राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह ।

महानिरीक्षकका रूपमा एक वर्ष पनि प्रहरी संगठनको नेतृत्व गर्न पाउनुभएन, छोटो कार्यकालको अनुभव कस्तो रह्यो ?

कार्यकाल छोटो हुँदा अवश्य नै योजना बनाएर कार्यान्वयन गर्न समय हुँदैन । तीन वर्षको योजना ल्याउनुपर्नेमा एक वर्षको मात्र ल्याएँ । सेवाअवधिको प्रावधान हटेन भने फेरि दुई वर्ष, ६ महिनामा नेतृत्व परिवर्तन हुनेछ । यसले चेन अफ कमान्डमा पनि असर गर्छ । आइजिपीले पूरा कार्यकाल काम गर्न नपाउँदा संगठनलाई जति गतिशीलता दिनुपर्ने हो त्यो हुँदैन । दरबन्दी थपलगायत ठूला नीतिगत काम गर्न गाह्रो हुँदो रहेछ । अहिले प्रहरीमा ५३–५४ वर्षको उमेरमै अवकाश पाउने अवस्था छ । जब प्रहरी अधिकृत अनुभव र तालिमले निपुण हुन्छ, त्यो अवस्थामा अवकाश पाउनुपर्ने हुन्छ । यो उदेकलाग्दो विभेदले नेतृत्वलाई अस्थिर र संगठनलाई कमजोर बनाएको छ ।

प्रहरी नेतृत्वमा अस्तिरताको मुख्य कारण ३० वर्षे सेवाअवधिकै प्रावधान हो ?

अवश्य नै । सेवाहदको प्रावधान हटाउनैपर्छ । यसबाट केही व्यक्ति लाभान्वित हुनेभन्दा पनि ८० हजार लाभान्वित हुन्छन् । अहिले यो विषयमा निर्णय हुन सकेन, कसैलाई मर्का नपर्ने गरी अध्ययन गरेर यो प्रावधान हटाउनैपर्छ ।

३० वर्षे अनुभवका आधारमा प्रहरी संगठन बलियो हुँदै छ वा कमजोर, के छ तपाईंको निष्कर्ष ?

संगठन बलियो हुन सकेको छैन, ३० वर्षे सेवाअवधिका कारण प्रहरी संगठन कमजोर नै हुँदै गएको छ । यसले गर्दा प्रहरी नेतृत्व पनि बलियो हुन सकेको छैन । नेतृत्वको अस्थिरताले चेन अफ कमान्ड बलियो हुन सक्दैन, कार्ययोजना लागू हुन सक्दैनन् । छोटो कार्यकाल छ भनेपछि उच्च मनोबलका साथ काम गर्न पनि सक्दैन । समग्र देशको शान्ति सुरक्षाकै लागि प्रहरीको अवकाशसम्बन्धी नीति फेर्नुपर्छ ।

आफ्नो ११ महिने कार्यकालको मूल्यांकन कसरी गर्नुहुन्छ ?

कार्यकाल छोटो लामो जे भए पनि जिम्मेवारी पाउँदा के–के गर्‍यो भन्ने महत्वपूर्ण हुन्छ । ११ महिनाको कार्यकालमा दुई–दुईवटा चुनाव शान्तिपूर्वक सम्पन्न भए । १४ वर्षपछि स्ववियु चुनाव पनि हालै सम्पन्न भएको छ । यो नै ठूलो उपलब्धि हो जस्तो लाग्छ ।

दण्ड र पुरस्कारको प्रणालीलाई कडाइका साथ कार्यान्वयन गरियो । प्रहरीमा कहिल्यै ठाउँ नपाएका व्यक्तिले अवसर पाए । बढुवा प्रणालीलाई पनि सिस्टममा राखियो । डिआइजी र एआइजीको बढुवामा अडान लिन सफल भएँ । एआइजी बढुवामा कतिपय नेताहरू रिसाउनु पनि भयो ।

तर, सिस्टममा वरीयताअनुसार नै गरेकाले कुनै विवाद भएन । मेरै कार्यकालमा नेपाल प्रहरीको एफपियू शान्ति मिसनमा लेभल थ्रीमा पुगिसकेको छ । यसले तल्लो तहका प्रहरीको मनोबल बढ्नेछ । एसएसपी र डिआइजीको सरुवा पनि ‘राइट म्यान राइट प्लेस’को नीतिअनुसार नै भयो ।

संगठनमा प्रहरी महानिरीक्षकको मूल्यांकनका आधार सरुवा–बढुवा उसले अंगीकार गरेको नीति र अपराध अनुसन्धानमा लिएको कठोर नीति नै हुँदो रहेछ । त्यसमा आफू सफल भएकाले कार्यकाल सन्तोषजनक नै भयो भन्छु ।

दुई सरकारसँग काम गरेँ । सरकारबाट पनि सहयोग नै भयो । अर्काे मेरो कार्यकालमा नेपाली सेना र सशस्त्र प्रहरीको महत्वपूर्ण सहयोग रह्यो । चुनावदेखि एफपियूको तयारीका लागि प्रधानसेनापतिज्यूको ठूलो सहयोग रह्यो । त्यसकारण पनि सहज भयो ।

राजनीतिकलगायत दबाब कत्तिको झेल्नुभयो ?

सुरुका तीन महिना मुद्दा झेल्दै नेतृत्व सम्हाल्नुपर्‍यो । सर्वाेच्चले न्याय दिएपछि सहज भयो । पछिल्लो तीन महिनाबाहेक मेरो कार्यकाल चुनावमै बित्यो । विभिन्न व्यक्तिले चासो राख्नु स्वाभाविक नै हो । तर, ठूलो दबाब झेल्नुपरेन ।

आफ्नो कार्यकालमा गर्न नसकेका काम केही ?

प्रयास हुँदाहुँदै पनि गर्न नसकेको भनेको निर्मला पन्तको हत्या घटनालाई निक्र्योलमा पुर्‍याउन सकिएन । यसमा विशेष टोली बनाएर काम गर्दागर्दै पनि सफल हुन सकिएन । मेरो कार्यकालमा भएको एउटा दुःखद घटना भनेको नयाँ बसपार्कको ल्होत्से घटना हो । अरू समग्रमा राम्रो भयो भन्ने लाग्छ ।

राजनीतिक नेतृत्वले चाहिँ प्रहरीलाई किन बलियो बनाउन चाहेन जस्तो लाग्छ ?

उहाँहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..