विराटनगर । विराटनगर विमानस्थलबाट काठमाडौं लैजान लागिएको सुन वैधानिक रहेको पुष्टि भएको छ ।
सुनका गरगहना वैधानिक हिसाबबाटै काठमाडौं लैजान खोजेको पाइएको हो । प्रहरीले २० तोला सुनका गहनासहित सुनसरी इटहरीका कूलबहादुर सुनुवारलाई मङ्गलबार बिहान ९ बजेतिर नियन्त्रणमा लिएको थियो ।
विराटनगर विमानस्थल हुँदै यति एयरलाइन्सको जहाजमार्फत काठमाडौं जाने तयारी गर्दैगर्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।
शङ्कास्पद हिसाबले सुन लैजान लागिएको हुनसक्ने प्रहरीको आशङ्का थियो । सुनका गरगहना वैधानिक रहेको प्रमाणित भएपछि सुनुवारलाई प्रहरीले छाडिदिएको छ । गहना पनि जिम्मा लगाइएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार सुनुवारले बैङ्कबाट सुन खरिद गरेको बिल र निकासीका लागि सम्बन्धित निकायबाट लिएको अनुमतिलगायतका कागजपत्र पेश गरेका थिए । कागजपत्र अध्ययन गर्दा सुन चुस्तदुरुस्त रहेको पाइएपछि छाडिएको उनले बताए ।
‘शङ्का लागेकाले नियन्त्रणमा लिएर अनुसन्धान थालेका थियौँ,’ डिएसपी श्रेष्ठले भने, ‘कागजात अध्ययन गर्दा सुन वैधानिक रहेको पाइएपछि छाडिएको छ ।’


