सरुवा र बढुवाका लागि नाजायज लाभ लिने र दिनेलाई जेल हाल्छु : गृहमन्त्री श्रेष्ठ


काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी प्रशासन र अन्य क्षेत्रमा हुने सरुवा र बढुवाका लागि अनुचित लाभ लिने र दिने दुवैलाई कारबाही गर्ने बताएका छन् । उनले त्यस्ता कार्यका लागि कसैलाई पनि लेनदेन नगर्न चेतावनी दिएका छन् ।

पछिल्लो समय प्रहरी प्रशासनमा सरुवा र बढुवामा हुने लेनदेन बन्द भएको उनको दाबी थियो । उनले त्यसो गर्नेहरूलाई कारबाही हुने बताए । ‘सरुवा र बढुवाका लागि माथि लिने काम बन्द भयो । मन्त्रालयको कसैले लिएको थियो भने बन्द भयो ।

विचौलियाले पनि पैसा लिन्छन् भन्ने सुन्दैछु,’ उनले चेतावनी दिए, ‘खबरदार ! कोही कसैले बढुवा र सरुवाको निम्ति नाजायज लाभ लिएको छ भने दिनेलाई पनि जेल हाल्छु, लिनेलाई पनि जेल हाल्छु ।’मुलुक यसरी नचल्ने श्रेष्ठको भनाइ थियो । उनले जनतालाई यसरी नै शासन दिने हो भने सही नहुने भनाइ राखे । आफूलाई निष्पक्ष राख्न खोज्दा विभिन्न अप्ठ्यारा आउने गरेको पनि श्रेष्ठले सुनाए । रोजगारीका लागि परीक्षा दिनेहरूले सम्बन्धित निकायमा भनिदिनपर्‍यो भनेर दिनदिनै भन्ने गरेको पनि श्रेष्ठले सुनाए । ‘त्रिविमा प्राध्यापकको लागि परीक्षा दिएर आउनुहुन्छ । सेवा आयोगमा भनिदिनुपर्‍यो भन्नुहुन्छ । शिक्षक सेवा आयोग र लोकसेवा आयोगमा पनि त्यही भन्नुहुन्छ, भन्दिनपरो भन्नुहुन्छ,’ उनले भने, ‘त्यसो त हुन्न भन्दा तपाईंले नेपालमा राजनीति गरेर खानुहुन्न, फेरि चुनाव हार्नुहुन्छ भन्नुहुन्छ । १०० पटक चुनाव हार्न तयार छु तर लोकतान्त्रिक र निष्पक्ष मूल्यमान्यता छोड्दिनँ ।’


उपप्रधानमन्त्री श्रेष्ठले सरकारले भ्रष्टाचार नियन्त्रणका लागि दृढ कदम चालिरहेको र कुन पार्टीका नेता पर्छन् भन्ने वास्ता नगरेको बताए । ‘हामीले सुशासनको स्थापना गर्न कदम चालेका छौं, कुन पार्टीको को पर्छ मलाई थाहा छैन । आज कुनै पार्टीको को परे होला, भोलि मेरै पार्टी माओवादीको नेता परेमा आश्चर्य नमान्नुहोला ।

त्यो छुट दिइने छैन,’ उनले भने ।
भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गरी एकताबद्ध भएर जानुपर्नेमा उनले जोड दिए । ‘भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहितको सुशासन नगरिकन समृद्ध देश बनाउने कोरा नारा हो,’ उनले भने ।

समृद्ध देश नबनाइकन आमजनतालाई परिवर्तनको उपलब्धि दिन नसकेको उनको भनाइ थियो ।सरकारले एकसुत्रीय रूपमा सुशासन, समृद्धि र सामाजिक न्यायका लागि काम गरिरहेको श्रेष्ठले बताए । त्यसबाट सरकार कुनै पनि हालतमा विचलित नहुने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..