काठमाडौं । नेपालको संविधान २०७२ मा राष्ट्रपति तथा प्रधानमन्त्री हुन शारीरिक, मानसिक स्वास्थ्य के कस्तो हुनुपर्ने स्पष्ट खुलाएर उल्लेख गर्नुपर्ने हो । रमेश प्रसाई दृष्टिविहिन भएपनि उहाँको भिजन असाधारण प्रतिभाको छ र नेपाल र विश्वलाई नै राम्रोसँग चित्रण गर्न सक्नुहुन्छ ।
उहाँ नेपालको राष्ट्रपति वा प्रधानमन्त्री हुन पाउने कि नपाउने ? जस्तै महाभारत कालमा धृतराष्ट्र बिभिन्न परिस्थितिले गर्दा राजा भएका थिए । राष्ट्रपति हुने व्यक्तिको शारीरिक तथा मानसिक योग्यताबारे र प्रधानमन्त्रीको शारीरिक तथा मानसिक स्वाथ्यको योग्यताबारे क्रमशः धारा ६४ र ७६ मा कुनै उल्लेख गरिएको देखिन्न ।


राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री पदमा बहाल रहेको अवस्थामा गम्भीर रोग लागेर धेरैवटा औषधी सेवन गर्नुपर्ने शारीरिक रुपले अस्वस्थ वा मानसिक सन्तुलन गुमाएको अवस्था उत्पन्न भएमा के गर्ने ? यी पदसँग नेपालको सार्वभौम तीन करोड नेपालीको सुरक्षा, स्वतन्त्रता भाग्य र भविष्यले प्रत्यक्ष सरोकार राख्दछ ।
साथै नेपालको वैदेशिक सम्बन्धमा पर्नसक्ने असर वा जोखिमको सवाल उठ्न सक्छ । संविधानमा रहेका यस्तै कमि, कमजोरी र भुलचुकबाट यसको मर्म र भावनासँग मेल नखाने अपव्याखा भई दुरुपयोग भइराखेको हामीले देखेका छौ, भोगेका छौ ।
राष्ट्राध्यक्ष, कार्यकारी प्रमुख लगायतका संवैधानिक उच्च ओहोदा सम्हाल्ने पदाधिकारीको शारीरिक तथा मानसिक स्वाथ्यबारे संविधान मौन रहनु गम्भीर खतराको द्योतक हो । संविधान अधुरो, अपूरो र मधुरो भएको यो टड्कारो अवस्था हो । यस विषयमा राज्य सञ्चालकहरूको ध्यान नपुग्नु झन् गम्भीर कुरा हो । समयमै होश र हेक्का पुर्याईयोस् ।