
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धलाई बलियो बनाउन आग्रह गरेका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादवसँगको भेटमा उनले त्यस्तो आग्रह गरेका हुन् ।
यादव शनिबार ओलीलाई भेट्न निवास बालकोटमा पुगेका थिए । ओलीले जसपा अध्यक्ष यादवलाई सरकारमा सहभागी भएर अहिलेको गठबन्धन बलियो बनाउन आग्रह गरेको ओलीको सचिवालयले जानकारी दिएको छ ।


यसअघि निर्वाचनमा पनि मिलेर गएको र अब सरकारमा पनि मिलेर अगाडि बढ्नुपर्ने बताउँदै ओलीले यादवलाई सरकार गठनका क्रममा समस्या आउँदा सबैलाई मिलाएर लैजाने आश्वासन दिएका हुन् ।
जसपाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरे पनि सरकारमा सामेल भएको छैन । जसपाका लागि २ मन्त्रालय खाली राखिएको छ । तर जसपाले असन्तुष्टि जनाउँदै सरकारमा सहभागी भएको छैन । प्रतिनिधि सभामा जसपाका १२ जना सांसद छन् ।