काठमाडौं । कतारमा कार्यरत नेपाली युवा रञ्जित कुमार पालले ८२ करोड रुपैयाँ जितेका छन्। उनले अबुधाबीमा आयोजित बिग टिकट र्याफल ड्रको सिरिज २४८ मा २ करोड ३० लाख दिराम अर्थात झण्डै ८२ करोड रुपैयाँको चिठ्ठा जितेका हुन्।
पालले जनवरी १६ मा खरिद गरेको चिठा नम्बर २३२९३६ मार्फत उक्त रकम जित्न सफल भएका हुन् । विगत सात वर्षदेखि कतारको राजधानी दोहामा मनी एक्सचेन्ज कम्पनीमा कार्यरत उनी उक्त रकम जितेको खबर प्राप्त गरेसँगै उत्साहित बनेका छन् । पाँच र १० वर्षका दुई छोराका बुबा पालले उक्त सम्पूर्ण रकम नेपालमा रहेका परिवारलाई पठाउने बताएका छन् ।
उनले भने, ‘म अत्यन्तै खुसी भएको छु। मै जितेको यो पैसा नेपाल फर्केर मेरो परिवारमा खर्च गर्नेछु ।’
उनले विगत १५ महिना देखि चिठ्ठा खरिद गर्दै आएको बताएका छन् । यस अघि दुबईमा कार वाशरको रुपमा कार्यरत नेपाली ३१ वर्षिय भरतले पनि २२ करोड रुपैयाँको चिठ्ठा जितेका थिए ।


