काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय राष्ट्रिय टिमका पूर्व अलराउण्डर तथा रणजी ट्रफी विजेता प्रशिक्षक प्रभाकर राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएको जानकारी दिएको हो ।
प्रभाकर भारतका पूर्वअलराउन्डर क्रिकेटर हुन्। उनले भारतका लागि ३९ टेस्ट म्याच र १३० एक दिवसीय खेल खेलेका छन्। यसअघि उनी अफगानिस्तान क्रिकेट टिमका प्रशिक्षक थिए भने रणजी ट्रफीमा उनले दिल्ली, राजस्थान र उत्तर प्रदेशका क्रिकेट टिममा प्रशिक्षकको भूमिका निर्वाह गरेका छन्।
स्कटल्याण्डमा आईसीसी क्रिकेट विश्वकप लिग टु खेलेर फर्केपछि पुबुदु दासानायकेले पदबाट राजीनामा दिएपछि नेपाल प्रशिक्षकविहीन थियो । प्रभाकरले अफगानिस्तान क्रिकेट टिमको प्रशिक्षक रहेर काम गरिसकेका छन् ।
प्रशिक्षक नियुक्त भएपछि प्रभाकरले प्रतिक्रिया दिँदै नेपाली क्रिकेटमा काम गर्न उत्सुक रहेको बताएका छन् । ‘नेपालको क्रिकेटप्रतिको चासो, उनीहरूको प्रतिभा र सीपको स्तरलाई हेरेर, म नेपाली क्रिकेट टोलीलाई बलियो बनाउनको लागि काम गर्न साँच्चै उत्सुक छु’, उनले भने ।


