काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले)का नेता एवम् पूर्व–उपप्रधानमन्त्री भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन ‘महाअभियान’ चलाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
शनिबार काठमाडौंमा रतन भण्डारीद्वारा लिखित पुस्तक ‘नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी’ विमोचन कार्यक्रममा बोल्दै उनले नागरिकताजस्तो संवेदनशील विषयमा फसेका लामिछानेलाई फेरी गृहमन्त्री बनाउन खोजिएकोमा आपत्ति जनाएका हुन् ।
नेता रावलले वैदेशिक रोजगार कम्पनी खोलेकालाई श्रममन्त्री, निजी स्कुल संचालकलाई शिक्षामन्त्री बनाएर संघीय लोकतान्त्रिक गणतन्त्र र द्वारिकादेवी ठकुरानीजस्तो विरंगानाहरुको योगदानको अवमूल्यन गर्ने काम भएको बताए ।
‘आज मन्त्रीहरु हेराैँ त- जसको बैदेशिक रोजगार कम्पनी छ, उसलाई श्रममन्त्री । जसको निजी स्कुल एकदम महंगो छ, ऊ शिक्षामन्त्री । जसलाई नागरिकताजस्तो अत्यन्त सम्वेदनशील राष्ट्रियतासम्बन्धी विवाद छ छ, निजलाई खोजीखोजी त्यहीँ नागरिकता स्वच्छ बनाउन गृह मन्त्रालय ।
गृह मन्त्रालय भनेपछि त्यही चाहिन्छ भन्ने महाअभियान किन ?’ उनले भने, ‘के देशमा साँच्चै सुशासन आउन लागेको हो ? हामीले बहुदली व्यवस्था ल्यायौं । गणतन्त्र ल्यायौं । यसको अभिष्ट के थियो ? यत्रो मानिसहरुले रगत बगाए । आज हामी त्यही सिलसिलामा द्धारिकादेवी ठकुरानीको सम्झना गरिरहेका छौं । तर आम निर्वाचनको दोस्रो अभ्यास गर्दैगर्दा हामी समाचार माध्याममा पढछौं– फलानो मान्छे त ज्यान मुद्दामा पो लागेको रहेछ । फरार छ । प्रहरीले गिरफ्तार गर्नुपर्ने गृह मन्त्रालयले त विज्ञप्ती जारी गरेर मैले भनेको प्रहरीले मानेन भन्छ । अहिले पक्राउ परेर धनगढी गयो भनेर पनि हामी पढछौं ।’
उनले काँग्रेसले स्वतः पाउने प्रमुख प्रतिपक्षी दलको हैसियतका लागि संसद सचिवालयमा निवेदन दिएको देख्दा आफू छाँगाबाट खसेजस्तै भएको टिप्पणी समेत गरे ।सोही कार्यक्रममा काँग्रेस नेता एवम् पूर्वमन्त्री रमेश लेखकले द्वारिकादेवी ठकुरानीको योगदानकै कारण हाल संसदमा ३३ प्रतिशत महिलाहरुको प्रतिनिधित्व सुनिश्चित भएको बताए । उनले राजनीतिक रुपमा हिजो देखिएका समस्याहरुलाई हल गर्दै जानुपर्नेमा कुरामा आफ्नो पार्टी लागि परेको बताए ।


