सशस्त्र आईजिपी अर्यालले भने- ‘२०३ रुपैयाँले दिनभर चार छाक खानुपर्छ’

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीलाई दैनिक रासनका लागि छुट्याइने रकम साह्रै न्यून भएको बताएका छन् । मुलुकको आर्थिक अवस्था कमजोर रहे पनि दैनिक प्रहरीलाई छुट्याइएको २ सय ३ रुपैयाँले नपुग्ने गरेको बताए ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा महानिरीक्षक अर्यालले रासनका लागि छुट्याइएको रकमबारे सांसदहरूलाई जानकारी गराएका हुन् । सांसदहरूले पनि उक्त कुरालाई चासोका साथ लिएका थिए ।

‘रासनसम्बन्धि समस्या छ । हुन त देशको आर्थिक अवस्था नै त्यस्तै छ तर सुरक्षामा अलिकति ध्यान दिनुपर्ने ! उदाहरणका लागि काठमाडौंमा हेर्दा २०३ रुपैयाँले बिहान चिया अण्डा त्यसपछि खाना (लन्च) त्यसपछि खाजा र बेलुका खाना, चार छाक खानुपर्छ । रासनको अवस्था यस्तो छ,’ उनले भने । सांसदहरूले एक छाकको २ सय ३ रुपैयाँ कि दिनभरका लागि ? भनेर चासो राखेका थिए ।

कांग्रेस सांसद दिलेद्रप्रसाद बडू, सरिता प्रसाईं, एमालेका रघुजी पन्त, राप्रपाका बुद्धिमान तामाङ, जसपाका प्रकाश अधिकारीले सुरक्षाकर्मीका लागि दैनिक रासनको रकमबारे चासो देखाएका थिए । उक्त रकम अत्यन्तै न्यून रहेको उनीहरूको भनाइ थियो ।

त्यसपछि महानिरीक्षक अर्यालले थपे, ‘तर, ठाउँठाउँमा रासनको यस्तो भयो, दुरुपयोग भयो भन्ने कुरा पनि आउँछ । हामी कहीँ गएर एउटा साधारण रेष्टुरेन्टमा खाँदा कति खर्च हुन्छ ? यसलाई कसरी सुधार गर्न सकिन्छ भन्ने अवस्था आएको छ ।’ रासनका लागि आउने रकममा दुरुपयोग नभएको उनको भनाइ थियो ।

‘२०३ रुपैयाँले दैनिक २ छाक खाना र २ पटक खाजा खानुपर्छ । हामीले समूहमा पकाएर खाँदाखेरि कहिले काँचो हुन्छ, कहिले दाल पुग्दैन, कहिले तरकारीका कुरा पनि आउँछन्,’ उनले भने, ‘हामीले बोल्दै हिँड्ने कुरा पनि भएन, आज यति ठूलो फोरममा त्यहाँसम्मको कुरा पनि राख्न पाइयो ।’

महानिरीक्षक अर्यालले सीमा सुरक्षा पोस्ट बलियो नभएको, सीमामा पिच सडक नहुँदा पनि सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको बताए । उनले सीमामा छाप्रो बनाएर भएपनि सुरक्षामा खटिइरहेको भन्दै बजेट थप्नुपर्ने आग्रह गरेका थिए ।

राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्यसचिव वैकुण्ठ अर्याल, गृहमन्त्रालयका सचिव दिनेश भट्टराईलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..