य अपराध गर्ने कथित धर्मगुरुलाई दण्डित गर्नैपर्छ । यसका साथसाथै कुनै पनि धर्मले दुर्व्यवहार गर, अपराध गर भन्दैन र गेरु वस्त्रधारी सबै धर्मगुरु होइनन् भन्ने आमनागरिकमा सचेतना फैलाउनु आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..