काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलेले ठूला भ्रष्टाचारका फाइलहरु खोलेमा सरकारलाई आफ्नो पार्टीको समर्थन हुने बताएका छन् ।आइतबार राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको एकताको प्रथम महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले नक्कली भुटानी शरणार्थी सम्बन्धी ठगी प्रकरणमा सरकारले अघि बढाएको अनुसन्धानको प्रशंसा गरेका छन् ।
साथै उनले प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डलाई लडाकु शिविरमा भएको भनिएको घोटालाको पनि अनुसन्धान गरी आफूलाई चोखो प्रमाणित गर्न चुनौती दिएका छन् । ‘क्यान्टनमेन्टको घोटालाकाण्ड उहाँकै शिरमाथि लागेको छ, त्यो के हो ? फाइल खोलेर उहाँले त्यसलाई आफू चोखो छु भन्ने प्रमाणित गरिदिनुपर्यो । तर भ्रष्टाचारको डंगुरमाथि बसेर शुद्धताको मन्त्र उच्चारण गर्यो भने लामो समय पत्याइदैन यो कुरालाई’ उनले भने ।
भ्रष्टाचारका घटनामाथिको अनुसन्धान देखाउनका लागि मात्र हुन नहुने लिङ्देनले बताए । ‘यो देखाउनका लागि मात्रै हुनु हुँदैन । यदि पुष्पकमल दाहालले सुनियतका साथ, सुविचारका साथ यो कदम अगाडि बढाउनुभएको, यसमा कुनै राजनीतिक स्वार्थ छैन भने राष्ट्रिय प्रजातन्त्र पार्टीको यसमा समर्थन रहन्छ’ उनले भने ।अध्यक्ष लिङ्देनले देश आर्थिक रुपमा टाट पल्टने अवस्थामा रहेको भएपनि सरकारले अर्थतन्त्र सुधार गर्ने कुनै कदम नचालेको आरोप लगाए ।
उनले सरकार कुहिरोमा हराएको कागजस्तो अवस्थामा रहेको टिप्पणी गरे ।‘ऋण काढेर अहिले कर्मचारीलाई तलव खुवाउनुपरेको अवस्था छ । ८० अर्बभन्दा बढी निर्माण व्यवसायीहरुलाई राज्यले दिनुपर्ने भुक्तानी नै पुगिसकेको छ । यो अर्थतन्त्रलाई सुधार गर्ने दिशातर्फ सरकारका कुनै कदमहरु छैन । सरकार कुहिरोमा हराएको कागजस्तो अवस्थामा छ’ उनले भने ।


