काठमाडौं । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, एआईजी दीपक थापाले ‘काठमाडौं उपत्यकालाई सुरक्षित बनाउन नागरिकसँग हातेमालो गर्दै अपराध नियन्त्रण गर्ने र आपराधिक क्रियाकलापमा संलग्नलाई कानुनी दायरामा ल्याउनका लागि योजना बनाएका छौं,’ प्रमुख थापाले भने। उपत्यकाको सुरक्षाका लागि १२ हजार प्रहरी तैनाथ रहेको बताएका छन् ।
उनले काठमाडौंमा हुने आपराधिक घटनामा संलग्नलाई कारबाही गर्न प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको बताउँदै उपत्यकाभित्र सिसी क्यामरा जडानका लागि उपत्यकाका विभिन्न पालिकासँग सहकार्य भइरहेको प्रमुख थापाले जानकारी दिए।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र खत्रीले अपराध नियन्त्रणका लागि समाजको सहयोग आवश्यक रहेको बताए।
‘समाजमा हुने विकृति, विसंगति र चोरीका घटनाको अन्त्यका लागि सबैको साथ र सहयोग आवश्यक छ,’ उनले भने। उनले जनताले अपेक्षा गरेअनुरूपको शान्तिसुरक्षा प्रदान गर्न काठमाडौं प्रहरी तत्पर रहेको उल्लेख गरे।
सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष एवम् वरिष्ठ समाजसेवी रामप्रसाद न्यौपानेले चण्डोल, धुम्बाराही, बालुवाटार, चुनदेवी, टुँडालदेवी लगायतको क्षेत्रमा हुने विकृति, विसंगति अन्त्यका लागि सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा सामुदायिक सेवा केन्द्रले काम गर्दै आएको बताए।
उनले चाडपर्वको समयमा हुने चोरी, लुटपाटका घटना कम गर्नका लागि सबै लाग्नुपर्ने बताए। ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टुँडालदेवीको विकासका लागिसमेत सामुदायिक सेवा केन्द्रले काम गर्दै आएको उनको भनाइ थियो।
काठमाडौं महानगरपालिका–४ का वडाध्यक्ष दिनेश महर्जन, नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक अमरसिंह शाह लगायतले समाजमा हुने आपराधिक क्रियाकलाप अन्त्यका लागि प्रहरी र स्थानीयवासीबीच सहकार्यको खाँचो रहेको बताए।
विसं २०५९ मा स्थापना भएको सामुदायिक प्रहरी सेवा केन्द्रले काठमाडौं महानगरपालिका–४ मा हुने विकृति तथा विसंगति अन्त्यका लागि विभिन्न सामाजिक काम गर्दै आएको केन्द्रका निमित्त प्रमुख डम्बर शाहीले बताए।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नेपाल सरकारका पूर्वसचिव, नेपाली सेनाका पूर्वअधिकृत, नेपाल प्रहरीका पूर्व अधिकृत लगायतको सहभागिता थियो।