काठमाडौँ । आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन १० दिन मात्रै बाँकी छ । एकातिर देशभर निर्वाचनको प्रचारप्रसार र चुनावी सभा व्यापक रुपमा भइरहेका छन् भने अर्कोतर्फ नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत केही समूहले निर्वाचन विथोल्ने भन्दै आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेका छन् ।

सम्भावित चुनौतीलाई मध्यनजर गर्दै निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सुरक्षाको प्रमुख जिम्मेवारी पाएको नेपाल प्रहरीले आवश्यक सुरक्षा रणनीति बनाइरहेको छ । आफ्ना जनप्रतिनिधि छान्ने जनताको लोकतान्त्रिक अधिकारलाई कार्यान्वयन गराउन शान्ति–सुरक्षाको दृष्टिकोणबाट कुनै कसर बाँकी नराख्ने गरी प्रहरीले तयारी गरिरहेको छ ।


हरेक निर्वाचन क्षेत्रमा लागू गर्ने गरी प्रहरीले केन्द्रीय सुरक्षा नीति बनाएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले मातहतका सुरक्षा निकाय र प्रहरी अधिकारीहरुलाई निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने अभिभारालाई सफलतापूर्वक निर्वाह गर्ने गरी खटिन आवश्यक निर्देशन दिइसकेका छन् ।
डीआईजी टेकप्रसाद राई : नेपाल प्रहरीका प्रवक्ता

चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गर्न कटिबद्ध रहेका नेपाल प्रहरीले जनाएको छ । ढुक्कसँग चुनावमा मत दिने वातावरण निर्माणमा नचुक्ने गरी सुरक्षा योजना बनाएको जनाइएको छ ।
विगतमा सुरक्षाले नसमेटेको क्षेत्रमा समेत अहिले प्रहरी परिचालित छ । अस्थायी चौकी खडा गरेरै निगरानी बढाइएको छ । सबै आवश्यक क्षेत्रमा म्यादी प्रहरी पनि परिचालित छन् ।
अलिकति समस्या उम्मेदवार र दलका प्रतिनिधिबीचमा हुने विवादहरु नै रहेको प्रहरीको निष्कर्ष छ । विगत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा त्यही भएको थियो । त्यसमा केही घटना भएको छ, त्यो कसरी भयो, सुरक्षा कहाँ चुक्यो, त्यसबाट पाठ लिएर अहिलेको सुरक्षा योजना बनाइएको प्रहरी प्रवक्ता राईले जानकारी दिनुभयो ।
प्रदेशगत रुपमा भेटेर छलफल गर्ने र सुरक्षाकर्मीको मनोबल बढाउने काम नेपाल प्रहरीका उच्च अधिकारीहरुबाट भइरहेको तथा आवश्यक निर्देशन दिइएको पनि उहाँले बताउनुभयो ।
प्रवक्ता राईले भन्नुभयो, “हरेक निर्वाचनमा जहिले पनि सुरक्षाको चुनौती हुन्छ नै, तर चुनाव बिथोलिने अवस्था हुन्न, द्वन्द्वकालमा त चुनाव भएको थियो अहिले त सबै राजनीतिक पार्टीहरु चुनाव गराउन एक मत हुनुहुन्छ भने योपटक सुरक्षा चुनौती छ भन्न मिल्दैन ।”
नेपाल प्रहरी कहीँ कतै आकस्मिक घटना जहिले पनि हुनसक्छ भन्ने आङ्कलन गरेर त्यसको व्यवस्थापनका लागि नेपाल प्रहरी तयारीका साथ रहेको जनाइएको छ । अहिले आचारसंहिता पालनामा निर्वाचन आयोग आफैँ साक्रियताका साथ लागेकाले पनि थप सहज भएको प्रहरीको निष्कर्ष छ ।
यसपटकको निर्वाचनमा नेपाल प्रहीतर्फ ७१ हजार ६ सय ९३ जनशक्ति खटाइएको छ । त्यसका साथै एक लाख १५ हजार म्यादी प्रहरी छन् । काठमाडौँबाट यही २५ गतेसम्ममा झन्डै १२ हजार थप मद्दत विभिन्न प्रदेशमा पु¥याइन लागिएको छ ।
कस्तो छ ७ वटै प्रदेशमा नेपाल प्रहरीको तयारी र चुनौती ?

