वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नव निर्वाचित नगर प्रमुख राजेशमान सिंहले पद तथा गोपनियताको सपथ लिएका छन् ।वीरगञ्ज आदर्शनगर स्थित पुरानो बसपार्कमा उनलाई मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले उनलाई सपथ खुवाएका थिए ।
त्यस लगत्तै उनले वीरगञ्ज महानगरपालिकाको नगर प्रमुखको पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गरे लगत्तै उनले मुख्य तीन वटा निर्णय गरेका छन् ।
वीरगञ्जको घण्टाघर क्षेत्रको जीर्ण सडक मर्मत गर्ने, घरेलु मिटर प्रयोग गर्दै आएका महानगरभित्रका १० हजार ९२४ घरधुरीको ३० युनिटसम्मको मासिक न्युनतम शुल्क तथा इनर्जी शुल्क र महानगरभित्र कृषि सिंचाइका लागि लिइएको ७० वटा सिंचाइ मिटरमा उठ्ने सम्पूर्ण शुल्क भुक्तानीको दायित्व साउन १ गतेदेखि महानगरपालिकाले व्यहोर्ने निर्णय गरेका छन् ।
महानगरपालिकाको आन्तरिक आम्दानीको स्थिति, संघ र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानको अध्ययन गर्नुको साथै प्रशासनिक खर्च कटौती गरेर अन्य जनहितका कामहरु गर्ने अठोट उनले लिएका छन् ।
वीरगञ्ज महानगरपालिकाका निवर्तमान नगर प्रमुख विजय कुमार सरावगीले महानगर परिसरमा पछि बनेको नयाँ भवनको माथिल्लो तलामा आफ्नो कार्यकक्ष बनाएका थिए ।तर नयाँ मेयर राजेशमानले पहिले प्रमुख प्रशासकीय अधिकृत बसेको कोठा चुनेका छन् । यो कोठा पुरानै भवनको भूँई तलामा छ ।
छेउमा उपप्रमुखको कार्यकक्ष छ भने पहिलो तलामा न्यायिक समिति र मिटिङ हल छ । सोही भवनको माथिल्लो तलामा नगर प्रहरीका लागि आवास कोठा बनिरहेको छ ।


