वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकाबाट प्रहरीले नक्कली नोटसहित दुई जना युवकलाई पक्राउ गरेको छ । बहुदरमाई–८ का १९ वर्षीय राजाबाबु साह तेली र पटेर्वासुगौली गाउँपालिका घर भइ हाल बहुदरमाई–८ मै बस्दै आएका २० वर्षीय अजय सहनी पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट नेपाली १ हजार दरका २० थान २० हजार नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।पर्साको जगरनाथपुर गाउँपालिका–६ मा लागेको दुर्गा भगवती मेलामा नक्कली नेपाली नोट साट्दै गरेको सूचना प्रहरीले पाएको थियो ।
ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई मेलाबाटै १ हजार दरको २० थान नोटसहित पक्राउ गरेको थियो ।उनीहरुलाई ईलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखेर मुद्रा सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।


