ललितपुर । ललितपुर महानगरपालिकाले लगनखेलस्थित ‘मञ्जुश्री पेट्रोल पम्प’ सिल गरेको छ । महानगरपालिकाले आइतबार मापदण्डविपरित बनाइएको उक्त संरचना हटाउनका पटक–पटक आग्रह गर्दा पनि सञ्चालकले अटेर गरेको भन्दै सिल गरेको हो ।
महानगरका प्रमुख चिरीबाबु महर्जनले विगत ६ महिनादेखि आफूहरूले उक्त पेट्रोलपम्प मापदण्ड विपरित रहेको र यसलाई हटाउनु भनेर सम्झाएको बताए । तर, उनीहरूले हटाउन नमानेपछि बाध्य भएर हटाउनु परेको मेयर महर्जनको भनाइ छ ।उनले भनेका छन्, ‘हामीले यसअघि पटक–पटक जानकारी गराएका थियौं, छलफलमा समेत बोलायौं ।
तर उहाँहरूले अटेर गरेर नहटाएपछि महानगरले आज हटाउन खोजेका थियौं, अत्यधिक संवेदनशील भएकाले अहिले सिल गरेका हौं ।’महानगरले संवेदनशीलताको सबै तयारी पुरा गरेर हटाएको हो । अहिलेलाई तारजाली गरेर लाहा छाप लगाएर छाडेको जानकारी गराइएको छ ।