डीआईजी सुदीप गिरी : प्रहरी प्रमुख, प्रदेश नं. १

गत कार्तिक १९ गते प्रदेश सुरक्षा गोष्ठी पनि सम्पन्न भयो । जसमा प्रदेश १ का १४ जना नै प्रमुख जिल्ला अधिकारीहरु लगायतसँग छलफल गर्यौं । केन्द्रबाट पनि हामीलाई निर्देशन प्राप्त भएको छ । मजबुत निर्वाचन सुरक्षा सम्बन्धी तयारी गरेर कार्यान्वयन गर्ने भन्ने निष्कर्ष निकालिएको छ ।

भौगोलिक हिसाबले १ नं. प्रदेशमा हिमाली, पहाडी र तराईका जिल्लाहरु समेत रहेका छन् । यस्तो हुँदा सुरक्षा चुनौतीहरु पनि थपिने गर्दछ । हिमाली जिल्लामा भौगोलिक अवस्था र विकटताका कारणले मतपेटिका ढुवानीमा चुनौतीहरु थपिने हुन्छन् । त्यसैगरी तराइका जिल्लाहरु सीमावर्ती हुँदा विभिन्न गतिविधि हुने चुनौती रहन्छ । त्यसैगरी जनघनत्व पनि बढी भएकाले सुरक्षा सतर्कता बढी अपनाउनुपर्ने देखिन्छ ।


मतदान स्थलको सुरक्षा र मतदाताको सुरक्षा गर्नु पनि प्रहरीकै दायित्व भएकाले चुनौतीहरु धेरै छन् । यसलाई हल गर्न सुरक्षा फोर्सको सही परिचालन गर्नु अपरिहार्य हुन आउँछ । त्यसैकारण प्रहरीको संख्या पनि थपिएको छ । म्यादी प्रहरीको व्यवस्था पनि भएको छ । केन्द्र हेडक्वाटरबाट पनि सुरक्षा प्रबन्धका लागि चाहिने विभिन्न सामग्रीहरु आईरहेका छन् । निर्वाचनका लागि हामीले राम्रो तयारी गरिसकेका छौं । निर्वाचन स्वतन्त्र निष्पक्ष र भयरहित रुपमा सफल पार्न हामी सक्षम छौं । हाम्रो मनोबल उच्च छ ।
चुनाव बहिष्कार गर्ने भन्ने केही समूहहरु पनि छन् । उनीहरु जसरी प्रस्तुत हुन्छन् त्यही रुपमा हाम्रो सुरक्षा रणनीति लागू हुन्छ । पहिलेका निर्वाचनहरुमा विष्फोट लगायतका काममा सक्रिय समूह अहिले बाहिर आएको अवस्था भने छैन । यसरी १ नम्बर प्रदेशको अबस्था सामान्य छ । सुरक्षाका दृष्टिले यतिबेला चुनाव गराउन प्रहरी सक्षम छ ।
विभिन्न जिल्लाको सुरक्षा अवस्थाकाबारेमा जानकारी लिने र अनुगमनको काम पनि सक्रियताका साथ अघि बढिरहेको छ । प्रमुख जिल्ला अधिकारीहरुबाट चुनौतीहरुका बारेमा जानकारी प्राप्त भएको छ । निर्वाचन अधिकृत, मतदान स्थलका अधिकृतहरुसँग पनि सल्लाह भएको छ । कुनै भइपरि आएको सन्दर्भमा ईटहरी पृतना कार्यालयमा हाम्रो कमाण्ड पोष्ट रहनेछ । हामी त्यहाँबाट आदेश दिनेदेखि सबै सुरक्षा प्रबन्धको निगरानी गरिरहन्छौं । एउटा हेलिकप्टर तयारी अवस्थामा राखेका छौं ।
हामीले योभन्दा पनि विषम परिस्थितिमा निर्वाचन सम्पन्न गरिसकेका कारण पनि प्रहरीको मनोबल उच्च छ । फेरि निर्वाचन सम्पन्न गराउने कुरा खाली सुरक्षाकर्मीले मात्र गर्ने नभएर कर्मचारीदेखि लिएर राजनीतिक दलहरु, निर्वाचन अधिकृत, जनता सबैको उत्साह र मनोबलले हुने कुरा हो । त्यस कारण पनि हामी सुरक्षा प्रबन्धका लागि उत्साहपूर्वक लागिपरेका छौं । समग्रमा निर्वाचन सम्पन्न गराउन हाम्रो तयारी पुरा भएको अवस्था छ ।
डीआईजी मसउद आलम खाँ : प्रहरी प्रमुख, मधेश प्रदेश

गत कार्तिक १६ गते प्रदेश सुरक्षा गोष्ठी पनि सम्पन्न भयो । जसमा मधेस प्रदेश का ८ वटै प्रमुख जिल्ला अधिकारीहरु लगायतसँग छलफल गर्यौं । केन्द्रबाट पनि हामीलाई निर्देशन प्राप्त भएको छ । मजबुत निर्वाचन सुरक्षा सम्बन्धी तयारी गरेर कार्यान्वयन गर्ने भन्ने निष्कर्ष निकालिएको छ ।




मधेश प्रदेशमा निर्वाचन सुरक्षाका कामहरु राम्ररी भइरहेको अवस्था छ । जिल्लाका मतदान स्थलहरुमा सुरक्षाकर्मीहरुलाई आआफ्नो कार्यक्षेत्रमा खटाउने काम भईरहेको छ । मतदान स्थलको निरीक्षण र सुरक्षा चुनौतीका बारेमा जानकारी लिने काम भएको छ । केन्द्रीय सुरक्षा नीति अनुसार नै हामीले सुरक्षा प्रबन्ध मिलाईरहेका छौं ।
केहि परेको अवस्थामा त्यसको सामना र समाधान गर्न सक्नेगरी फोर्सलाई हामीले तयार गरेका छौं । स्थानीय चुनाव लगायत विगतका चुनावहरुको पनि अनुभवका आधारमा सुरक्षा प्रबन्धलाई चुस्त दुरुस्त राख्न प्रहरीहरुको मनोबल उच्च छ ।
मधेश प्रदेशका चुनावलाई पहिले मान्छेले संवेदनशील रुपमा पनि लिने गरेका थिए । तर अहिले चेतनाको विकास भएको छ भन्ने पनि लागेको छ । सुरक्षा चुनौती नै छैन भनेर प्रहरी निदाएर बस्ने कुरा पनि होइन । केहि घटनाहरु हुनसक्छन् भनेर नै हामीले सुरक्षा दिनुपरेको हो ।
सीमावर्ती क्षेत्र भएकाले पनि केहि चुनौतीहरु अवश्य थपिन्छन् । तर पनि प्रहरीले सुरक्षा नै दिन नसक्ने खालका सुरक्षा चुनौती आउने देखिँदैन । अन्य सुरक्षा निकायको पनि हामीलाई सहयोग रहेको अवस्था छ ।
निर्वाचन बिथोल्ने भन्ने समूहहरु बाहिर देखिएका छैनन् । उनीहरुबाट हुने समस्या समाधान गर्दै सुरक्षा दिन पनि हामी तयार छौं । पारदर्शी र भयरहित वातवरणमा निर्वाचन सम्पन्न गर्ने गरी हाम्रो तयारी छ । मधेश प्रदेशमा निर्वाचन सुरक्षा दिन प्रहरी सक्षम छ ।
डीआईजी किरण बज्राचार्य : प्रहरी प्रमुख, बागमती प्रदेश

अहिले केन्द्रले नै निर्वाचन सुरक्षा योजना बनाइदिएकोले हामीलाई सुरक्षा व्यवस्था सहज बनाउन अझै सजिलो भएको छ । प्रदेश अन्र्तगतका जिल्लाहरुका मतदान स्थलहरु र त्यहाँको राजनीतिक, भौगोलिक अवस्थाका बारेमा हामी जानकार छौं । प्रहरीहरुलाई त्यही अनुरुप हामीले खटाउने हो ।
बागमती प्रदेश अन्तर्गत काठमाडौं उपत्यकाका ३ जिल्ला बाहेकका जिल्लाहरु मेरो डोमेनमा पर्न आउँछन् । करीब १४ हजार म्यादी प्रहरीहरुलाई भर्ना गराएर तिनीहरुलाई तालिमसहित कार्यस्थलमा खटाइएको अवस्था छ ।
प्रदेश प्रहरीले जिल्लाजिल्लामा पठाउनुपर्ने मद्दतहरु धेरैजसोमा पठाइसकेका छौं । आवश्यक हातहतियार र सञ्चार साधनहरु हामीले जिल्लाहरुमा वितरण गरिसकेको अवस्था छ । मतदान स्थल र सदरमुकामको दुरी र रुट हामीले आइडेन्टीफाइ गरिसकेको अवस्था छ ।
गृह मन्त्रालय, निर्वाचन आयोग, प्रहरी प्रधान कार्यालयबाट पाएको गाइडलाइनलाई विचार गर्दै प्रहरी कर्मचारीहरुलाई आचारसंहिता र सुरक्षा व्यवस्थाको बारेमा अनुशिक्षण दिने काम सकिएको छ । म्यादी प्रहरीको हकमा पनि यही कुरा लागू भएको अवस्था छ ।
मतदानस्थलमा खटिने कमाण्डरहरुलाई पनि पत्रमार्फत् आचारसंहितको जानकारी दिने काम भएको छ । प्रहरी अधिकृतदेखि जवानसम्म र म्यादी प्रहरीहरु समेतलाई राखी निर्वाचन सुरक्षा र आचारसंहिताका बारेमा प्रदेशबाट नै अनुशिक्षण दिने काम पनि भइरहेको छ ।
जिल्ला समन्वय समितिसँग के कसरी निर्वाचनलाई सफल बनाउन सकिन्छ भन्नेबारे म आफैं उपस्थित भएर प्रदेश प्रहरीले छलफल गरिसकेको अवस्था छ । बाँकी जिल्लाहरुमा पनि यो काम हुने नै छ ।
सुरक्षा निकायका अन्य अंगहरु, जिल्ला प्रहरी कार्यालयका प्रमुखहरु, निर्वाचन अधिकृतहरुसँग पनि भेटेर वा फोन गरेर निर्वाचन के कसरी हुँदैछ प्रदेश प्रहरीले कस्तो भूमिका निभाउनु आवश्यक छ भनेर जानकारी लिइरहेको छु ।
निर्वाचन बहिष्कार गर्ने भन्ने सन्दर्भमा बागमती प्रदेशमा अहिलेसम्म चार वटा समूहहरु देखा परेका छन् । उनीहरुको भित्तेलेखन र पर्चा पम्प्लेट मात्र पाइएकोले सक्रिय रुपमा त्यस्तो हुन सक्ने अवस्था देखिएको छैन । तैपनि हामी त्यसकाप्रति गम्भीर छौं । सादा पोसाकका प्रहरी पनि हामीले परिचालन गरेका कारण त्यस्तो घटना होला भन्ने हामीलाई लाग्दैन । प्रहरी प्रधान कार्यालय, प्रदेश र जिल्लाको इन्टेलिजेन्स टिमले यी सूचनाहरु र त्यस्ता योजनाहरुका बारेमा मिहिन अध्ययन गरिरहेको छ ।
प्रहरीलाई निर्वाचन भयरहित रुपमा सम्पन्न गर्न हातहतियारको जोहो भएको छ । सवारी साधनहरु केहि भाडामा लिनुपर्ने पनि हुनसक्छ । फोर्स, जनशक्ति, तालिम, व्रिफिङ सबै किसिमले बलियो भएर बसेकाले हामी उच्च मनोबलका साथ निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सक्षम छौं ।
पार्टीहरुकाबीच कार्यक्रमका दौरान विवाद र झगडा नहोस् र शान्ति व्यवस्था नखल्बलियोस् भनेर पनि हामीले सचेत भएर काम गरिरहेका छौं । मेरो प्रदेश अन्तर्गत अहिलेसम्म त्यस्तो भएको पनि छैन ।
मतपेटिका ल्याउन लैजान गाह्रो हुने भौगोलिक अवस्थाका मतदान केन्द्रमा केन्द्रले हेलिकप्टरको व्यवस्था गरिदिए राम्रो हुने थियो । त्यसो भएन भने पनि हामी पैदल नै ल्याएर मोटरबाटो भेटिने स्थानबाट मतपेटिका ल्याउन र सुरक्षा दिन समेत सक्षम नै छौं । यसरी सम्पूर्ण रुपमा सुरक्षा प्रबन्धलाई कार्यान्वयन गर्न प्रहरी अब्बल रुपमा तयार छ ।
डीआईजी रामदत्त जोशी : प्रहरी प्रमुख, गण्डकी प्रदेश

केन्द्रबाट पनि हामीलाई निर्देशन प्राप्त भएको छ । मजबुत निर्वाचन सुरक्षा सम्बन्धी तयारी गरेर कार्यान्वयन गर्ने भन्ने निष्कर्ष निकालिएको छ ।
निर्वाचन सुरक्षाका सन्दर्भमा कुरा गर्नुपर्दा गृहमन्त्रालयबाट नै केन्द्रीय सुरक्षा योजना २०७९ आएको छ । त्यसैअनुरुप नै तयारी गरेर कार्यान्वयनको चरणमा हामी छौं । म्यादी प्रहरीलाई भर्ना गर्ने, तालिम दिने र कार्य स्थलमा खटाउने काम पनि भइसकेको छ ।
नेपाल प्रहरीका कर्मचारीहरुलाई पनि निर्वाचन अनुशिक्षण तालिम दिइसकेको अवस्था छ । जिल्लाहरुमा अपुग जनशक्ति प्रहरी हेडक्वाटर र प्रदेशबाट थप मद्धत दिने प्रक्रियामा लागेका छौं । केहि दिनमा नै सबै जिल्लाहरुमा सबै जनशक्तिको पहुँच भइसकेको हुनेछ ।
राजनीतिक दलहरु र उम्मेदवारहरुले चुनाव प्रचार गर्ने क्रममा सुरक्षा दिन सुरक्षाकर्मी खटाउने काम भइसकेको छ । अहिलेसम्मको अवस्था शान्तिपूर्ण र भयरहित नै देखिएको छ । निर्वाचनको दिनका लागि भनेर छुट्टै सुरक्षा योजना छ । मतदान स्थलको सुरक्षाका सन्दर्भमा निर्वाचन आयोग, सुरक्षा दिने अन्य निकायहरुसँगको समन्वयमा एकिकृत रुपमा सुरक्षा प्रबन्ध मिलाईएको छ । यसै सन्दर्भमा नेपाल प्रहरीसँगै अन्य सुरक्षा निकाय नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान लगायतका सुरक्षा निकाय र जिल्ला प्रशासनहरुसँग पनि समन्वय गर्ने काम भएको छ ।
संविधान विरोधी, चुनाव विरोधी, बहिष्कारवादी समूहरुलाई निष्क्रिय पार्न कन्ट्रोलिङ, ट्र्यापिङ, चेकिङ र गस्तीहरु सञ्चालन भइरहेकोले हामी सुरक्षा प्रबन्धमा सक्षम रहेका छौं । प्रहरीहरुलाई पनि यसपालिको चुनावमा पहिलेभन्दा केहि बढी सुविधा दिइएको छ । त्यसकारण पनि प्रहरीहरुको मनोबल उच्च रहेको छ । म्यादी प्रहरीहरुले पनि खटिएकै स्थानकै रासन भत्ता खान पाउने भएका छन् । यसरी दुर्गम जिल्लाहरुमा अलि बढी रासनभत्ता पाउने भएका छन् । यसरी पनि काममा उर्जा मिल्ने वातावरण छ ।
यसरी उच्च मनोबलका साथ निर्वाचन सुरक्षामा नेपाल प्रहरी, म्यादी प्रहरी खटिईरहेको अवस्था छ । अन्य सुरक्षा निकायहरु, निर्वाचन आयोग, निर्वाचनमा सहभागि हुने राजनीतिक दल तथा उम्मेदवारहरुसँग निरन्तर समन्वयमा रही उच्च सतर्कताका साथ कडा सुरक्षा ब्यवस्था मिलाईएको छ ।
डीआईजी नलप्रसाद उपाध्याय : प्रहरी प्रमुख, लुम्बिनी प्रदेश

गत कार्तिक १६ गते प्रदेश सुरक्षा गोष्ठी पनि सम्पन्न भयो । जसमा प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख सशस्त्र प्रहरी,नेपाली सेना र अनुसन्धानका अधिकारीहरू सँग छलफल गर्यौं । केन्द्रबाट पनि हामीलाई निर्देशन प्राप्त भएको छ । मजबुत निर्वाचन सुरक्षा सम्बन्धी तयारी गरेर कार्यान्वयन गर्ने भन्ने निष्कर्ष निकालिएको छ ।

निर्वाचनमा नेपाल प्रहरी फ्रन्ट लाइनमा सुरक्षाका लागि खटिने भएको हुँदा हामीले सबै प्रहरी कर्मचारीहरु र म्यादी प्रहरीहरुलाई निर्वाचन सुरक्षा सम्बन्धी ओरेन्टेसन दिइसकेका छौं । लुम्बिनी प्रदेशमा निर्वाचन सुरक्षालाई चाहिने हात हतियार पनि हामीले ल्याइसकेका छौं । सञ्चार व्यवस्थापनका काम सेटलाइट र मोबाइल फोनहरुबाट हुनसक्ने गरी मिलाइएको अवस्था छ ।
हरेक मतदान स्थलमा खटेर जाने प्रहरी कमाण्डरको अन्य सुरक्षा निकायका कमाण्डरहरुसँग सहकार्य र समन्वयको काम पनि सकिएको छ । सीमा नाकाहरु ७२ घण्टाको लागि बन्द गर्ने कुराको निर्णय केहि जिल्लाले लिइसकेका छन् भने केहिले लिने क्रममा छन् । सूचना संकलन र सुरक्षा चुनौतीका विषयमा प्रहरीलाई चनाखो पार्ने काम भइसकेको छ ।
विष्फोटक पदार्थहरु राख्नसक्ने स्थानहरु र त्यस्तो भेटिएमा कसरी सुरक्षा जिम्मेवारी लिने भन्नेबारेमा नेपाल प्रहरी र म्यादी प्रहरी समेतलाई जानकारी गराइएको अवस्था छ ।
ठाउँठाउँमा चेक प्वाइन्टहरु बनाइएको छ । निर्वाचन बिथोल्ने, निर्वाचनमा अवाञ्चित क्रियाकलाप गर्नेहरुलाई निर्वाचन आचारसंहिताले पनि कारबाहीको दायरामा ल्याउने भनेकाले त्यस्तो गतिविधि नेपाल प्रहरीलाई मान्य हुँदैन, हामी तुरुन्तै कारबाही गर्छौं । निर्वाचन विरोधी समूहहरु जस्तो रुपमा प्रस्तुत हुन्छन् त्यसैगरी सुरक्षा सतर्कता अपनाएर बसेका छौं ।
निर्वाचन सुरक्षाका हिसाबले मतदान स्थलहरुलाई अतिसंवेदनशील, संवेदनशील, सामान्य गरी तीन भागमा बाँढ्ने काम भएको छ । त्यस्तो स्थानमा प्रहरीको म्यानपावर पनि त्यसैगरी खटाइने व्यवस्था मिलाएका छौं । यसकारण लुम्बिनी प्रदेशको सुरक्षा व्यवस्था उच्च छ र प्रहरीको मनोबल पनि राम्रो छ ।
डीआईजी पोषराज पोखरेल : प्रहरी प्रमुख, कर्णाली प्रदेश

कार्तिक २२ गते प्रदेश सुरक्षा गोष्ठी पनि सम्पन्न भयो । जसमा प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा गृह सचिव विनोदप्रकाश सिंह, कर्णाली प्रदेशका प्रमुख सचिव गोपीकृष्ण खनाल, नेपाली सेनाका रथी सरोज प्रताप राणा, नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुलराज थापा, गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल, कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव दिनेश सागर भुसालसँगै कर्णाली प्रदेशका सुरक्षा निकायका प्रमुख एवं प्रदेशका दश वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सहभागिता रहेको थियो ।


केन्द्रीय सुरक्षा नीति अनुसार नै हामीले कर्णाली प्रदेशका दशवटै जिल्लामा प्रहरीहरु र म्यादी प्रहरीहरु खटाइसकेका छौं । बाहिरबाट आउने फोर्सको मद्दत पनि २५ गतेभित्र सबै मतदान स्थल सम्म पुगिसक्नेछन् ।
कर्णाली प्रदेशमा यतिबेला ४ हजार ५ सयभन्दा बढी नेपाल प्रहरीका कर्मचारीहरु निर्वाचनमा खटिएका छन् । ९ हजार ७८ जना म्यादी प्रहरीहरु खटिएका छन् । उनीहरु सबै मतदान स्थलमा पुग्ने क्रममा छन् । नजिक नजिकका प्रहरी युनिटहरुमा प्रहरीहरु पुगेर खटिई सकेका छन् ।
अहिले हामी उच्च मनोबलका साथमा सुरक्षा बन्दोबस्त मिलाईरहेका छौं । भर्खरै सम्पन्न स्थानीय निकायको निर्वाचनले पनि हामीलाई काम गर्ने अनुभब सिकाएको छ । अनुभवी र दक्ष जनशक्तिका कारण कर्णाली प्रदेशमा निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरण सम्पन्न गर्न प्रहरी सक्षम र उच्च तयारीका साथ तम्तयार छ ।
कर्णाली प्रदेशमा पनि निर्वाचन बिथोल्ने भनेर चार वटा समूहहरुको सक्रियता देखिएको छ । कुनकुन समूह हुन् र कहाँ रहेका छन् भनेर हामीले सूचना लिईरहेका छौं, अनुसन्धान गरिरहेका छौं र केहीलाई निगरानीमा पनि राखिसकेका छौं । त्यस्ता समूहहरुबाट कुनै असर पुग्ने स्थिती छैन, त्यसकारण सहज रुपमा बिना अवरोध शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्नका लागि सुरक्षा दिन नेपाल प्रहरी सक्षम छ ।
डीआईजी मोहनकुमार आचार्य : प्रहरी प्रमुख, सुदूरपश्चिम प्रदेश

कार्तिक २३ गते प्रदेश सुरक्षा गोष्ठी पनि सम्पन्न भयो ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्नु भएको थियो । गृहसचिव विनोदप्रकाश सिंहको अध्यक्षतामा जारी गोष्ठीमा सबै तहका सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारीलगायतको सहभागिता थियो ।

सुदूरपश्चिम प्रदेशमा नौ वटा जिल्लाहरु रहेका छन् । ३ वटा हिमाली जिल्ला, ४ वटा पहाडी जिल्ला र २ वटा तराइका जिल्लाहरुमा हामीले निर्वाचन सम्पन्न गर्नुपर्नेछ । यी जिल्लाहरुमा निर्वाचनका लागि मतदान स्थलहरुमा ६ हजार तीन सय नेपाल प्रहरी र ११ हजार ६ सय म्यादी प्रहरी खटाउने ब्यवस्था मिलाएका छौं ।
विकट स्थानहरुमा हेलिकप्टरबाट २६ वटा मतदान स्थलसम्म मतपेटिका लैजाने र ल्याउने व्यवस्था गरेका छौं । दार्चुलाको अपी हिमाल गाउँपालिका र बझाङको सैपाल गाउँपालिकामा बाटोको व्यवस्था नभएकाले मतपेटिका यसरी लैजानुपर्ने भएको हो । स्थानीय निर्वाचनमा चाँहि त्यहीँ नै मतगणना गरिने भएकाले यस्तो गर्नु परेको थिएन । अहिल ति क्षेत्रहरुबाट हेलिकप्टरका माध्यमबाट मतपेटिका लैजाने ल्याउने प्रबन्ध मिलाईएको छ ।
यहाँ अतिसंवेदनशील ३५२, संवेदनशील ४०४, र सामान्य ४०५ मतदान स्थल रहेका छन् । यो हामीले भौगोलिक आधारमा छुट्याएको मात्र हो । विशेष परिस्थितिमा त सामान्य पनि संवेदनशील हुनसक्छ । त्यसकारण पनि हामी सुरक्षा प्रबन्धका लागि सचेत छौं । केन्द्रीय सुरक्षा नीति अनुसार केन्द्रले खटाएको र निर्देशन भएको सुरक्षा प्रबन्ध अनुसार नै हामी काम गर्नेछौं । यस्तै रिजर्भमा राखिएको फोर्सलाई जुन जिल्ला अतिसंवेदनशील देखिन्छ त्यो स्थानमा हामी बाँडफाँड गर्नेछौं । केन्द्रले बनाएको निर्देशनको पालना गर्दै प्रदेशको आन्तरिक रणनीति समेत तयार गरेर शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न हामी तयार छौं ।
यस्तै निर्वाचन बिथोल्ने भन्ने समूहहरुका हकमा भने कुन रुपमा उनीहरु बाहिर आउँछन् हामीले त्यसैअनुरुपको रणनीति र कारबाही गर्नेगरी तयारी गरेका छौं ।
भौगोलिक विकटताका कारणले मतपेटिका ढुवानीमा केहि चुनौती हुन सक्छ, त्यसका लागि मतपेटिका जोगाउने, त्यसको सुरक्षा गर्ने सन्दर्भमा हामी संबेदनशील बनेर सहज ब्यवस्थापनमा लाग्नेछौं ।
स्थानीय निर्वाचन पनि हामीले सम्पन्न गरिसकेको कारण त्यसबाट अनुभवहरु पाएका छौं । विभिन्न समस्याहरु आउलान् भनेर नै प्रहरी जनशक्तिको सही ब्यवस्थापन गरेका छौं । कतिपय मतदान स्थलमा पुग्न मोटरबाटो नभए पनि एक दुई घण्टासम्म हिँडेर मतपेटिका गाडी भएको स्थानसम्म ल्याउनुपर्ने पनि हुन्छ । त्यसको लागि हामीले प्रहरीहरुलाई तयार पारिसकेका छौं । धेरै टाढाका मतदानस्थलबाट भने हेलिकप्टरमा नै मतपेटिका ल्याइने हुँदा सुरक्षा प्रबन्ध राम्रो छ ।
मँसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जिम्मेवारी पुरा गर्न प्रहरीको मनोबल उच्च छ । सीमित श्रोत र साधनका बाबजुत पनि चुनावमा शान्ति सुरक्षा दिन सक्षम छौं । भयरहित तवरले ढुक्कसँग उच्च सुरक्षा प्रबन्धका साथ निर्वाचन सम्पन्न हुन्छ ।