काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे छलफल गरेका छन्। शनिबार बेलुका माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच झण्डै डेढ घण्टा राष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको स्रोतले जनाएको छ।
पछिल्लो समय कांग्रेस र माओवादी नेताहरुहरुको भेटघाट बाक्लिएको छ। बिहीबार कांग्रेस महामन्त्री गगन थापा र प्रधानमन्त्री प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएपछि पनि देउवाले प्रचण्डसँग छुट्टै छलफल गरेका थिए। उनीहरुबीच दुई घण्टाभन्दा बढी गम्भीर छलफल भएको धुम्बाराही स्रोत जनाएको छ।


उनीहरुको भेटमा राष्ट्रपतिको सम्भावित उमेदवारहरुको विषयमा छलफल भएको बालुवाटार स्रोतले बताएको छ। यद्यपी, उनीहरुले छलफल गरेका सम्भावित उमेदवारहरुको नाम भने स्रोतले खुलाउन चाहेन।
नेपाली कांग्रेसले आफूले भनेको व्यक्ति राष्ट्रपति हुनुपर्ने दावी गर्दै आएको छ। माओवादी केन्द्रले समेत कांग्रेसले दिने उमेदवारप्रति लचक हुने संकेत देखाएको छ। राष्ट्रपतिको विषयलाई लिएर कांग्रेस सभापति देउवाले गत साता एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए। देउवाले नेपालसँग राष्ट्रपतिमा कांग्रेसले उमेद्ववारी दिने र त्यसमा सहयोग गर्न आग्रह गरेका थिए।
एमालेको समर्थनमा गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड राष्ट्रपति निर्वाचनको विषयलाई लिएर कांग्रेससँग नजिकिएका छन्। प्रचण्डले वर्तमान सरकारलाई कांग्रेसको समेत समर्थन भएकाले राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति चयन गर्नुपर्ने बताउँदै आएका छन्। प्रधानमन्त्री मात्र होइन माओवादी केन्द्रका तर्फबाट सरकारमा गएका मन्त्रीहरुले समेत राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति बनाउनुपर्ने अभिव्यक्ति दिँदै आएका छन्। तर एमालेले आफूले सिफारिस गरेको व्यक्ति राष्ट्रपति बन्ने दावी गरेको छ।
माओवादी केन्द्रका महासचिव देव गुरुङले भने एमालेले अगाडि सारेको व्यक्तिमा राष्ट्रिय सहमति जुटाउन सकिने तर्क गर्दै आएका छन्। एमालेले सारेको व्यक्तिलाई माओवादी केन्द्रबाट समर्थन रहने बताउँदै गुरुङले कांग्रेस लगायतका दलबाट पनि सहमति जुटाएर अगाडि बढ्न सकियोस् भनेर प्रयास जारी भइरहेको धारणा राख्दै आएका छन्।
यता प्रचण्ड प्रधानमन्त्री बनेकै दिन एमालेले सिफारिस गरेको व्यक्ति राष्ट्रपति बन्ने विषयमा माओवादी केन्द्रसँग एक प्रकारको सम्झौता भइसकेको एमाले नेताहरुले दावी गरिरहेका छन्।
गत साता प्रधानमन्त्रीसँगको भेटमा समेत एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको विषयमा तलमाथि नहुने अडान राखेका थिए। शुक्रबार संसद बैठकबाटै बाहिरिदै गर्दा सञ्चारकर्मीसँग एमाले अध्यक्ष ओलीले एमालेले सिफारिस गरेको व्यक्ति राष्ट्रपति हुने बताएका थिए।
कांग्रेस र माओवादी केन्द्रका नेताहरुको निरन्तर भेटले एमाले भने झस्किएको छ। राष्ट्रपतिको विषयमा प्रधानमन्त्री प्रचण्ड कांग्रेससँग नजिकिएपछि वर्तमान सत्ता गठबन्धनको भविष्य समेत अन्योलमा पर्दै गएको राजनीतिक विश्लेषकहरुले दावी गर्न सुरु गरेका छन्।