कल सेन्टरको ठगी धन्दाको बिगबिगी , अवैध धन्दा चलाउदै चिनियाँ नागरिक

काठमाडौं । कल सेन्टरको ठगी धन्दाको बिगबिगी चलिरहेको बेला प्रहरीले बुधबार ठमेलको कल सेन्टरमा प्रहरीले छापा हानेको छ । प्रहरीले ज्याठास्थित भियना होटलसँगै रहेको कल सेन्टरमा छापा मार्दैै ४ जना चिनियाँलाई पनि पक्राउ गरेको छ ।प्रहरीका अनुसार कल सेन्टरबाट प्रहरीले ४७२ थान मोबाइल र २६ थान ल्यापटप बरामद पनि गरेको छ ।

यसअघि प्रहरीले बुटवलमा पनि छापा मारेर कल सेन्टर सञ्चालकसहित डेढ सय युवायुवतीलाई पक्राउ गरेको थियो । त्यसपछि साउन ९ गते तिनकुनेस्थित स्काई वर्ल्ड सर्भिस प्रालिमा छापा मारेर १ जना चिनियाँसहित ३६ जनालाई पक्राउ गरेको थियो । कल सेन्टरका नाममा चिनियाँ नागरिकले अवैध धन्दा चलाउदै आएको अनुसन्धानमा खुलेको छ ।


तीनकुनेको गैरिगाउँमा चिनियाँ नागरिकले चलाएको अवैध कल सेन्टरमा छापा हानेर प्रहरीले ४१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १४ महिला र २७ पुरुष छन् ।उनीहरुले स्काई वर्ड सर्भिस प्रा.लि.को नाममा कल सेन्टर सञ्चालन गरेका थिए । उक्त कम्पनीको नामबाट साइबर अपराध भइरहेको सूचनाको आधारमा सोमबार काठमाडौं प्रहरी, नगर प्रहरी, प्रहरी वृत्त गौशाला र बानेश्वरले संयुक्त अपरेशन चलाएको थियो ।यो कम्पनीमा प्रहरी टोली ६ महिनाअघि पनि पुगेको थियो ।

प्रहरी स्रोतका अनुसार कल सेन्टरमा काम गर्ने सञ्चालक र कर्मचारीबीच विवाद भएपछि कर्मचारीले प्रहरी कन्ट्रोल १०० मा फोन गरेका थिए । त्यसक्रममा प्रहरी वृत्त, गौशालाको टोली गैरिगाउँस्थित कार्यालयमा पुगेको थियो ।‘सञ्चालकको खातामा जानुपर्ने पैसा सिधै कर्मचारीको मोबाइलमा पुगेपछि सबैको मोबाइल जफत गरेछन्’ काठमाडौं प्रहरीका अधिकृत भन्छन्, ‘मोबाइल सञ्चालकले खोसेपछि कर्मचारी र सञ्चालनबीच झगडा भयो । विवाद बढेपछि प्रहरीलाई पनि त्यहाँ बोलाइएको थियो ।’तर प्रहरीले त्यसबेला छलफल गरेर छाडेको थियो । आइतबार चिनियाँ नागरिकले यहाँबाट साइबर अपराध गरिरहेको सूचना पाएपछि छापा हानेको थियो ।


रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा २ सय भन्दा बढी युवा राखेर कल सेन्टर चलाइरहेका २ जनाविरुद्ध प्रहरीले ठगी मुद्दामा अनुसन्धान सुरु गरेको छ ।ब्लु स्काई सोलुसन प्रालिको नाममा गोप्यरुपमा चलेको कल सेन्टरका सञ्चालक भारतीय नागरिक २५ वर्षका जिसाद दबंग भनिने निरञ्जन कुमार र दाङको घोराही उपमहानगरपालिका– १३ का हिमाली बाठामगरविरुद्ध ठगी मुद्दामा अनुसन्धान सुरु गरेको हो ।ठगीको उजुरी परेपछि प्रहरीले कल सेन्टरबाट डेढ सय भन्दा धेरैलाई नियन्त्रणमा लिएको थियो ।

तीमध्ये ९ जनालाई इलाका प्रहरी कार्यालय बुटवलमा राखी अनुसन्धान गर्दा मुख्य दोषी देखिएका दुईजनाविरुद्ध अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताए । पक्राउ परेका दुईजनाले कल सेन्टरको मुख्य सञ्चालक चिनिया नागरिक भएको बताएको केसीले बताए ।तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा चार तलाको घरमा तीन तला भाडामा लिई सञ्चालन गरिएको कल सेन्टरबाट २५६ कम्प्युटर मनिटर, २३६ सीपीयू, २४५ किबोर्ड, २९४ हेडफोन, २३१ माउस, ६ वटा ल्यापटप र कर्मचारीलाई तलब दिन राखिएको साढे ४ लाख रुपैयाँ नगद बरामद गरिएको डीएसपी केसीले जानकारी दिए ।२०७८ फागुनमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको कल सेन्टरले उद्देश्य विपरीत काम गरेको पाइएको डीएसपी केसीले बताए ।

कल सेन्टरमा दुई सिफ्टमा गरी साढे दुई सय बढी कर्मचारीले काम गर्ने गरेका थिए ।कल सेन्टरका कर्मचारीले सर्वसाधारणलाई फोन गरेर क्यास पकेट, देशी क्यास, इन्स्ट्यान्ट लोन, एक्सप्रेस लोन जस्ता एप डाउनलोड गर्न लगाउँथे । त्यसपछि कर्जा लिन चाहनेको फोटो, मोबाइल नम्बरसहित आधार कार्ड, राशन कार्ड, बैंक खाता लगायतका व्यक्तिगत विवरणहरु अनलाइनमार्फत लिने र कर्जा असुल्ने क्रममा समयमा कर्जा चुक्ता नगरे गाली गलौज, धम्की र अश्लील फोटो समेत पठाएर ब्ल्याकमेल गर्ने गरेको पाइएको डीएसपी केसीले बताए ।कल सेन्टरमा काम गर्ने एक कर्मचारीले संस्थाले एक हप्ता समय दिएर ३ देखि १६ हजार रुपैयाँसम्म कर्जा दिने गरेको र समयमा कर्जा चुक्ता नगर्नेसंग रकम तिर्न अनुरोध गर्दा विवाद हुने गरेको बताए ।


कल सेन्टरले सेवा शुल्कवापत चर्को रकम असुलेर ठगी गरेको आरोप छ । कल सेन्टरले कर्जा लिनेहरुका हकवाला र अर्को एक जनासमेत गरी तीन जनाको ह्वाटसएप नम्बर लिने र पछि उनीहरुलाई समेत फोन गरेर अनावश्यक दबाव दिएको पाइएको प्रहरीको भनाइ छ ।कल सेन्टरमा १६ देखि २५ वर्षसम्मका युवाले काम गर्दै आएका छन् । कल सेन्टरमा कार्यरत सबैलाई निगरानीमा राखेर अनुसन्धान गरिने प्रहरीले बताएको छ ।३ सय जति कम्प्युटर राखेर काम गर्ने कल सेन्टरमा अवैध धन्दा भइरहेको सूचना आएपछि छापा मारिएको रुपन्देहीका प्रहरी प्रमुख रवीन्द्र रेग्मीले बताए । कल सेन्टरबाट दैनिक डेढ करोडसम्म आम्दानी हुने गरेको रेकर्ड भेटिएको प्रहरीको दावी छ ।


जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भरत बोहोराका अनुसार पक्राउ पर्नेमा कम्पनीका व्यवस्थापकीय प्रमुख ४३ वर्षीय चिनियाँ नागरिक हु एन्ह्वा, भारतीय नागरिक मनोज शैनी, नेहा गुप्तालगायत छन् ।‘अनलाइनमार्फत डिजिटल वालेट चलाएर उनीहरुले भारतलगायत विभिन्न मुलुकका व्यक्तिहरुलाई ऋण प्रवाह गरेको सूचना छ’ बोहोराले भने, ‘जस्तै उनीहरुले २० हजार रुपैयाँ ऋण दिने भए भने ब्याजवापतको ५ हजार सुरुवातमै कटाएर १५ हजार रुपैयाँ मात्रै दिने रहेछन् ।’ यसरी दिइएको रकम तोकिएको समयमा फिर्ता नगरे फोन गरेर धम्की र ब्ल्याकमेलिङ सुरु हुने गरेको बोहोरा बताउँछन् ।ऋणका लागि एप्लिकेसनमा लगइन गर्दै व्यक्तिगत गोपनीयता रहनुपर्ने आधार कार्ड, रासन कार्ड लगायतका विवरण पनि लैजाने हुँदा त्यही आडमा पछि धम्क्याउने गरेको बोहोराको दाबी छ ।


समस्या चाहिँ हालसम्म उनीहरुले गरेको अवैध कामलाई पुष्ट्याइँ गर्ने आधार प्रहरीले भेटाउन सकेको छैन । यसअघि चलाइएका अपरेशनमा पनि यही समस्या देखिने गरेको थियो । उनीहरुले कुन–कुन एप्लिकेसन चलाउँदै आएका थिए र यसबाट को–को पीडित भए भन्ने पनि स्पष्ट छैन । उनीहरुले कति बराबरको आर्थिक कारोबार गरे भन्ने पनि प्रहरीसँग जानकारी छैन । हालसम्म उनीहरुले गरेको अवैध कामलाई पुष्ट्याइँ गर्ने आधार प्रहरीले भेटाउन सकेको छैन ।


विगतमा यस किसिमको कसूरमा प्रहरीले अभद्र व्यवहारको कसूर वा बैंक तथा वित्तीय संस्था ऐन अनुसार मुद्दा चलाउने गरेको थियो ।नेपालस्थित चिनियाँ दूतावासले दुई वर्षअघि गृह मन्त्रालयलाई झण्डै ३ हजार चिनियाँ नागरिकले नेपालमा बसेर अवैध गतिविधि गरिरहेको सूचना दिएको थियो । त्यही सूचनाका आधारमा प्रहरीका विभिन्न युनिटले चिनियाँ नागरिकमाथि निगरानी गरिरहेका थिए । प्रहरीको विशेष ब्यूरो, केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय अपराध अनुसन्धान महाशाखा (हाल उपत्यका अपराध अनुसन्धान कार्यालय) जस्ता विशेष युनिटहरुसँग काठमाडौं, पोखरा, बुटवल र चितवनमा अझै ठूलो संख्यामा बसेका चिनियाँ नागरिक अपराधमा संलग्न भएको सूचना छ ।चिनियाँ नागरिक अधिकांश घटनामा उन्मुक्ति पाउँदै आएका छन् ।

यस्तै भएको थियो २०७९ वैशाख १३ वैशाख मा काठमाडौं प्रहरी परिसर टेकुले चलाएको अपरेसन पनि । उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवनले पनि निगरानी गरिरहेका बेला काठमाडौं प्रहरीले अपरेसन चलाएर महाराजगञ्जबाट २२ चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।पक्राउ परेकामध्ये २१ जनासँग बिजनेस भिसा भेटिएको थियो, थप एकजनाको भिसा नभएको पाइएको थियो ।


नेपालमा समातिएका चिनियाँ नागरिक र त्यसमा संलग्न व्यक्तिहरुलाई राष्ट्र बैंक ऐन र बैंक तथा वित्तीय कारोबार ऐन विपरीतको कसूर गरेको अभियोगमा कारबाही गर्न सक्ने अवस्था छ । दुबैमा नेपाल राष्ट्र बैंकको अनुमतिविना बैंकिङ कारोबार गरे कसूर हुने भनिएको छ ।तर, अवैध कल सेन्टर चलाएको अभियोगमा पक्राउ परेकाहरुले कता लगानी गरे वा कसरी आर्थिक कारोबार गरे भन्ने नै प्रहरीले पुष्टि नगरी रायसहितको अनुसन्धान प्रतिवेदन ल्याउने गरेको छ ।

अभिलेखहरु नै नभेटिएपछि बिगो केलाई बनाउने भन्नेमा पनि जटिलता देखिने उनी बताउँछन्, त्यही कारण चिनियाँविरुद्धको मुद्दा कमजोर हुने गरेको छ ।तीन वर्षअघि काठमाडौंमा चलाइएको ठूलो अपरेशनपछि चिनियाँ नागरिकहरुले कल सेन्टर चलाउने शैलीमा फेरबदल गरेको देखिएको छ । त्यसबेला हरेक कल सेन्टरमा चिनियाँ नागरिक नै कार्यरत हुन्थे, तर ‘अपरेसन चार्ली फोक्स्टर’पछि चिनियाँ नागरिक छायामा बसेर नेपाली नागरिकमार्फत काम गर्ने गरेका छन् ।उनीहरुले नेपाली नागरिकका नाममा कम्पनी दर्ता गरेर कल सेन्टर सञ्चालन गर्ने गरेका छन् ।

काठमाडौंमा २०७८ फागुन १० मा चलाइएको अपरेसनमा चिनियाँ नागरिकसहित २७ जना समातिएको घटनामा पनि त्यस्तै भयो । ललितपुरका एक नेपालीको नाममा दर्ता भएको ‘लेमन ग्रुप अफ कम्पनी’मार्फत इजी क्रेडिट, फ्रि क्यास, ह्याण्डी लोन, गो लोन, रुपी स्टार लगायतका एप्लिकेसनमार्फत गैरकानुनीरुपमा ऋण दिने काम भएको प्रहरीको दाबी थियो । घटनामा पक्राउ परेका एकजना बाहेक सबै नेपाली नागरिक थिए ।


चिनियाँ नागरिकविरुद्ध नेपाल प्रहरीले पहिलो अपरेसन चलाएको २०७६ पुस ७ मा हो । चिनियाँ प्रहरीसँग संयुक्त कारबाही गरेर चलाइएको अपरेसन ‘चार्ली फोक्स्टर’मार्फत प्रहरीले १२२ जनालाई पक्राउ गरेको थियो ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र काठमाडौं प्रहरी परिसर टेकुले एकसाथ काठमाडौंको मनमैजु, महाराजगञ्ज र बुढानीलकण्ठमा अपरेशन चलाएर उनीहरुलाई पक्राउ गरेको थियो ।नेपालस्थित चिनियाँ दूतावासले दिएको सूचनाको आधारमा चलाइएको अपरेसनमा ७४७ मोबाइल, ३३१ ल्यापटप, १८ सीपीयू, ९९ मोनिटर, २२ पेनड्राइभ, ३२७ सीमकार्ड र ६७ पासपोर्ट बरामद गरिएका थिए । त्यसलाई परीक्षणका लागि पनि प्रहरीले डिजिटल फरेन्सिक ल्याबमा लगेको थियो, तर कुनै महत्वपूर्ण विवरण हात लागेन ।पक्राउ परेका चिनियाँहरु इन्टरनेटमार्फत हुने जुवा, सट्टेबाजी र अन्य ठगीसम्बन्धी आर्थिक अपराधमा संलग्न भएको बताइएको थियो । तर, सबै जनाविरुद्ध अभद्र व्यवहारको कसूरमा मुद्दा चल्यो र निकै हल्लाखल्लासहित समातिएका चिनियाँ नागरिक एक–एक हजार रुपैयाँ धरौटी तिरेर छुटे ।प्रशासनले धरौटीमा छाडेपछि उनीहरुलाई अध्यागमन विभागको जिम्मा लगाएको थियो । अध्यागमनले नेपाल प्रवेशमा चार वर्ष प्रतिबन्ध लगाउने निर्णय गर्दै देश निकाला गरेको थियो ।

भाषाको समस्याका कारण प्रहरीले पक्राउ परेका चिनियाँको बयान लिन पनि सक्दैन । चिनियाँ भाषाका अनुवादक थोरै भएकाले प्रहरीलाई १२२ चिनियाँ पक्राउ परेको घटनामा अनुसन्धान गर्न सकस परेको थियो । अनुसन्धान अधिकृतहरुले अंग्रेजीमा प्रश्न गर्दा कसैले जवाफ फर्काएका थिएनन् ।

पछिल्लो समय नेपालमा बसेर ठूलो संख्यामा चिनियाँ नागरिकहरुले साइबर अपराधसँग जोडिएको अनलाइन बेटिङ, जुवा, अवैध ऋण लगानी लगायत आर्थिक अपराधमा चिनियाँ नागरिक संलग्न देखिएको छ ।नेपालमा विदेशीलाई काम गर्न रोकावट छैन, तर श्रम स्वीकृति लिनुपर्छ । ‘चिनियाँ नागरिक चाहिँ भिजिट भिसामा आएर ६/६ महिनामा रिन्यू गर्दै अवैध काम गरेर बस्ने गर्छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..