काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक सदृढीकरण आफ्नो भीष्म प्रतिज्ञा भएको बताएका छन्।
आइतबार सिंहदरबारमा प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह लगाएपछि उनले यस्तो बताएका हुन्। प्रहरी महानिरीक्षक कुँवरले प्रहरीले गर्ने राम्रा कामहरु र विगतमा भएका त्रुटीहरु लुकाएर प्रशासन बलियो नबन्ने भन्दै उनले प्रहरीमा सुधार आवश्यक रहेको बताए।


उनले प्रहरी प्रशासनको सुधार गर्ने दिन गनेर बस्ने छुट आफूलाई नरहेको पनि स्पष्ट पारे। उनले अपराधको रोकथाम र अनुसन्धानमा कुनैपनि बहाना र विकल्पबिना काम गर्ने प्रतिबद्धता जनाए।
प्रहरी महानिरीक्षक कुँवरले शान्ति सुरक्षाको उपलब्धता नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धानसँगको निरन्तर समन्वय, सहकार्यमार्फत देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाइ नागरिकमा कानूनी राज्यको प्रत्याभुति दिलाउने प्रतिवद्धता पनि व्यक्त गरे।
उनले नेपाल प्रहरीको क्रियाशीलतामा गुनासो आउन नदिने वचनबद्ध रहेको बताए। ‘नेपालको संविधानले मार्ग निर्देशन गरेको संघीय स्वरुपमार्फत विधिको शासन र मानव अधिकारको प्रत्याभुति, आर्थिक, सामाजिक रुपान्तरणद्वारा सुशासन र सामाजिक न्याय र सद्भावको सुनिश्चित गर्न नेपाल प्रहरी निष्ठापूर्वक उच्च मनोबलका साथ कर्तव्यनिष्ठ छ’, उनले भने, ‘प्रहरीमा सुधार आवश्यक छ । अब त्यसको लागि दिन गनेर बस्ने छुट छैन । कसैले मार्ग बिराएका भए तिनीहरुले आफूलाई सुधार्नुको विकल्प छैन। प्रहरीको आन्तरिक सदृढीकरण मेरो भीष्म प्रतिज्ञा हो।’
नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले अपराध, अपराध प्रवृत्ति र दबाबको सामु कुनै प्रकारको सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरे।