नेपालगन्ज । बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेकी एक किशोरीले अस्पतालमै आत्महत्या गरेकी छन् । सल्यान कालिमाटी गाउँपालिका वडा नम्बर १ धोरनेरी बस्ने १५ वर्षीया किशोरीले सोमबार मध्याह्न १२ बजेर ४५ मिनेटमा अस्पतालको छतमा गई ढोकाको ह्यान्डिलमा पासो लगाइ आत्महत्या गरेको बताइएको छ ।
डिम्बाशयको क्यान्सर भएर असोज ६ गते ती किशोरी क्यान्सर अस्पतालमा भर्ना भएकी थिइन् । र असार महिनादेखि फलोअपमा अस्पताल आइरहेकी थिइन् ।
बिरामी परेपछि उनकी आमा पनि अस्पतालमा उनलाई कुरेर बसिरहेकी थिइन् । आमा खाना खान निस्किएको बेलामा आमासँगै निस्किएकी ती किशोरीलाई नर्सले औषधि खुवाउन खोज्दा बेडमा नभेटेपछि अस्पतालको छतमा उनको शव भेटिएको थियो ।
‘फलोअपमा आइरहनुभएको थियो अवस्था जटिल भएपछि असोजबाट भर्ना हुनुभएको हो,’ अस्पतालका कार्यकारी निर्देशक कृष्ण आचार्यले भने, ‘अवस्था त सामान्य थिएन । तर किमो चढाइरहेको थियो ।’
मानसिक रुपमा आफूलाई कमजोर बनाएर बिरामीले नै यस्तो निर्णय लिएपछि आफूहरू दुखी बनेको डा. आचार्यले बताए ।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीमगरका अनुसार प्रहरीको प्ररम्भीक अनुसन्धानमा आत्महत्या देखिएको बताए ।
पोष्टमार्टमपछि परिवारले शव बुझिसकेको प्रहरीले जनाएको छ ।अस्पताल प्रशासनका अनुसार ती किशोरीलाई क्यान्सरको चौथो स्टेज भइसकेको थियो । र उपचारमा अहिलेसम्म परिवारको १३ लाख रुपैयाँ खर्च भइसकेको थियो । मृतकका बावु रोजगारीको क्रममा भारतमा छन् । उनी कान्छी आमाको साथमा बस्दै आएकी थिइन् ।


