सुवास नेम्वाङको मृत्युको कारण रहस्यमै,पोस्टमार्टम नगरी दाहसंस्कार,पिएसओको गम्भीर सुरक्षा चुक

काठमाडौँ । सोमबार दिउँसोसम्म सक्रिय नै रहेका संविधान सभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ घरमै ढलेपछि राती १: ५० बजे उपचारका लागि शिक्षण अस्पताल महाराजगन्ज लगियो। उनको परिवारका सदस्यले एम्बुलेन्स बोलाएर अस्पताल लगेका थिए। अस्पतालको आकस्मिक कक्षमै उनको मृत्युको घोषणा भयो।

बुधवार नेम्वाङको शव उनको बालुवाटारमा रहेको निवासमा लगियो। बिहीबार उनको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

अन्त्येष्टिमा उहाँका दुई छोरा मिङसो नेम्वाङ र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् । नेपाली सेनाको एक टुकडीले शोक कुनसहित स्वर्गीय नेम्वाङप्रति शोक धुन बजाएर सम्मान व्यक्त गर्नुभयो ।

अन्त्येष्टि कार्यक्रममा अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहित दलका नेताहरू, एमालेका नेताहरू आर्यघाट पुग्नुभएको छ ।

नेता नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभयो भने एमाले अध्यक्ष ओलीले पार्टीको झण्डा ओढाउनुभयो । सो अवसरमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासहित सरकारका मन्त्रीहरू, सांसदहरू, पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता थियो ।

उनको मृत्युको कारण के हो पुष्टि भएको छैन। कसैले ह्दयघातका कारण मृत्यु भएको दाबी गरिरहेका छन्। केहीले सुगरका कारण।

मृत्युको एकिन कारण पत्ता लगाउन विधि पोस्टमार्टमै हो। तर नेम्वाङको पोस्टमार्टमै भएन। उनको मृत्युबारे शिक्षण अस्पतालले जारी गरेको विज्ञप्तिमा समेत के कारण नेम्वाङको निधन भयो भन्ने खुलाइएको छैन। विज्ञप्तिमा ‘नेम्वाङलाई सोमबार (२६ गते) राती साढे एक बजे उपचारका लागि अस्पताल पुर्याइएको र चिकित्सकको टोलीले उनको चेक जाँच गर्दा जीवनसम्बन्धी कुनै पनि चाल नदेखिएको अवस्थामा रहेको’ अस्पतालले उल्लेख छ।

‘त्यस बखत उहाँ (नेम्वाङ)को आँखाको नानी फुलिसकेको र स्थिर रहेको साथै बिपी र पल्स अनरेकर्डेबल भएकाले चिकित्सकद्वारा ३५ मिनेटसम्म सीपीआर गर्दा पनि जीवन सम्बन्धी कुनै सङ्केतहरू नदेखिएकाले तीन बजे मृत घोषणा गरेको जानकारी गराइन्छ,’अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यसले नेम्वाङलाई उपचारका लागि अस्पताल पुर्याउनु अगाडि नै उनको मृत्यु भएको देखिन्छ। तर किन मृत्यु भयो खुलाइएको छैन।

त्रिवि शिक्षण अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. सन्त कुमार दास पोस्टमार्टम नभएकाले नेम्वाङको मृत्युको कारण (कज अफ डेथ) थाहा नभएको बताउँछन्।

‘कज अफ डेथ त थाहा छैन,’उनले भने,‘डेथ भएर आएपछि त हामीलाई थाहा हुँदैन।’

उनले आकस्मिक रूपमा भएका यस्ता मृत्युमा मृत्युको कारण थाहा पाउन पोस्टमार्टम आवश्यक हुने बताए। मृत्युको कारण पत्ता लगाउन आवश्यक हुँदैन? भन्ने जिज्ञासामा उनले भने,‘गर्नु पर्ने हो खास। त्यो गर्न पोस्टमार्टम गर्नुपर्ने। तर, हाम्रो समाजमा पोस्टमार्टम त्यति एक्सेप्ट गर्दो रहेनछ।’

उनले अन्य मुलुकमा अचानक (अनएक्सपेक्टेड) हुने मृत्युको कारण पत्ता लगाउन पोस्टमार्टम हुने गरेको बताए।

‘अनएक्सपेक्टेड भएको डेथहरुमा पोस्टमार्टम गर्दा कज अफ डेथ पनि थाहा हुन्छ,’निमित्त निर्देशक डा. दासले भने’ पोस्टमार्टम गर्ने हो भने कसरी अकस्मात् मृत्यु हुन्छ भन्ने अध्ययन पनि हुन्छ।’

अस्पताल स्रोतका अनुसार नेम्वाङको मृत्यु भएको घोषणापछि ड्युटीमा रहेका चिकित्सकले परिवारका सदस्यलाई मौखिक रूपमा पोस्टमार्टम गर्न पर्छ कि पर्दैन भनेर सोधेका थिए। परिवारका सदस्यले पोस्टमार्टम गर्न पर्दैन भनेपछि चिकित्सकहरूले पनि जोड नदिएको देखियो।

परिवारका सदस्यले पोस्टमार्टम गर्न नमाने पनि चिकित्सकले पोस्टमार्टमको सिफारिस गर्नुपर्ने भए पनि चिकित्सकले लिखित सिफारिस गरेको देखिएन।

‘परिवारका सदस्यले माने पनि नमाने पनि चिकित्सकले पोस्टमार्टम गर्नुपर्ने घटनामा लिखित सिफारिस गर्नैपर्छ,’ जानकार एक चिकित्सकले भने’ परिवारका सदस्यले नमानेको अवस्थामा ‘पोस्टमार्टम गर्न आवश्यक तर परिवारका सदस्यले अस्विकार गरी शव जिम्मा लिएको’ लिखितसहित मात्र शव दिनुपर्ने हो। यसमा चिकित्सक चुकेको देखियो।’

उता सरकारले बिहीबार नेम्वाङको अन्तिम संस्कार राजकीय सम्मानकासाथ गर्यो र अन्त्येष्टिका दिन देशभर सार्वजनिक बिदा समेत दियो । तर उनको मृत्युको कारण पत्ता लगाउन चासो दिएन ।

नेम्वाङको मृत्युपछि बसेको मन्त्रीपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले संविधान लेखन र गणतन्त्र संस्थागत गर्न नेम्वाङले पुर्याएको योगदानको सम्मानमा राजकीय सम्मानका साथ अन्त्यष्टी गर्ने जानकारी दिएका थिए।

शर्माले रुघाखोकी र ज्वरोको सङ्केत देखिएपछि चिकित्सक घरमा गएर परीक्षण गरेपछि भाइरल हो भनेपछि नेम्वाङ सुतेको र शौचालय जानेक्रममा बेहोस अवस्थामा देखिएपछि अस्पताल लगिएपछि मृत घोषणा भएको बताएकी थिइन्।

‘बिरामी त भएको तर सिरियस बिरामीको सङ्केत नदेखिएको’ उनले भनेकी थिइन्।

नेम्वाङका सहयोगी कृष्ण काफ्लेले अस्पताल पुर्याएर उपचारविधी अगाडि बढाइसकेको अवस्थामा मृत्यु भएकाले पोस्टमार्टम आवश्यक नदेखिएको तर्क गरेको थियो ।’अस्पताल पुर्याएपछि उहाँको निधन भएको हो। त्यसैले पोस्टमार्टम आवश्यक पर्दैन भन्ने कुरा भयो।’

व्यक्तिगत सुरक्षाकर्मी ‘देखाउन मात्रै’

सभामुख अनि संविधान सभाका अध्यक्ष समेत रहेका नेम्वाङको सुरक्षामा नेपाल प्रहरीका दुई प्रहरी व्यक्तिगत सुरक्षामा खटाएको थियो। नेम्वाङ सभामुख भएदेखि नै उनको सुरक्षामा सई निर्मल बेन्जु खटिँदै आएका थिए। तीन महिना अगाडि प्रहरी प्रधान कार्यालयले असई निर्मल थापालाई समेत नेम्वाङको सुरक्षामा खटाएको थियो।

तर सोमबार बेलुका यी दुवै प्रहरी नेम्वाङ निवासमा थिएनन्। व्यक्तिगत सुरक्षा प्रणालीबारे जानकार नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्लका अनुसार व्यक्तिगत सुरक्षामा खटिने सुरक्षाकर्मीको मुख्य जिम्मेवारी भिआइपीको ज्यान र सम्मानको सुरक्षा हो।

नेम्वाङ शौचालयमा लडेर बेहोसहुँदा उनको घरमा व्यक्तिगत सवारी थियो। तर चलाउन सक्ने व्यक्ति नभएपछि उनको परिवारका सदस्यले एम्बुलेन्स बोलाएर अस्पताल लैजानु परेको सार्वजनिक भइसकेको छ।

दुई जना सुरक्षाकर्मी खटाउनुको कारण आलोपालो भिआइपीको सुरक्षा गर्न सकियोस् भनेर नै हो। तर सोमबार बेलुका नेम्वाङ निवासमा दुवै सुरक्षाकर्मी थिएनन्। प्राय नेम्वाङ घरमा गएपछि उनीहरू आफ्नो घर फर्कने गरेका थिए। सोमबार पनि उनीहरू दुवै जना घर गएका थिए। यसले प्रहरी प्रधान कार्यालयले जुन प्रयोजनका लागि उनीहरूलाई खटाएको हो त्यसमा उनीहरू चुकेको प्रस्टै देखियो।

नेम्वाङको निवासको सुरक्षामा सुरक्षाकर्मी खटिने गरेका थिए। रवि लामिछानेको गृहमन्त्रीको कार्यकालमा उनले सुरक्षाकर्मीको दुरुपयोग नियन्त्रणको नीति ल्याए। नेम्वाङको निवासको सुरक्षामा खटिएका प्रहरीलाई प्रधान कार्यालयले फिर्ता लगेकाले निवासको सुरक्षामा खटिने सुरक्षाकर्मी समेत थिएनन्।

घटनाको बेलामा नेम्वाङका दुवै छोरा घरमा थिएनन्। श्रीमती र छोरीले एम्बुलेन्स बोलाएर अस्पताल पुर्याएका थिए। नेम्वाङका सहयोगी कृष्ण काफ्लेका अनुसार नेम्वाङको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरू उनलाई घरमा पुर्याएर भोलीपल्टको कार्य तालिका बुझेर आफ्नै कोठामा फर्कने गरेका थिए।

‘सुरक्षामा खटिएका सुरक्षाकर्मी घरमा बस्दैनथे। उहाँ( नेम्वाङ) लाई घरमा पूर्याएपछि भोलीपल्टको कार्यक्रम अनुसार आउने गर्थे। सोमबार पनि घर पुर्याएपछि उहाँ( नेम्वाङ) को अनुमतिमा घर गएका थिए। घटना थाहा पाए लगत्तै मैले नै जानकारी गराएर बोलाएको थिए।’

यसले समेत दुवै सुरक्षाकर्मीले सुरक्षा निर्देशिका उलङ्घन गरेको पुष्टि हुन्छ। तर नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायत भिआइपीको निवास भित्र सुरक्षाकर्मी बस्न नमिले भएकाले भिआइपीको इच्छा अनुसार कि निवास परिसरमा अन्यत्र बस्ने वा भिआइपीलाई घरमा छाडेपछि आफ्नै वासस्थानमा फर्कनु सामान्य रहेको बताउँछन्।

‘भिआइपीको पारिवारिक गोपनयताका कारण उहाँहरू बस्ने निवासभित्रै पिएसओ बस्न मिल्दैन। निवास परिसरमा बस्ने विकल्प भए बस्छन्.’ उनले भने’ निवास परिसरमा बस्ने अवस्था नभएमा भिआइपीको अनुमतिमा आफ्नै निवास फर्कनु सामान्य नै हो।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..