विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल प्रहरीमा विद्यमान ३० वर्षे सेवा अवधि हटाउनुपर्ने बताएका छन्।
प्रदेश नम्बर १ को नवनिर्मित भवन उद्घाटन गर्दै कार्कीले प्रहरी संगठनको सुदृढीकरणमा ३० वर्षे अवधि बाधक भएको बताएका हुन्।


कार्कीले प्रहरी अधिकृतलाई राज्यले तीस वर्ष लगानी गरिरहेको भन्दै उद्देश्य प्राप्ति नहुने यस्तो खालको व्यवस्था हटाउनुपर्ने बताए।
‘प्रहरी महानिरीक्षकको कार्यकाल एक दुई जनाबाहेक कसैले पनि पूरा गरेका छैनन्,’ पाँच-छ महिना, एक-डेढ वर्षमै रिटायर्ड हुन्छन्,’ उनले भने, ‘प्रहरी महानिरीक्षकको कम्तीमा ६० वर्षसम्म पदमा रहनुपर्छ। तीन-चार वर्षसम्म नेतृत्व कायम रहनुपर्छ।’
आफूले पहिलेदेखि नै प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने पक्षमा रहेको बताए। ‘हाम्रो प्रदेशले प्रहरी चलाउन पाउने भएदेखि प्रहरीलाई निजामतीसरह ६० वर्ष उमेर हद तोकिदिन्थें,’ उनले भने।
कार्कीले प्रहरीमा वृहत्तर सुधारको आवश्यकता रहेको भन्दै कार्यालयहरू बन्नु मात्रै ठूलो कुरा नभएर कार्यसम्पादनमा पनि सुधार आउनुपर्ने बताए।
‘पहिले-पहिले प्रहरीका कार्यालय छिर्दा हल्लिन्थे, अहिले सुविधासम्पन्न भवन बनेका छन्, यही अनुसार काम पनि हुनुपर्छ,’ उनले भने।
कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नयाँ र अत्याधुनिक भवन बनाउन सहयोग पुर्याउने सबै पक्षलाई धन्यवाद दिँदै प्रहरीले गुणस्तरीय सेवा प्रदान गर्ने बताए।
१ नम्बर प्रदेश आन्तारिक मामिला तथा कानुन मन्त्रालयबाट बजेट विनियोजित भई कुल १९ करोड १४ लाख १ हजार ६ सय ६३ रुपैयाँको लागतमा जम्मा ७५ वटा कोठा भएको पाँच तले कार्यालय भवन निर्माण भएको हो।