काठमाडाैं । सप्तरीस्थित बोदेबसाइन नगरपालिकाका मेयर, निमित्त प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
मेयर आतेशकुमार सिंह, निमित्त प्रशासकीय अधिकृत घनश्याम यादव, अर्जुनप्रसाद यादव र वडाध्यक्ष रामानन्द चौधरीलगायत विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ लाख ७१ ह्जार ९२१ बिगो माग दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनीहरूले आव २०७७÷०७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि बजेट विनियोजन भई उक्त नगरपालिकाले माँ जगदम्बा कृषक समूहसँग सम्झौता गरेका थिए ।
बोदेबसाइन नगरपालिका वडा नं. ६ फुलकाहीमा कार्यक्रम सञ्चालन गरेकोमा झुट्टा बिल बनाई भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा दोषी पाइएकाले उनीहरूविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।


