काठमाडौं । प्रेस काउन्सिल नेपालले स्थानीय तह निर्वाचनको मतगणना हुने र परिणाम आउनेक्रम जारी रहेकाले अनुमानको भरमा समाचार सम्प्रेषण नगर्न सम्बद्व पत्रकार र सञ्चार माध्यमलाई ध्यानाकर्षण गराएको छ ।
विभिन्न स्थानमा मतगणना चलिरहेको र त्यसको अन्तिम परिणाम आउन अझै केही दिन लाग्ने देखिएको अवस्थामा केही सञ्चार माध्यमले आफैँ विजयी घोषणा गरेर समाचार सम्प्रेषण गरेको पाइएको भन्दै निर्वाचन आयोगबाट सत्यतथ्य र आधिकारिक जानकारी लिएरमात्र समाचार सम्प्रेषण गर्न काउन्सिलले विज्ञप्तिमार्फत जनाएको हो ।
यस्तै, निर्वाचन सम्पन्न गराउन पत्रकारजगतले आफ्नो तर्फबाट निभाएको भूमिकाको प्रशंसा गर्दै काउन्सिलले सम्बद्व पत्रकार, सञ्चार माध्यमलाई धन्यवाद दिएको वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै, समयमै तथ्याङ्क अद्यावधिक नहुँदा सञ्चार माध्यमबाट ‘अडियन्स’मा गलत, अपुष्ट सन्देश जाने भएकाले यसतर्फ ध्यान दिँदै तथ्याङ्क अद्यावधिक गरी पत्रकार र सञ्चार माध्यमलाई समयमै प्रदान गर्न काउन्सिलले निर्वाचन आयोग नेपाललाई समेत आग्रह गरेको छ ।


