लुम्बिनी । लुम्बिनी प्रदेशलाई खुला सिमा क्षेत्र, साना हतियारको बिगबिगी र निर्वाचन विरोधी समूहको प्रभावले आसन्न निर्वाचनका लागि भने संवेदनशील प्रदेशमा राखिएको छ । १२ जिल्ला रहेको लुम्बिनी प्रदेशमा प्रतिनिधि सभाका लागि २६ र प्रदेश सभाका लागि ५२ निर्वाचन क्षेत्र छन् ।
त्यसका लागि १ हजार ६ सय ५० मतदानस्थल बनाइएका छन् । तिनमा ४ सय १० निर्वाचन स्थल अतिसंवेदनशील सुचीमा राखिएको छ । ७ सय १४ संवेदनशीलताको सुचीमा छन् । हिमाल, पहाड र तराई मिलेर बनेको यो प्रदेश कतिपय भौगोलिक विकटताका कारण पनि संवेदनशील छन् ।
निर्वाचन सुरक्षाकालागि लुम्बिनीमा १० हजार २ सय ९ सुरक्षाकर्मी खट्ने छन् । १८ हजार ६ सय म्यादी खटाइएको छ । प्रदेशमा निर्वाचनलाई शान्ति र निर्भययुक्त बनाउन संवेदनशील क्षेत्रमा थप सुरक्षा संवेदनशीलता अपनाउने र जनशक्ति प्रयोग गर्ने तयारी रहेको लुम्बिनी प्रदेश प्रहरी प्रमुख नलप्रसाद उपाध्यायले बताउनुभयो ।लुम्बिनी प्रदेशका तराईका ६ जिल्ला भारतीय सीमासंग जोडिएका छन् ।
यहां खुला सिमामात्र होइन वल्लोपल्लो खेतको कान्ला र घरका बलेनीले सिमा छुट्याएका समेत धेरै क्षेत्र छन् । सिमावारी मतदान प्रभावीत पारेर सिमापारिबाट आएर मतदान प्रभावीत पार्ने समस्या सबैभन्दा ठूलो चुनौति रहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतकुमार पाण्डेयले बताउनुभयो ।
लुम्बिनी प्रदेशमा नेत्रविक्रम चन्द नेतृत्वको माओवादी लगायत निर्वाचन विरोधी समूहको पनि प्रभाव छ । जसले एकातिर नागरिकलाई मतदान प्रक्रियामा जान रोक्ने र अर्कोतर्फ निर्वाचन विरुद्ध त्रास र अफवाह फैलाउने काम गर्न सक्ने सुरक्षा अधिकारीहरुको आंकलन छ ।
यसैमाथि विगतमा साना हतियार र विष्पोटक पदार्थको बिगबिगी समेत रहेकाले प्रदेशस्तरमा सुरक्षा कमाण्ड पोष्ट निर्वाचन सेल गठन गरेर मतदानस्थल, मतदानकेन्द्र र मतगणना क्षेत्रसम्मको छुट्टाछुट्टै सुरक्षा योजना बनाइएको छ ।


