काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बयानमा बिभिन्न व्यक्तिमाथि निरन्तर व्यक्तिगत लान्छना र आरोपहरु लगाइरहेका छन् ।
महाअभियोग सिफारिस समितिमा आइतबार पनि उनको यो श्रृंखला रोकिएन ।आइतबारको बयानका क्रममा उनले सर्वोच्च अदालतमा बहस गर्ने वरिष्ठ अधिवक्ताहरुको पनि नामै किटेर टिप्पणी गरे ।जबराले वरिष्ठ अधिवक्ता रमण श्रेष्ठलाई ठालुको संज्ञा दिएका छन् भने अधिवक्ता ओमप्रकाश अर्यालको चरित्रमाथि नै प्रश्न उठाएका छन् ।
जबराको बयान जस्ताको तस्तै :
२०७१ साल जेठबाट सर्वोच्च अदालतमा म नियुक्त भएर आएको हुँ । सर्वोच्च अदालतमा देखेको वास्तविकता भन्न चाहन्छु । सर्वोच्च अदालतमा बहस गर्ने भन्या सात आठ जना वरिष्ठ अधिवक्ता ज्यूहरुको १० वटा बेञ्च हुन्थ्यो, बेञ्चले कुरेर बस्नुप¥थ्यो तर, उहाँहरु पालो पालो आएर बहस गर्नुहुन्थ्यो । त्यसदेखि बाहेक कुनै महिला कानुन व्यावसायीले बहसमा अवसर पाएनन् उहाँहरुबाट । कुनै अरु योङ व्याइजहरु जति छ उहाँहरुले बहसमा अवसर पाएनन् । म आइसकेपछि प्रतिवद्धता गरेको– यही हो ।
यस पछाडि त्यही किसिमबाट सिर्जना भएको छ बिचौलियादेखि लिएर भ्रष्टाचारको कुरा आएको छ । यसलाई नष्ट गर्छु भने पछाडि … सर्वोच्च अदालतमा प्राङ्गणमा एउटा गोपालको रेस्टुरा छ त्यहाँ बसेर दिनभरी चिया खाएर मलाई गाली गर्नुपर्ने अवस्था सिर्जना भयो । सारा महिलाहरुले बहस गर्न अग्रसर भएर आउन पाए । सारा योङ ब्वाइहरु आए । उहाँहरु ठालु सात आठ जना मध्येमा नाम लिइदिनँ । उहाँ ठालुहरुले सर्वोच्च अदालत डोमिनेट गरेर ओगटेर बस्नुभएको थियो ।
त्यो मेरो कालमा नष्ट गरिदिएँ त्यो गिरोहलाई । त्यही गिरोहले मलाई अहिले (महाअभियोग) लगाउनुभयो । त्यो गिरोहको नेतृत्व एकदमै देखिएकै छ ।
अस्ति माननीयले सोध्नुभएको थियो मैले नाम लिइनँ, क्वीन्टलको कुरा गर्नुभएको थियो । मैले नाम लिइनँ, अझै नि नाम लिन मन छैन् । तर, त्यो क्वीन्टलको कुरा गर्ने वरिष्ठ जी हुनुहुन्थ्यो त्यो बारमा व्यक्त गर्नुभयो, पछि भाषणमा पनि व्यक्त गर्नुभयो, अन्तरवार्तामा पनि बोल्नुभयो त्यो हुनुहुन्थ्यो रमण श्रेष्ठ । उहाँहरु ठालु हो । एकले अर्कोलाई मुद्दा दिने राख्ने त्यसरी सर्वोच्च अदालतलाई गिरोहले ७/८ जनाले ओगटेर सबै गरिरहनुभएको थियो । त्यसलाई मैले तोडिदिएँ । तोडिदिएँ तर, अहिले पछाडि फेरि आयो ।
हिजोको काल (…) मा पनि महाअभियोगको नेतृत्व रमणजीले लिनुभएको थियो आज पनि रमणजीले लिनुभएको छ । उहाँको हरेक चीज हेर्दा हुन्छ । त्यसकारण अहिले मलाई जे आरोप लगाइएको छ यो आरोप उहाँहरुको कुण्ठाको, उहाँहरुको सर्वोच्च अदालतमा भूमिका खेल्न नपाएको, न्यायाधीश नियुक्तिमा भूमिका खेल्न नपाएको मेरो पालामा, त्यसपछाडि मुद्दामा चलखेल गर्न पाउनुभएन उहाँहरुले अनि यो आरोप आयो । उहाँहरु त एउटा ग्रुपमा बस्नुहुन्थ्यो । त्यो ग्रुपलाई मैले तोडिदिएका कारणले गर्दा यो (महाअभियोग)आयो । त्यसकारण मलाई महाअभियोग लाग्नुपर्ने कारण र आधार छैन् ।
… …
सम्पत्ति शुदीद्धकरणको (रिट) दिन सुरेन्द्र केसीजी जानुभएको थियो क्यारे । त्यसमा जानुहुने अधिवक्ता ओमप्रकाश अर्याल हुनुहुन्थ्यो । यो नोट होस्, ओम प्रकाश अर्यालको क्यारेक्टर एकदमै गम्भीर छ, नोट होस् । उहाँलाई अहिले काठमाडौं महानगरपालिकाका मेयर बालेनजीले कानुनी सल्लाहाकारमा नियुक्त गर्नुभएको छ , पत्रिकामा मैले पढेको थिएँ ।मैले अस्ति पनि भनेँ नि बारको अध्यक्ष चण्डेश्वरजीले न्यायाधीशले दुई चोटी सिफारिस गर्नुभएको दुबै चोटी मैले इन्कार गरेको हो भनेर ।
पुनदेवी महर्जन जी हुनुहुन्थ्यो मैले उहाँलाई इन्कार गरेको थिएँ । पुनदेवी महर्जन जी, ओमप्रकाश अर्यालजीको अर्धाङ्गीनी हो । यति भन्दा खेरी नै पुगिहाल्छ । यसकारण उहाँले नेतृत्व गरेर सम्पत्ति शुद्धीकरणसम्म जानुभो । सम्पत्ति शुद्धीकरणले यो निर्थक हो भनेर निर्णय नै गरिसकेको छ ।


