निर्वाचनका लागि सुरक्षा दिन नेपाल प्रहरी सक्षम : महानिरिक्षक सिंह

काठमाडौं । नेपाल प्रहरीका महानिरिक्षक धिरज प्रताप सिंहले निर्वाचनका लागि आवश्यक सुरक्षा दिन नेपाल प्रहरी सक्षम रहेको बताएका छन् ।

नेपाल प्रहरीका प्रहरी प्रमुख आईजिपी धिरज प्रताप सिंहले ७ वटै प्रदेश प्रहरी प्रमुखहरुलाई निर्भय, निर्धक्क र उच्च मनोबलका साथ दायित्व निर्वाह गर्न निर्देशन दिएका छन् । प्रहरी महानिरीक्षक सिंहले प्रहरी कर्मचारीहरुलाई जस्तोसुकै परिस्थितिको सामना गर्न राष्ट्रलाई शिरमा राखेर अगाडि बढ्न निर्देशन दिएका हुन् ।

नेपाल प्रहरीका प्रहरी प्रमुख आईजिपी धिरज प्रताप सिंहले ७ वटै प्रदेश प्रहरी प्रमुखहरुलाई निर्भय, निर्धक्क र उच्च मनोबलका साथ दायित्व निर्वाह गर्न निर्देशन दिएका छन् । प्रहरी महानिरीक्षक सिंहले प्रहरी कर्मचारीहरुलाई जस्तोसुकै परिस्थितिको सामना गर्न राष्ट्रलाई शिरमा राखेर अगाडि बढ्न निर्देशन दिएका हुन् ।

आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने लगायतका दायित्व निर्वाहको साथै जस्तोसुकै परिस्थितिको सामना गर्न राष्ट्रलाई शिरमा राखेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

एकातिर देशभर निर्वाचनको प्रचारप्रसार र चुनावी सभा व्यापक रुपमा भइरहेका छन् भने अर्कोतर्फ नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत केही समूहले निर्वाचन विथोल्ने भन्दै आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेका छन् ।

सम्भावित चुनौतीलाई मध्यनजर गर्दै निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सुरक्षाको प्रमुख जिम्मेवारी पाएको नेपाल प्रहरीले आवश्यक सुरक्षा रणनीति बनाइरहेको छ । आफ्ना जनप्रतिनिधि छान्ने जनताको लोकतान्त्रिक अधिकारलाई कार्यान्वयन गराउन शान्ति–सुरक्षाको दृष्टिकोणबाट कुनै कसर बाँकी नराख्ने गरी प्रहरीले तयारी गरिरहेको छ ।

हरेक निर्वाचन क्षेत्रमा लागू गर्ने गरी प्रहरीले केन्द्रीय सुरक्षा नीति बनाएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले मातहतका सुरक्षा निकाय र प्रहरी अधिकारीहरुलाई निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने अभिभारालाई सफलतापूर्वक निर्वाह गर्ने गरी खटिन आवश्यक निर्देशन दिइसकेका छन् ।

डीआईजी टेकप्रसाद राई  : नेपाल प्रहरीका प्रवक्ता

चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गर्न कटिबद्ध रहेका नेपाल प्रहरीले जनाएको छ । ढुक्कसँग चुनावमा मत दिने वातावरण निर्माणमा नचुक्ने गरी सुरक्षा योजना बनाएको जनाइएको छ ।

विगतमा सुरक्षाले नसमेटेको क्षेत्रमा समेत अहिले प्रहरी परिचालित छ । अस्थायी चौकी खडा गरेरै निगरानी बढाइएको छ । सबै आवश्यक क्षेत्रमा म्यादी प्रहरी पनि परिचालित छन् ।

अलिकति समस्या उम्मेदवार र दलका प्रतिनिधिबीचमा हुने विवादहरु नै रहेको प्रहरीको निष्कर्ष छ । विगत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा त्यही भएको थियो । त्यसमा केही घटना भएको छ, त्यो कसरी भयो, सुरक्षा कहाँ चुक्यो, त्यसबाट पाठ लिएर अहिलेको सुरक्षा योजना बनाइएको प्रहरी प्रवक्ता राईले जानकारी दिनुभयो ।

प्रदेशगत रुपमा भेटेर छलफल गर्ने र सुरक्षाकर्मीको मनोबल बढाउने काम नेपाल प्रहरीका उच्च अधिकारीहरुबाट भइरहेको तथा आवश्यक निर्देशन दिइएको पनि उहाँले बताउनुभयो ।

प्रवक्ता राईले भन्नुभयो, “हरेक निर्वाचनमा जहिले पनि सुरक्षाको चुनौती हुन्छ नै, तर चुनाव बिथोलिने अवस्था हुन्न, द्वन्द्वकालमा त चुनाव भएको थियो अहिले त सबै राजनीतिक पार्टीहरु चुनाव गराउन एक मत हुनुहुन्छ भने योपटक सुरक्षा चुनौती छ भन्न मिल्दैन ।”

नेपाल प्रहरी कहीँ कतै आकस्मिक घटना जहिले पनि हुनसक्छ भन्ने आङ्कलन गरेर त्यसको व्यवस्थापनका लागि नेपाल प्रहरी तयारीका साथ रहेको जनाइएको छ । अहिले आचारसंहिता पालनामा निर्वाचन आयोग आफैँ साक्रियताका साथ लागेकाले पनि थप सहज भएको प्रहरीको निष्कर्ष छ ।

यसपटकको निर्वाचनमा नेपाल प्रहीतर्फ ७१ हजार ६ सय ९३ जनशक्ति खटाइएको छ । त्यसका साथै एक लाख १५ हजार म्यादी प्रहरी छन् । काठमाडौँबाट यही २५ गतेसम्ममा झन्डै १२ हजार थप मद्दत विभिन्न प्रदेशमा पु¥याइन लागिएको छ ।

निर्वाचन सुरक्षा : कस्तो छ ७ वटै प्रदेशमा नेपाल प्रहरीको तयारी र चुनौती ?

डीआईजी सुदीप गिरी : प्रहरी प्रमुख, प्रदेश नं. १

गत कार्तिक १९ गते प्रदेश सुरक्षा गोष्ठी पनि सम्पन्न भयो । जसमा प्रदेश १ का १४ जना नै प्रमुख जिल्ला अधिकारीहरु लगायतसँग छलफल गर्यौं । केन्द्रबाट पनि हामीलाई निर्देशन प्राप्त भएको छ । मजबुत निर्वाचन सुरक्षा सम्बन्धी तयारी गरेर कार्यान्वयन गर्ने भन्ने निष्कर्ष निकालिएको छ ।

भौगोलिक हिसाबले १ नं. प्रदेशमा हिमाली, पहाडी र तराईका जिल्लाहरु समेत रहेका छन् । यस्तो हुँदा सुरक्षा चुनौतीहरु पनि थपिने गर्दछ । हिमाली जिल्लामा भौगोलिक अवस्था र विकटताका कारणले मतपेटिका ढुवानीमा चुनौतीहरु थपिने हुन्छन् । त्यसैगरी तराइका जिल्लाहरु सीमावर्ती हुँदा विभिन्न गतिविधि हुने चुनौती रहन्छ । त्यसैगरी जनघनत्व पनि बढी भएकाले सुरक्षा सतर्कता बढी अपनाउनुपर्ने देखिन्छ ।

मतदान स्थलको सुरक्षा र मतदाताको सुरक्षा गर्नु पनि प्रहरीकै दायित्व भएकाले चुनौतीहरु धेरै छन् । यसलाई हल गर्न सुरक्षा फोर्सको सही परिचालन गर्नु अपरिहार्य हुन आउँछ । त्यसैकारण प्रहरीको संख्या पनि थपिएको छ । म्यादी प्रहरीको व्यवस्था पनि भएको छ । केन्द्र हेडक्वाटरबाट पनि सुरक्षा प्रबन्धका लागि चाहिने विभिन्न सामग्रीहरु आईरहेका छन् । निर्वाचनका लागि हामीले राम्रो तयारी गरिसकेका छौं । निर्वाचन स्वतन्त्र निष्पक्ष र भयरहित रुपमा सफल पार्न हामी सक्षम छौं । हाम्रो मनोबल उच्च छ ।

चुनाव बहिष्कार गर्ने भन्ने केही समूहहरु पनि छन् । उनीहरु जसरी प्रस्तुत हुन्छन् त्यही रुपमा हाम्रो सुरक्षा रणनीति लागू हुन्छ । पहिलेका निर्वाचनहरुमा विष्फोट लगायतका काममा सक्रिय समूह अहिले बाहिर आएको अवस्था भने छैन ।  यसरी १ नम्बर प्रदेशको अबस्था सामान्य छ । सुरक्षाका दृष्टिले यतिबेला चुनाव गराउन प्रहरी सक्षम छ ।

विभिन्न जिल्लाको सुरक्षा अवस्थाकाबारेमा जानकारी लिने र अनुगमनको काम पनि सक्रियताका साथ अघि बढिरहेको छ । प्रमुख जिल्ला अधिकारीहरुबाट चुनौतीहरुका बारेमा जानकारी प्राप्त भएको छ । निर्वाचन अधिकृत, मतदान स्थलका अधिकृतहरुसँग पनि सल्लाह भएको छ । कुनै भइपरि आएको सन्दर्भमा ईटहरी पृतना कार्यालयमा हाम्रो कमाण्ड पोष्ट रहनेछ । हामी त्यहाँबाट आदेश दिनेदेखि सबै सुरक्षा प्रबन्धको निगरानी गरिरहन्छौं । एउटा हेलिकप्टर तयारी अवस्थामा राखेका छौं ।

हामीले योभन्दा पनि विषम परिस्थितिमा निर्वाचन सम्पन्न गरिसकेका कारण पनि प्रहरीको मनोबल उच्च छ । फेरि निर्वाचन सम्पन्न गराउने कुरा खाली सुरक्षाकर्मीले मात्र गर्ने नभएर कर्मचारीदेखि लिएर राजनीतिक दलहरु, निर्वाचन अधिकृत, जनता सबैको उत्साह र मनोबलले हुने कुरा हो । त्यस कारण पनि हामी सुरक्षा प्रबन्धका लागि उत्साहपूर्वक लागिपरेका छौं । समग्रमा निर्वाचन सम्पन्न गराउन हाम्रो तयारी पुरा भएको अवस्था छ ।

डीआईजी मसउद आलम खाँ : प्रहरी प्रमुख, मधेश प्रदेश

मधेश प्रदेशमा निर्वाचन सुरक्षाका कामहरु राम्ररी भइरहेको अवस्था छ । जिल्लाका मतदान स्थलहरुमा सुरक्षाकर्मीहरुलाई आआफ्नो कार्यक्षेत्रमा खटाउने काम भईरहेको छ । मतदान स्थलको निरीक्षण र सुरक्षा चुनौतीका बारेमा जानकारी लिने काम भएको छ । केन्द्रीय सुरक्षा नीति अनुसार नै हामीले सुरक्षा प्रबन्ध मिलाईरहेका छौं ।

केहि परेको अवस्थामा त्यसको सामना र समाधान गर्न सक्नेगरी फोर्सलाई हामीले तयार गरेका छौं । स्थानीय चुनाव लगायत विगतका चुनावहरुको पनि अनुभवका आधारमा सुरक्षा प्रबन्धलाई चुस्त दुरुस्त राख्न प्रहरीहरुको मनोबल उच्च छ ।

मधेश प्रदेशका चुनावलाई पहिले मान्छेले संवेदनशील रुपमा पनि लिने गरेका थिए । तर अहिले चेतनाको विकास भएको छ भन्ने पनि लागेको छ । सुरक्षा चुनौती नै छैन भनेर प्रहरी निदाएर बस्ने कुरा पनि होइन । केहि घटनाहरु हुनसक्छन् भनेर नै हामीले सुरक्षा दिनुपरेको हो ।

सीमावर्ती क्षेत्र भएकाले पनि केहि चुनौतीहरु अवश्य थपिन्छन् । तर पनि प्रहरीले सुरक्षा नै दिन नसक्ने खालका सुरक्षा चुनौती आउने देखिँदैन । अन्य सुरक्षा निकायको पनि हामीलाई सहयोग रहेको अवस्था छ ।

निर्वाचन बिथोल्ने भन्ने समूहहरु बाहिर देखिएका छैनन् । उनीहरुबाट हुने समस्या समाधान गर्दै सुरक्षा दिन पनि हामी तयार छौं । पारदर्शी र भयरहित वातवरणमा निर्वाचन सम्पन्न गर्ने गरी हाम्रो तयारी छ । मधेश प्रदेशमा निर्वाचन सुरक्षा दिन प्रहरी सक्षम छ ।

डीआईजी किरण बज्राचार्य : प्रहरी प्रमुख, बागमती प्रदेश

अहिले केन्द्रले नै निर्वाचन सुरक्षा योजना बनाइदिएकोले हामीलाई सुरक्षा व्यवस्था सहज बनाउन अझै सजिलो भएको छ । प्रदेश अन्र्तगतका जिल्लाहरुका मतदान स्थलहरु र त्यहाँको राजनीतिक, भौगोलिक अवस्थाका बारेमा हामी जानकार छौं । प्रहरीहरुलाई त्यही अनुरुप हामीले खटाउने हो ।

बागमती प्रदेश अन्तर्गत काठमाडौं उपत्यकाका ३ जिल्ला बाहेकका जिल्लाहरु मेरो डोमेनमा पर्न आउँछन् । करीब १४ हजार म्यादी प्रहरीहरुलाई भर्ना गराएर तिनीहरुलाई तालिमसहित कार्यस्थलमा खटाइएको अवस्था छ ।

प्रदेश प्रहरीले जिल्लाजिल्लामा पठाउनुपर्ने मद्दतहरु धेरैजसोमा पठाइसकेका छौं । आवश्यक हातहतियार र सञ्चार साधनहरु हामीले जिल्लाहरुमा वितरण गरिसकेको अवस्था छ । मतदान स्थल र सदरमुकामको दुरी र रुट हामीले आइडेन्टीफाइ गरिसकेको अवस्था छ ।

गृह मन्त्रालय, निर्वाचन आयोग, प्रहरी प्रधान कार्यालयबाट पाएको गाइडलाइनलाई विचार गर्दै प्रहरी कर्मचारीहरुलाई आचारसंहिता र सुरक्षा व्यवस्थाको बारेमा अनुशिक्षण दिने काम सकिएको छ । म्यादी प्रहरीको हकमा पनि यही कुरा लागू भएको अवस्था छ ।

मतदानस्थलमा खटिने कमाण्डरहरुलाई पनि पत्रमार्फत् आचारसंहितको जानकारी दिने काम भएको छ । प्रहरी अधिकृतदेखि जवानसम्म र म्यादी प्रहरीहरु समेतलाई राखी निर्वाचन सुरक्षा र आचारसंहिताका बारेमा प्रदेशबाट नै अनुशिक्षण दिने काम पनि भइरहेको छ ।

जिल्ला समन्वय समितिसँग के कसरी निर्वाचनलाई सफल बनाउन सकिन्छ भन्नेबारे म आफैं उपस्थित भएर प्रदेश प्रहरीले छलफल गरिसकेको अवस्था छ । बाँकी जिल्लाहरुमा पनि यो काम हुने नै छ ।

सुरक्षा निकायका अन्य अंगहरु, जिल्ला प्रहरी कार्यालयका प्रमुखहरु, निर्वाचन अधिकृतहरुसँग पनि भेटेर वा फोन गरेर निर्वाचन के कसरी हुँदैछ प्रदेश प्रहरीले कस्तो भूमिका निभाउनु आवश्यक छ भनेर जानकारी लिइरहेको छु ।

निर्वाचन बहिष्कार गर्ने भन्ने सन्दर्भमा बागमती प्रदेशमा अहिलेसम्म चार वटा समूहहरु देखा परेका छन् । उनीहरुको भित्तेलेखन र पर्चा पम्प्लेट मात्र पाइएकोले सक्रिय रुपमा त्यस्तो हुन सक्ने अवस्था देखिएको छैन । तैपनि हामी त्यसकाप्रति गम्भीर छौं । सादा पोसाकका प्रहरी पनि हामीले परिचालन गरेका कारण त्यस्तो घटना होला भन्ने हामीलाई लाग्दैन । प्रहरी प्रधान कार्यालय, प्रदेश र जिल्लाको इन्टेलिजेन्स टिमले यी सूचनाहरु र त्यस्ता योजनाहरुका बारेमा मिहिन अध्ययन गरिरहेको छ ।

प्रहरीलाई निर्वाचन भयरहित रुपमा सम्पन्न गर्न हातहतियारको जोहो भएको छ । सवारी साधनहरु केहि भाडामा लिनुपर्ने पनि हुनसक्छ । फोर्स, जनशक्ति, तालिम, व्रिफिङ सबै किसिमले बलियो भएर बसेकाले हामी उच्च मनोबलका साथ निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सक्षम छौं ।

पार्टीहरुकाबीच कार्यक्रमका दौरान विवाद र झगडा नहोस् र शान्ति व्यवस्था नखल्बलियोस् भनेर पनि हामीले सचेत भएर काम गरिरहेका छौं । मेरो प्रदेश अन्तर्गत अहिलेसम्म त्यस्तो भएको पनि छैन ।

मतपेटिका ल्याउन लैजान गाह्रो हुने भौगोलिक अवस्थाका मतदान केन्द्रमा केन्द्रले हेलिकप्टरको व्यवस्था गरिदिए राम्रो हुने थियो । त्यसो भएन भने पनि हामी पैदल नै ल्याएर मोटरबाटो भेटिने स्थानबाट मतपेटिका ल्याउन र सुरक्षा दिन समेत सक्षम नै छौं । यसरी सम्पूर्ण रुपमा सुरक्षा प्रबन्धलाई कार्यान्वयन गर्न प्रहरी अब्बल रुपमा तयार छ ।

डीआईजी रामदत्त जोशी : प्रहरी प्रमुख, गण्डकी प्रदेश 

निर्वाचन सुरक्षाका सन्दर्भमा कुरा गर्नुपर्दा गृहमन्त्रालयबाट नै केन्द्रीय सुरक्षा योजना २०७९ आएको छ । त्यसैअनुरुप नै तयारी गरेर कार्यान्वयनको चरणमा हामी छौं । म्यादी प्रहरीलाई भर्ना गर्ने, तालिम दिने र कार्य स्थलमा खटाउने काम पनि भइसकेको छ ।

नेपाल प्रहरीका कर्मचारीहरुलाई पनि निर्वाचन अनुशिक्षण तालिम दिइसकेको अवस्था छ । जिल्लाहरुमा अपुग जनशक्ति प्रहरी हेडक्वाटर र प्रदेशबाट थप मद्धत दिने प्रक्रियामा लागेका छौं । केहि दिनमा नै सबै जिल्लाहरुमा सबै जनशक्तिको पहुँच भइसकेको हुनेछ ।

राजनीतिक दलहरु र उम्मेदवारहरुले चुनाव प्रचार गर्ने क्रममा सुरक्षा दिन सुरक्षाकर्मी खटाउने काम भइसकेको छ । अहिलेसम्मको अवस्था शान्तिपूर्ण र भयरहित नै देखिएको छ । निर्वाचनको दिनका लागि भनेर छुट्टै सुरक्षा योजना छ । मतदान स्थलको सुरक्षाका सन्दर्भमा निर्वाचन आयोग, सुरक्षा दिने अन्य निकायहरुसँगको समन्वयमा एकिकृत रुपमा सुरक्षा प्रबन्ध मिलाईएको छ । यसै सन्दर्भमा नेपाल प्रहरीसँगै अन्य सुरक्षा निकाय नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान लगायतका सुरक्षा निकाय र जिल्ला प्रशासनहरुसँग पनि समन्वय गर्ने काम भएको छ ।

संविधान विरोधी, चुनाव विरोधी, बहिष्कारवादी समूहरुलाई निष्क्रिय पार्न कन्ट्रोलिङ, ट्र्यापिङ, चेकिङ र गस्तीहरु सञ्चालन भइरहेकोले हामी सुरक्षा प्रबन्धमा सक्षम रहेका छौं । प्रहरीहरुलाई पनि यसपालिको चुनावमा पहिलेभन्दा केहि बढी सुविधा दिइएको छ । त्यसकारण पनि प्रहरीहरुको मनोबल उच्च रहेको छ । म्यादी प्रहरीहरुले पनि खटिएकै स्थानकै रासन भत्ता खान पाउने भएका छन् । यसरी दुर्गम जिल्लाहरुमा अलि बढी रासनभत्ता पाउने भएका छन् । यसरी पनि काममा उर्जा मिल्ने वातावरण छ ।

यसरी उच्च मनोबलका साथ निर्वाचन सुरक्षामा नेपाल प्रहरी, म्यादी प्रहरी खटिईरहेको अवस्था छ । अन्य सुरक्षा निकायहरु, निर्वाचन आयोग, निर्वाचनमा सहभागि हुने राजनीतिक दल तथा उम्मेदवारहरुसँग निरन्तर समन्वयमा रही उच्च सतर्कताका साथ कडा सुरक्षा ब्यवस्था मिलाईएको छ ।

डीआईजी नलप्रसाद उपाध्याय : प्रहरी प्रमुख, लुम्बिनी प्रदेश 

निर्वाचनमा नेपाल प्रहरी फ्रन्ट लाइनमा सुरक्षाका लागि खटिने भएको हुँदा हामीले सबै प्रहरी कर्मचारीहरु र म्यादी प्रहरीहरुलाई निर्वाचन सुरक्षा सम्बन्धी ओरेन्टेसन दिइसकेका छौं । लुम्बिनी प्रदेशमा निर्वाचन सुरक्षालाई चाहिने हात हतियार पनि हामीले ल्याइसकेका छौं । सञ्चार व्यवस्थापनका काम सेटलाइट र मोबाइल फोनहरुबाट हुनसक्ने गरी मिलाइएको अवस्था छ ।

हरेक मतदान स्थलमा खटेर जाने प्रहरी कमाण्डरको अन्य सुरक्षा निकायका कमाण्डरहरुसँग सहकार्य र समन्वयको काम पनि सकिएको छ । सीमा नाकाहरु ७२ घण्टाको लागि बन्द गर्ने कुराको निर्णय केहि जिल्लाले लिइसकेका छन् भने केहिले लिने क्रममा छन् । सूचना संकलन र सुरक्षा चुनौतीका विषयमा प्रहरीलाई चनाखो पार्ने काम भइसकेको छ ।

विष्फोटक पदार्थहरु राख्नसक्ने स्थानहरु र त्यस्तो भेटिएमा कसरी सुरक्षा जिम्मेवारी लिने भन्नेबारेमा नेपाल प्रहरी र म्यादी प्रहरी समेतलाई जानकारी गराइएको अवस्था छ ।

ठाउँठाउँमा चेक प्वाइन्टहरु बनाइएको छ । निर्वाचन बिथोल्ने, निर्वाचनमा अवाञ्चित क्रियाकलाप गर्नेहरुलाई निर्वाचन आचारसंहिताले पनि कारबाहीको दायरामा ल्याउने भनेकाले त्यस्तो गतिविधि नेपाल प्रहरीलाई मान्य हुँदैन, हामी तुरुन्तै कारबाही गर्छौं । निर्वाचन विरोधी समूहहरु जस्तो रुपमा प्रस्तुत हुन्छन् त्यसैगरी सुरक्षा सतर्कता अपनाएर बसेका छौं ।

निर्वाचन सुरक्षाका हिसाबले मतदान स्थलहरुलाई अतिसंवेदनशील, संवेदनशील, सामान्य गरी तीन भागमा बाँढ्ने काम भएको छ । त्यस्तो स्थानमा प्रहरीको म्यानपावर पनि त्यसैगरी खटाइने व्यवस्था मिलाएका छौं । यसकारण लुम्बिनी प्रदेशको सुरक्षा व्यवस्था उच्च छ र प्रहरीको मनोबल पनि राम्रो छ ।

डीआईजी पोषराज पोखरेल : प्रहरी प्रमुख, कर्णाली प्रदेश

केन्द्रीय सुरक्षा नीति अनुसार नै हामीले कर्णाली प्रदेशका दशवटै जिल्लामा प्रहरीहरु र म्यादी प्रहरीहरु खटाइसकेका छौं । बाहिरबाट आउने फोर्सको मद्दत पनि २५ गतेभित्र सबै मतदान स्थल सम्म पुगिसक्नेछन् ।

कर्णाली प्रदेशमा यतिबेला ४ हजार ५ सयभन्दा बढी नेपाल प्रहरीका कर्मचारीहरु निर्वाचनमा खटिएका छन् । ९ हजार ७८ जना म्यादी प्रहरीहरु खटिएका छन् । उनीहरु सबै मतदान स्थलमा पुग्ने क्रममा छन् । नजिक नजिकका प्रहरी युनिटहरुमा प्रहरीहरु पुगेर खटिई सकेका छन् ।

अहिले हामी उच्च मनोबलका साथमा सुरक्षा बन्दोबस्त मिलाईरहेका छौं । भर्खरै सम्पन्न स्थानीय निकायको निर्वाचनले पनि हामीलाई काम गर्ने अनुभब सिकाएको छ । अनुभवी र दक्ष जनशक्तिका कारण कर्णाली प्रदेशमा निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरण सम्पन्न गर्न प्रहरी सक्षम र उच्च तयारीका साथ तम्तयार छ ।

कर्णाली प्रदेशमा पनि निर्वाचन बिथोल्ने भनेर चार वटा समूहहरुको सक्रियता देखिएको छ । कुनकुन समूह हुन् र कहाँ रहेका छन् भनेर हामीले सूचना लिईरहेका छौं, अनुसन्धान गरिरहेका छौं र केहीलाई निगरानीमा पनि राखिसकेका छौं । त्यस्ता समूहहरुबाट कुनै असर पुग्ने स्थिती छैन, त्यसकारण सहज रुपमा बिना अवरोध शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्नका लागि सुरक्षा दिन नेपाल प्रहरी सक्षम छ ।

डीआईजी मोहनकुमार आचार्य : प्रहरी प्रमुख, सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशमा नौ वटा जिल्लाहरु रहेका छन् । ३ वटा हिमाली जिल्ला, ४ वटा पहाडी जिल्ला र २ वटा तराइका जिल्लाहरुमा हामीले निर्वाचन सम्पन्न गर्नुपर्नेछ । यी जिल्लाहरुमा निर्वाचनका लागि मतदान स्थलहरुमा ६ हजार तीन सय नेपाल प्रहरी र ११ हजार ६ सय म्यादी प्रहरी खटाउने ब्यवस्था मिलाएका छौं ।

विकट स्थानहरुमा हेलिकप्टरबाट २६ वटा मतदान स्थलसम्म मतपेटिका लैजाने र ल्याउने व्यवस्था गरेका छौं । दार्चुलाको अपी हिमाल गाउँपालिका र बझाङको सैपाल गाउँपालिकामा बाटोको व्यवस्था नभएकाले मतपेटिका यसरी लैजानुपर्ने भएको हो । स्थानीय निर्वाचनमा चाँहि त्यहीँ नै मतगणना गरिने भएकाले यस्तो गर्नु परेको थिएन । अहिल ति क्षेत्रहरुबाट हेलिकप्टरका माध्यमबाट मतपेटिका लैजाने ल्याउने प्रबन्ध मिलाईएको छ ।

यहाँ अतिसंवेदनशील ३५२, संवेदनशील ४०४, र सामान्य ४०५ मतदान स्थल रहेका छन् । यो हामीले भौगोलिक आधारमा छुट्याएको मात्र हो । विशेष परिस्थितिमा त सामान्य पनि संवेदनशील हुनसक्छ । त्यसकारण पनि हामी सुरक्षा प्रबन्धका लागि सचेत छौं । केन्द्रीय सुरक्षा नीति अनुसार केन्द्रले खटाएको र निर्देशन भएको सुरक्षा प्रबन्ध अनुसार नै हामी काम गर्नेछौं । यस्तै रिजर्भमा राखिएको फोर्सलाई जुन जिल्ला अतिसंवेदनशील देखिन्छ त्यो स्थानमा हामी बाँडफाँड गर्नेछौं । केन्द्रले बनाएको निर्देशनको पालना गर्दै प्रदेशको आन्तरिक रणनीति समेत तयार गरेर शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न हामी तयार छौं ।

यस्तै निर्वाचन बिथोल्ने भन्ने समूहहरुका हकमा भने कुन रुपमा उनीहरु बाहिर आउँछन् हामीले त्यसैअनुरुपको रणनीति र कारबाही गर्नेगरी तयारी गरेका छौं ।

भौगोलिक विकटताका कारणले मतपेटिका ढुवानीमा केहि चुनौती हुन सक्छ, त्यसका लागि मतपेटिका जोगाउने, त्यसको सुरक्षा गर्ने सन्दर्भमा हामी संबेदनशील बनेर सहज ब्यवस्थापनमा लाग्नेछौं ।

स्थानीय निर्वाचन पनि हामीले सम्पन्न गरिसकेको कारण त्यसबाट अनुभवहरु पाएका छौं । विभिन्न समस्याहरु आउलान् भनेर नै प्रहरी जनशक्तिको सही ब्यवस्थापन गरेका छौं । कतिपय मतदान स्थलमा पुग्न मोटरबाटो नभए पनि एक दुई घण्टासम्म हिँडेर मतपेटिका गाडी भएको स्थानसम्म ल्याउनुपर्ने पनि हुन्छ । त्यसको लागि हामीले प्रहरीहरुलाई तयार पारिसकेका छौं । धेरै टाढाका मतदानस्थलबाट भने हेलिकप्टरमा नै मतपेटिका ल्याइने हुँदा सुरक्षा प्रबन्ध राम्रो छ ।

ओमँसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जिम्मेवारी पुरा गर्न प्रहरीको मनोबल उच्च छ । सीमित श्रोत र साधनका बाबजुत पनि चुनावमा शान्ति सुरक्षा दिन सक्षम छौं । भयरहित तवरले ढुक्कसँग उच्च सुरक्षा प्रबन्धका साथ निर्वाचन सम्पन्न हुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाडौं । इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना..