काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको ठूलो दल नेपाली कांग्रेसले बिनासहमति प्रदेशसभा बैठक स्थगित भएपछि आपत्ति जनाएको छ । कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले कांग्रेससँग सहमति नै नगरी बिनाजानकारी सभामुखले बैठक सारेको भन्दै आपत्ति जनाए ।
मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत नपाउने अवस्था देखिएपछि उनको निर्देशनमा सभामुखले बैठक स्थगित गरेको शाहको आरोप छ । ‘बैठक सारिनुमा हाम्रो घोर आपत्ति छ,’ शाहले भने, ‘विश्वासको मत नपाइने अवस्था भएपछि यो सबै गरिएको हो ।’


नेता शाहले बैठक भोलि (बिहीबार) १ बजेका लागि बोलाइएकाले उनीहरूकै प्रस्तुतिका आधारमा कांग्रेस अगाडि बढ्ने बताए । ‘प्रदेशसभा बैठक भोलि फेरि बोलाइएको छ,’ उनले भने, ‘अब भोलि कसरी अगाडि बढ्ने भन्ने कुरा उनीहरूको प्रस्तुतिमा भर पर्छ ।’
सत्तागठबन्धनमा निर्णायक नागरिक उन्मुक्तिले विश्वासको मत दिनेबारे हालसम्म अनिर्णित बन्दा रावल नेतृत्वको सरकार संकटमा देखिएको छ ।