काठमाडौं । मोटरसाइकलको तेलको ट्यांकीमा फल्स बटम बनाएर लागूऔषध तस्करी गरेको भेटिएको छ ।लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले हालै गरेको एउटा कारबाहीमा मोटरसाइकलको तेलको ट्याङ्कीमा लुकाएर वीरगञ्जदेखि काठमाडौंसम्म लागूऔषध ल्याउने गरेको भेटिएको हो ।
ब्यूरोका एसपी योगेन्द्र खड्काका अनुसार काठमाडौं महानगरपालिका–३० कालोपुलबाट पक्राउ परेका सिभिल इञ्जिनियर ध्रुव लिम्बुमाथि अनुसन्धान गर्ने क्रममा उनको होस्टलमा बस्ने अर्का व्यक्तिले लागूऔषध ल्याउने गरेको भेटिएको थियो ।
विन्दवासिनी गाउँपालिका–४ घर भएका जमुना साह तेली नामक ती व्यक्तिले रक्सौल नाकाबाट औषधिजन्य लागूऔषध खरिद गरेर आफूले प्रयोग गर्ने ना ४३ प ६६९३ नम्बरको मोटरसाइकलको तेलको ट्यांकीमा लुकाएर ल्याएको खुलेको हो ।
‘उनले ट्यांकीको एक खण्डमा पेट्रोल र अर्को खण्डमा लागूऔषध राख्ने गरेका थिए, फल्स बटमका कारण ट्यांकी सानो हुने हुँदा उनले प्लास्टिकको बोतलमा पेट्रोल बोकेर लागूऔषध ओसारपसार गर्ने गरेका थिए’ खड्काले भने ।उनले रक्सौलबाट काठमाडौंसम्म लागूऔषध ल्याएवापत एक पटकमा ५० हजार रुपैयाँ पाउने गरेको बयानका क्रममा खुलाएका छन् ।
उनले काठमाडौं ल्याएर इञ्जिनियर लिम्बुलाई बिक्री गर्न दिने र लिम्बुले नविन श्रेष्ठमार्फत ती लागूऔषध बजारमा पठाउने गरेको भेटिएको खड्काले बताएका छन् ।प्रहरीले यो कारबाहीको सुरुवातमा २ भदौमा ललितपुरको झम्सीखेलबाट लागूऔषध बुप्रेनोर्फिन २४३ एम्पुल, फेनारगन २४३ एम्पुल र डाइजेपाम २४३ एम्पुलसहित नविन श्रेष्ठलाई पक्राउ गरेको थियो ।
उनलाई लागूऔषध दिने व्यक्तिको खोजी गर्दै जाँदा इञ्जिनियर लिम्बु पक्राउ परेका थिए । श्रेष्ठ अपहरण गरी बालकको हत्या गरेको अभियोगमा जेल बसेर छुटेका व्यक्ति हुन् ।थप अनुसन्धान जारी रहेको लागूऔषध नियन्त्रण व्यूरोले जनाएको छ ।


