आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्दछ : राष्ट्रपति पौडेल


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्ने जनाएका छन् ।


संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सबै नेपालीमा बधाई तथा शुभकामना व्यक्त गर्दै उनले संविधान प्रदत्त मौलिक हकको प्रभावकारी कार्यान्वयन, आयातमुखी अर्थतन्त्रलाई विस्थापन गरी राष्ट्रिय अर्थतन्त्रलाई दह्रो र सबल बनाउनु नै आजको मुख्य चुनौती र जिम्मेवारी भएको उल्लेख गरेका छन् ।


राष्ट्रपति पौडेलले श्रमलाई सम्मान गर्ने संस्कृति, विपन्नलाई आय र निमुखालाई न्याय दिने प्रणालीलाई सबल र प्रभावकारी बनाउनुपर्ने जनाएका छन् । उनले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन आहुति दिने सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै लोकतान्त्रिक प्रणाली स्थापनार्थ पथ प्रदर्शन गर्नुहुने सम्पूर्ण अग्रजप्रति सम्मान एवं श्रद्धा प्रकट गरेका छन् ।


‘वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ,’ उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने लक्ष्य राखेको बताएका छन् ।


उनले सुदृढ तहगत अन्तरसम्बन्धको स्थापना र सबल संघीय शासन प्रणालीमार्फत समावेशी, समन्यायिक एवं सन्तुलित प्रादेशिक विकासको सुनिश्चितता हुन सकेन भने जनताले चाहेको लोकतन्त्रको परिणाम प्राप्त नहुने उल्लेख गरेका छन् । उक्त लक्ष्य हासिल गर्न प्राकृतिक स्रोतसाधनको सदुपयोग गर्दै कृषिको आधुनिकीकरणसहित उद्यमशीलताको विकासमार्फत उत्पादन वृद्धि गर्नुपर्ने उनको भनाइ छ ।


राष्ट्रपति पौडेलले राज्यको चरित्रलाई अझ लोकतान्त्रिक, पारदर्शी, जवाफदेही, सुशासित, न्यायपूर्ण र जनमुखी बनाउनुपर्ने उल्लेख गर्दै जनप्रतिनिधिहरू, सार्वजनिक निकायका पदाधिकारी तथा राजनीतिक दलका नेता कार्यकर्ताले जनताले अपेक्षा गरेको आचरण र चरित्र देखाउनसके मात्र सामाजिक न्याय र स्वाभिमानसहित समृद्धिको सपना साकार हुने उल्लेख गरेका छन् ।


शुभकामना सन्देशमा भनिएको छ, ‘राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनले मात्र युगका अपेक्षा पूरा हुँदैनन् । अतः आजका दिनले हामी, हाम्रा राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण राज्यसत्तालाई अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बनाउने दायित्व बोध गराउनेछ भन्ने विश्वास लिएको छु ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाडौं । इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना..