प्रहरी प्रमुख सिंहको फरक शैली : हल्ला कम, काम बढी

आन्तरिक सुशासन र सदाचारिताको विकास गरेर नेपाल प्रहरीलाई दक्षिण एसियाकै एउटा नमूना प्रहरी बनाउने लक्ष्यका साथ आइजीपी धिरज प्रताप सिंहले मिसन अगाडि बढाएका छन् । ‘यो मेरो अठोट हो, म नेपाल प्रहरीलाई नमूना बनाएर एक नम्बर बनाउन चाहन्छु । त्यो काम शुरु भइसकेको छ ।

आलोक यादव / काठमाडौं । नेपाल प्रहरीका प्रहरी प्रमुख आइजीपी धिरज प्रताप सिंह अहिले त्यति चर्चामा छैनन् । कारण, उनी मिडिया प्रचारबाट अलि टाढा बस्‍न खोजिरहेका छन् । खरो शैली  र साहसिक भूमिकाका कारण विगतमा धेरै चर्चामा आएका धिरज प्रताप सिंह आईजीपी भएपछि फरक शैलीमा अगाडि बढ्ने प्रयास गरिरहेका छन् ।

हल्ला कम, काम बढी गर्ने उनको नयाँ रणनीति छ। मातहतका कमान्डर तथा कर्मचारीलाई पनि उनले प्रचारभन्दा नतिजातिर बढी केन्द्रित हुन निर्देशन दिइरहेका छन्।

जनप्रभावसँग विशेष कुराकानी गर्दै उनले भने, ‘यो हल्ला गर्ने वा चर्चा चलाउने बेला होइन, काम गरेर देखाउने हो । म त्यही मिसनमा छु ।’ नतिजा देखिने गरी उनी चुपचाप काम गरिरहेका छन् । चर्चामा आइरहने सिंह आईजीपी भएपछि शिथिल भए भन्ने बजारको आरोपलाई अस्वीकार गर्दै उनी भन्छन्, ‘चर्चा चलाउन र प्रचार बढाउन म आईजीपी भएको होइन । मैले काम गरेपछि रिजल्ट नागरिकले अनुभव गर्ने हो।’

केही प्रकरणसँगै विगतमा प्रहरीभित्र आन्तरिक गुटबन्दी, अस्वस्थ प्रतिस्पर्धा र राजनीतिक चलखेल जसरी हाबी भयो, त्यसले फिल्डका हरेक सिपाहीको मनोबल कमजोर बनाएको थियो र प्रहरीको छविसमेत धमिलिएको थियो । नेपाल प्रहरीको ‘चेन अफ कमान्ड’लाई थप कसिलो बनाएर हरेक सिपाहीको मनोबललाई उच्च बनाउने र प्रहरीको छवि चम्काउने अभियानमा प्रहरी महानिरीक्षक सिंह लागेका छन् ।

आईजीपी नियुक्ति विवाद, सरुवा तथा बढुवामा हुने चलखेल तथा दौडधुपका कारण प्रहरीमा विगतमा देखिएको बेथिति र अनुशासनहीनतालाई कडाइका साथ अंकुश लगाउने काम धिरज प्रताप सिंहले गरेका छन् ।  उनी भन्छन्, ‘विगतमा त्यस्ता केही गतिविधि भए होलान् तर अब प्रहरीमा त्यस्तो हुँदैन, चल्दैन । दौडधुप र भनसुनले सरुवा-बढुवा हुँदैन। कामको मूल्यांकन गरेर प्रक्रियागत रूपमा हुन्छ, त्यो सिस्टम हामीले विकास गरिसकेका छौं ।’

आन्तरिक सुशासन र सदाचारिताको विकास गरेर नेपाल प्रहरीलाई दक्षिण एसियाकै एउटा नमूना प्रहरी बनाउने लक्ष्यका साथ उनले मिसन अगाडि बढाएका छन् । ‘यो मेरो अठोट हो, म नेपाल प्रहरीलाई नमूना बनाएर एक नम्बर बनाउन चाहन्छु । त्यो काम शुरु भइसकेको छ,’ उनी भन्छन्, ‘प्रहरीले गर्नुपर्ने काममा चुस्तता आएको छ। अवरुद्ध भएका प्रशासनिक कामहरू सम्पन्न गरिएको छ। फिल्डमा सुधार गर्नुपर्ने पक्षमा पनि विशेष पहल थालिएको छ।’

वर्षैदेखि ब्लक भएको बढुवा तथा सरुवालाई सिंहले चार महिनामै सहज रूपमा सम्पन्न गरेका छन् । यसले जवानदेखि उच्च तहमा एक खालको उत्साह थपिएको छ । जवानदेखि उच्चअधिकृतसम्मको समयबद्ध बढुवा र सरुवाले मनोबल बलियो हुने र व्यावसायिकता झन् बढ्ने विश्वास प्रहरी महानिरीक्षक सिंहको छ ।

उनी आईजीपी भएपछि जवानदेखि डीआईजीसम्म ९ हजार भन्दा बढीको सरुवा र पदस्थापन भएको छ । यस्तै, जवानदेखि एसएसपीसम्मको साढे दुई हजारको बढुवा सम्पन्न भएको छ । सरुवा-बढुवा र पदस्थापनमा जुन प्रकारको अलमल र ढिलाइ हुँदा अनेक खालका चलखेल हुने र त्यसले संगठनका सदस्यहरूलाई अन्योलमा पार्ने जुन अवस्था थियो, त्यो अब अन्त्य भएको छ।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले आफूले जिम्मेवारी सम्हालेपछि आपराधिक गिरोह र समूहविरुद्ध विशेष अप्रेसन चलाएका छन् । गत आर्थिक वर्ष २०७८/०७९ मा भएका विभिन्न प्रकृतिका अपराधमा संलग्न प्रतिवादी पक्राउ, कैद भुक्तान, जरिवाना असुल, दर्ता भएका मुद्दा फर्स्योटलगायतले आपराधिक क्रियाकलाप न्यूनीकरणमा प्रहरीको कार्य सफल देखाएको हो। ९ हजार ४ सय ७० प्रतिवादीलाई पक्राउ गरि ८५ करोड ५८ लाख ६४ हजार ३ सय ९६ हजार रुपैयाँ जरिवाना तिराउन प्रहरी सफल देखिएको छ ।

यो अवधिमा लामो समयदेखि फरार ९ हजार ४ सय ७० जनालाई पक्राउ गर्न प्रहरी सफल भएको छ । यसअगाडि उनीहरु अपराध गरेर खुलेआम घुम्दै आएका थिए । जसका कारण अपराधीहरुको मनोवल बढेको थियो । तर लामो समयदेखि फरार रहेका उनीहरु पक्राउ पर्नुले अपराधीहरुको मनोवललाई कमजोर बनाएको छ ।

‘अपराध रोकथाम तथा अनुसन्धानमा हामीले शून्य सहनशीलताको नीतिअनुसार काम गरिरहेका छौं, त्यसको नतिजा पनि देखिएको छ,’ सिंह भन्छन्, ‘कुनै पनि आवरणमा हुनसक्ने गैरकानूनी कार्य, अपराधजन्य, हिंसात्मक घटना हुन नदिन विशेष सतर्कतासहित रणनीतिक रूपमा प्रहरी परिचालित भएको छ।’ 

सिंह प्रहरी प्रमुख भए पछि तस्करी नियन्त्रणमा पनि सफल देखिएको छ । भन्सार छलीबापत उनीहरूबाट असुल भएको करिब १ अर्ब रुपैयाँ भन्सार कार्यालयमा दाखिला गराइएको छ।

वैदेशिक रोजगारीका क्रममा हुने ठगी तथा बदमासीलाई कडाइका साथ नियन्त्रण गर्न सरोकारवाला निकायहरूलाई प्रभावकारी रूपमा सघाउने काम प्रहरीबाट भइरहेको खनाल बताउँछन् । नेपाल सरकारको स्वीकृति र सहमतिबिना मलेसियालगायत देशमा रोजगारीका लागि पठाउने क्रममा विभिन्न नाममा सिन्डिकेट खडा गरी असुल्ने र ठग्ने तीन दर्जनभन्दा बढीलाई नियन्त्रणमा लिएर ठगी मुद्दा चलाइएको उनी बताउँछन्। 

यातायात सिन्डिकेट अन्त्य गर्ने क्रममा प्रहरीको भूमिका महत्वपूर्ण रहेको सिंह बताउँछन् । ‘यो काम सजिलो थिएन तर हामीले अन्य निकायहरूसँग समन्वय गरेर प्रभावकारी भूमिका निर्वाह गर्‍यौं र सिन्डिकेट अन्त्य भयो,’ सिंह भन्छन् ।

लागूऔषधविरुद्ध पनि विशेष अप्रेसन नै चलाइएको छ। यसमा शून्य सहनशीलताको नीतिअनुसार कारवाही अगाडि बढाइएको छ । धेरै गिरोह नियन्त्रणमा आइसकेको सिंह बताउँछन् । उनका अनुसार मानव बेचविखन तथा बाल यौन दुराचारलगायत सामाजिक अपराध नियन्त्रणका लागि पनि प्रहरीले आक्रामक अभियान चलाएको छ। 

सुन र चाँदी तस्करहरुका लागि स्वर्ग बन्दै आएको नेपालमा तस्करीको सुन र चाँदी बरामद हुन थालेपछि तस्करहरुको मनोवल गिरेको छ ।

राजस्व संकलनको क्षेत्रमा पनि प्रहरीले राम्रो सफलता हासिल गरेको छ । सिंह प्रहरी प्रमुख भएयता ५ लाख ९ हजार ७ सय ६९ जनालाई गरिएको ट्राफिक कारवाहीबाट ३६ करोड २० लाख ९७ हजार ५ सय राजस्व संकलन भएको छ ।

धिरज प्रताप सिंह नेतृत्वमा आइसकेपछि प्रहरीले १ सय एक थान साना ठूला अवैध हतियार बरामद गरेको छ । विभिन्न अपराधका लागि प्रयोग हुने त्यस्ता हतियारका साथमा सयौं राउण्ड गोली समेत बरामद गरिएको छ । साथमा ९७ जना संलग्न व्यक्तिलाई समेत पक्राउ गरिएको छ । यदि यी हतियार र संलग्नहरुलाई पक्राउ गर्न प्रहरी सक्षम नभएको भए अपराधीहरुले त्यस्ता हतियारहरु अपराधकर्ममा लगाउने निश्चित थियो ।

विदेशी उच्चपदस्थ पाहुनाहरु नेपाल भ्रमणमा आउँदा कुनै अप्रिय घटना हुन नदिई शान्ति सुरक्षाको व्यवस्था गर्न प्रहरी सफल भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आउँदा नेपाल प्रहरीले मिलाएको सुरक्षा प्रबन्ध विशेष उल्लेखनीय छ ।

साथै , अन्य १५ विदेशी विशिस्ट ब्यक्तिको राजकिय,औपचारिक तथा अनौपचारिक भ्रमण सुरक्षा ब्यवस्थापन । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई शान्तपूर्ण वातावरणमा सम्पन्न गर्न केन्द्रिय निर्वाचन सेल गठन । १०५० विभिन्न विरोध कार्यक्रममस सुरक्षा ब्यवस्थापन । लेन अनुशासन र नो हर्न अभियान संचालन । 9N-AET तारा एयरको विमान दुर्घटनामा खोजी तथा उधार कार्यमा प्रहरी सफल भएको थियो । प्रहरीले मिलाएको शान्ति सुरक्षा पनि प्रशंसनीय रह्यो ।

प्रहरीको क्षमता विकाशका लागि विभिन्न तालिमहरु समेत संचालन गरिएका छन् । ६७ समुहमा १९२४ जना प्रहरी कर्मचारीहरुले आधारभुत / सेवाकालिन तालिम प्राप्त गरेको छ ।

पाठयक्रम / निर्देशिका विकास

प्रहरी निरीक्षक , प्रहरी सहायक निरीक्षक र प्रहरी जवान आधारभुत तालिम training manual हरु प्रकाशन गरि सम्बन्धित प्रहरी प्रशिक्षण केन्द्रहरुलाइ हस्तान्तरण गरिएको छ । २७ समुहमा १२२० जना प्रहरी कर्मचारीहरु आधारभुत / सेवाकालिन तालिममा तालिमरत रहेको छ ।

धिरज प्रताप सिंहको नेतृत्वमा गलत काम गर्ने केहि प्रहरीलाई कारवाही गरिएको छ । १६ जनालाई विभिन्न प्रकारका कारवाहीहरु गरिएको छ । राम्रोकाम गर्नेहरुलाई भने पुरस्कृत समेत गरिएको छ ।

यसरी पुरस्कृत हुनेहरु २५५४ जना रहेका छन् । नराम्रो काम गर्नेलाई कारवाही र राम्रो काम गर्नेलाई पुरस्कृत गरिदा नराम्रो काम गर्नेको मनोवल घटेको छ भने राम्रो काम गर्नेको मनोवल बढेको छ ।

सिंहको नेतृत्वमा नीतिगत कार्य तथा सुधारका कार्यक्रम समेत भएका छन् । प्रहरी हेडक्वाटर नक्सालबाट ‘अनावश्यक’ जनशक्ति हटाउन थालिएको छ । हालै १ सय ४६ जनलाई फिल्डका कार्यालयमा खटाइएको छ । प्रहरी प्रधान कार्यालयलाई ‘स्मार्ट’ बनाउने योजनाअनुसार केही कर्मचारीलाई फिल्डमा खटाउन थालिएको प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईले जानकारी दिए ।

‘प्रधान कार्यालयमा काजमा कार्यरतलाई उनीहरूकै दरबन्दीमा खटाइएको छ,’ उनले भने, ‘यहाँ काम नभएका अन्य प्रहरीलाई पनि फिल्डमा पठाइएको छ । प्रधान कार्यालयमा जनशक्ति कम गरी स्मार्ट शैलीमा चलाउन थप गृहकार्य भइरहेको छ ।’ 

कामको अत्यधिक चाप भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा उपत्यकाका विभिन्न जिल्लामा प्रधान कार्यालयका जनशक्ति खटाइएको हो । पहिलो चरणमा कार्यालय सहयोगीदेखि वरिष्ठ प्रहरी नायब निरीक्षकसम्मलाई खटाइएको छ । 

प्रहरी मुख्यालयमा जनशक्ति व्यवस्थापनबारे हालै एक अध्ययन भएको थियो । जसमा दुई सयभन्दा धेरै जनशक्ति अनावश्यक रहेको प्रतिवेदन बनेको छ । सोही प्रतिवेदनका आधारमा जनशक्ति कटौती सुरु भएको हो । प्रधान कार्यालयमा धेरै प्रहरी काज मिलाएरसमेत बसेका छन् ।

प्रधान कार्यालयमा काम सजिलो हुने भएकाले पनि धेरैले रोज्ने गरेका छन् । ‘कतिपयले पारिवारिक समस्या देखाएर त कतिले पढाइको कारण देखाएर सोर्सफोर्सका आधारमा सजिलो ड्युटी हुने कार्यालय रोज्ने गरेका छन्,’ प्रधान कार्यालयका एक अधिकारीले भने, ‘यसले आवश्यक ठाउँमा प्रहरी नहुने, तर काम कम हुने कार्यालयमा धेरै हुने भएकाले यसमा सुधार थालिएको हो ।’ 

प्रधान कार्यालयको दरबन्दी कटौतीका लागि १० वर्षदेखि प्रयास हुँदै आएको छ । उपेन्द्रकान्त अर्याल आइजिपी हुँदा उनले तत्कालीन डिआइजी प्रकाश अर्यालको संयोजकत्वमा एक कार्यदल बनाएर यसबारे अध्ययन गराएका थिए ।

जसले एक सय ९२ दरबन्दी कटौती गरेर तराईका जिल्लामा मिलान गर्न सिफारिस भएको थियो । प्रकाश अर्याल पछि आफैँ आइजिपी भए, तर त्यो प्रतिवेदन कार्यान्वयन हुन सकेन । अहिले बल्ल प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी प्रधान कार्यालयको जनशक्ति फिल्डमा खटाउन थालिएको छ । 

नेपाल प्रहरी काॠ योजना,२०७९ । वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर एवं software tracking द्वारा मुल्यांकन गर्ने कार्य सुरु भएको छ । अपराध अनुसंधान विधमान अवस्था बारे समिक्षा गरि सुधारका क्षेत्रहरु पहिचान गर्न प्रदेशस्तरीय अ.अ. समिक्षा संचालन गरेको छ ।

ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरण रणनीतिक कार्य योजना , २०७९ संचालन गरेको छ । चारित्रीक प्रमाणपत्र वितरण निर्देशिका,२०७९ सुरु गरेको छ । केन्द्रिय अनुसंधान ब्यूरो कार्य योजना , २०७९ सुरु गरेको छ । नेपाल प्रहरी सन्युक्त राष्ट्रसंघीयता शान्ति मिसन सम्बन्धि कार्यनिर्देशन , २०७९ । नेपाल प्रहरी कार्य दक्षता मुल्यांकन ( police baton ) , २०७९ ।

शोध अध्ययन

नेपाल प्रहरी युवा आक्रमणको अवस्था । सेवा प्रतिको सन्तुष्टि र कार्यसम्पादनमा प्रभाव पार्ने तत्वहरु नेपाल प्रहरीमा कार्यरत जुनियर प्रहरी अधिकृतहरुको मामिला अध्ययन ।

लामो समयदेखि खरीद कार्य हुन नसकेका स्केलका सामानहरू खरिद प्रक्रिया सकेर सामाग्री प्राप्त गरेर कर्मचारीहरूलाई वितरण समेत गरिएको छ ।

सार्वजनिक यातायातको क्षेत्रमा तोकिएको टिकट काउण्टरमा परिचयपत्र बहाकहरुले मात्र टिकट काट्ने व्यवस्था भए पनि अनाधिकृत व्यक्तिले विचौलिया बनेर यात्रुसँग मोलमोलाई गरि तोकिएको भन्दाबढी भाडा लिँदै गरेको सयौं जनालाई प्रहरीले पक्राउ गरि कार्वाही गरेको छ ।

प्रहरी महानिरीक्षकको सचिवालयका लागि छुट्याइएको बजेटबाट प्रहरी प्रधान कार्यालयले तल्लो तहका प्रहरीका लागि ब्यारेक बनाउने तयारी गरेको छ ।प्रहरी महानिरीक्षककाे सचिवालय भवनसहित अन्य कार्यका लागि तीन वर्षे याेजनासहित १० कराेड रुपैयाँ बजेट विनियाेजन भएकाे थियाे ।

महानिरीक्षक धिरजप्रताप सि‌हंले आफ्नो भवन हाललाई राम्रै अवस्थामा रहेकाले बरु आवश्यक जवान तथा हवल्दारका लागि ब्यारेक बनाउने निर्णय गरेका हुन् । सचिवालय निर्माणका लागि छुट्याइएको रकमलाई कार्यक्रम संशोधन गरी जवानदेखि वरिष्ठ हवल्दारसम्म एक सय जना बस्न मिल्ने ब्यारेक निर्माण गर्न लागिएको हो ।

तल्लो तहका प्रहरीको सुविधालाई ध्यानमा राखी यसरी कार्यक्रम संशोधन गरी ब्यारेक बनाउन लागिएको प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले बताए । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले तल्लो तहका प्रहरीको सुविधामा विशेष जोड दिएका छन् ।

भौतिक पूर्वाधार तथा कर्मचारीको सेवा सुविधातर्फ पछिल्लो समय प्रहरीमा प्रगती भइरहेको छ । कैलालीमा प्रहरी अस्पतालको शाखा स्थापना भएको छ । जसबाट सुदुरपश्चिमका प्रहरी तथा पूर्व प्रहरीले निःशुल्क उपचार पाउनेछन् । चितवनको प्रहरी स्कुलमा छात्रावास भवन निर्माणको काम अघि बढेको छ । त्यस्तै वर्षौंदेखि बन्द रहेको नेपाल प्रहरी क्लब पुनर्निर्माणपछि सुचारु भएको छ ।

त्रिपरेश्वरमा काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गणको अत्याधुनिक भवन बनेको छ भने साँगास्थित प्रहरी स्कुलमा पनि नयाँनयाँ भवनहरू निर्माण भएका छन् । जसको १ महिना मात्र उद्घाटन भएको थियो ।

काठमाडौं परिसर र उपत्यकाका अपराध अनुसन्धान कार्यालयको भवन निर्माणको काम अन्तिम चरणमा छ । २६ वर्षको प्रयासपछि काभ्रेको पनौतीमा प्रहरी निर्माणको काम अघि बढेको छ । तर, साइबर ब्यूरोको भवन निर्माणका लागि पनि कोरिया सरकारले सहयोग गर्ने सहमति भइसकेको छ । सुस्त गतिमा भए पनि पछिल्ला वर्ष प्रहरीले भौतिक निर्माणमा प्रगति गरेको छ ।

धिरज प्रताप सिंह प्रहरीलाई संघीय संरचनामा लैजानका लागि गहन गृहकार्य भइरहेको बताउँछन्।  त्यही सन्दर्भमा विभिन्न प्रदेशमा सुरक्षा गोष्ठी सम्पन्न भइसकेको उनी बताउँछन् । भन्छन्, ‘ती गोष्ठीमा संगठन सुधार, सुदृढीकरण, आन्तरिक सुशासनबारेमा पनि नयाँ सर्कुलर जारी गरिएको छ।’ 

राष्ट्रसंघीय मिसन तथा अन्य अन्तर्राष्ट्रिय मञ्चमा नेपाल प्रहरीको भूमिका र सहभागिता बढाउनेबारेमा आईजीपी सिंहले पहल थालेका छन् । संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको तेस्रो सम्मेलनमा सहभागी भएर उनले अन्य देशका प्रहरी प्रमुख तथा नगारिक सुरक्षा अधिकारीसँग भेटवार्ता गरेका थिए। 

आम प्रहरी अधिकृतभन्दा फरक शैली र स्वभावका धिरजको सुरक्षा वृत्तमा बेग्लै पहिचान छ। उनी संगठनभित्र जति लोकप्रिय छन्, बाहिर पनि उनको छवि राम्रो छ । बोल्ड व्यक्तित्व र दृढ आत्मविश्वास, व्यावसायिक शैलीका कारण उनी आफूलाई फरक आईजीपीको कोटीमा राख्छन् । विगतमा धेरै अप्ठ्यारा अवस्थामा उनले निकै सुझबुझका साथ साहसिक भूमिका निर्वाह गरेका छन् ।

संकटका घडीमा समाधानको सूत्र बनेर उनी फिल्डमा खटिएका छन् । २९ वर्ष लामो व्यावसायिक यात्रामा उनले थुप्रै महत्वपूर्ण मोर्चाको कमान्ड सम्हालेका छन् तर कुनै पनि अप्रेसन तथा मिसनमा उनी असफल भएका छैनन् । जोखिमसँग जुध्‍न र संकटलाई सामना गर्न उनलाई मन पर्छ किनकि त्यो साहस र धैर्य उनीसँग छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

निर्वाचनको सुरक्षाका लागि उच्च मनोबलका साथ काम गर्न ७७ वटै जिल्लाका एसपीलाई आईजिपी सिंहको निर्देशन

निर्वाचनको सुरक्षाका लागि उच्च मनोबलका साथ काम गर्न ७७ वटै जिल्लाका एसपीलाई आईजिपी सिंहको निर्देशन

काठमाडौं । नेपाल प्रहरीका प्रमुख आईजिपी धिरज प्रताप सिंहले उच्च मनोबलका साथ काम गर्न ७७ वटै जिल्लाका प्रहरी प्रमुख एसपीलाई निर्देशन दिएका छन् । मङ्सिर..