के हो मौन अवधि ?

काठमाडौं । स्थानीय तहको निर्वाचन वैशाख ३० गते हुँदै छ । निर्वाचन प्रयोजनका लागि ‘मौन अवधि’ पनि सुरु भइसकेको छ । निर्वाचन आयोगले वैशाख २७ गते राति १२ बजेदेखि मौन अवधि लागू भएको जनाएको छ । आखिर के हो त मौन अवधि ? छोटो शब्दमा भन्दा मौन अवधि भनेको ‘मौन अवधि’ भनेको ‘शान्त अवधि’ । यो अवधि भनेको उम्मेदवारले आफ्नो तयारीका बारेमा समीक्षा गर्ने र मतदाताले कसलाई भोट दिने भनेर स्पष्ट योजना बनाउने समय हो ।

निर्वाचनमा ‘मौन अवधि’ विश्वव्यापी प्रचलन हो । विश्वका अधिकांश देशमा निर्वाचनका क्रममा ‘मौन अवधि’ प्रचलनमा रहेको छ । सामान्यतः निर्वाचन हुनुभन्दा ४८ घन्टा अगाडि ‘मौन अवधि’ सुुरु हुन्छ । यो अवधिमा मतदाता, उम्मेदवार, अनुगमनकर्ता र सञ्चारमाध्यमलगायत सबैलाई आफ्नो ध्यान मतदानमा केन्द्रित गर्न प्रेरित गर्छ । राजनीतिक दल तथा उम्मेदवारहरूको प्रचारप्रसार मतदानको अन्तिम समयमा आएर द्वन्द्वमा परिणत नहोस् वा निर्वाचनको मुखमा प्रचारप्रसारमा विकृति नबढोस् भनेर ‘मौन अवधि’ राख्ने गरिन्छ । निर्वाचनको वातावरण शान्त रहोस र उम्मेदवारबीचको प्रतिस्पर्धा अस्वथ्य नहोस् भनेर पनि ‘मौन अवधि’ राख्ने गरिन्छ ।

यो अवधिले सर्वसाधारण मतदातालाई कस्तो जनप्रतिनिधि चयन गर्ने भनेर गम्भीरतापूर्वक सोच्न सहयोग पु¥याउँछ । चुनावमा उठेका उम्मेदवारहरूलाई पनि आफ्नो तयारीको विषयमा सचेत भएर अन्तिम समीक्षा गर्ने अवसर प्रदान गर्छ । यसका अतिरिक्त ‘मौन अवधि’ ले निर्वाचन आयोगलाई पनि अन्तिम समयमा आएर बाँकी काम पूरा गर्न सहयोग पुर्याउँछ ।‘मौन अवधि’ सुरु भएपछि कुनै पनि राजनीतिक दल र उम्मेदवारहरूले चुनावी प्रचारप्रसार गर्न पाउँदैनन । मतदातालाई अनावश्यक प्रभावमा पार्न पाइँदैन । मतदानस्थलको तीन सय मिटर वरपर राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्री पनि राख्न पाइँदैन ।

त्यसैले निर्वाचन आयोगले मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्री हटाउन निर्देशन दिइसकेको छ । मौन अवधि सञ्चारमाध्यमलाई पनि लागू हुन्छ । मौन अवधिमा सञ्चार माध्यमले पनि कुनै दल वा उम्मेदवारको पक्ष/विपक्षमा कुनै सामग्री प्रकाशन वा प्रसारण गर्न पाउँदैनन् ।

यसैगरी ‘मौन अवधि’मा समाजिक सञ्चालमा पनि कुनै राजनीतिक दल र उम्मेदवारको पक्ष विपक्षमा कुनै कुरा पोष्ट गर्न पाइँदैन । मतदातालाई प्रभाव पार्ने कुनै पनि कुरा पोस्ट गर्न पाइँदैन । त्यसैले यसअघि सामाजिक सञ्जालमा राजनीतिक दल र उम्मेदवारहरूको पक्ष/विपक्षमा पोस्ट गरिएका सामग्री हटाउन निर्देशन दिइसकेको छ ।

आयोगले ‘मौन अवधि’ सुरु भएदेखि मतदान कार्य सम्पन्न नभएसम्म मादक पदार्थ बिक्री, वितरण र सेवन नगर्न पनि आग्रह गरेको छ । तोकिएको अवधि र ठाउँमा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् । निर्वाचन आचारसंहितामा ‘मौन अवधि’मा गर्न नपाइने कार्यको उल्लेख गरिएको छ । त्यसअनुसार मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा(सम्मेलन, कार्यशाला, गोष्ठी गर्न हुँदैन । यो अवधिमा मत माग्न पनि हुँदैन ।

मौन अवधि समयमा पालना गर्नुपर्ने आचारसंहिता उल्लंघन भए निर्वाचन आयोगले सुरुमा उम्मेदवार वा राजनीतिक दललाई आचारसंहिता पालना गर्न सचेत गराउनेछ । मौन अवधिको बेवास्ता गर्दै प्रचारप्रसार कायम राखे आयोगले त्यस्ता उम्मेदवारको उम्मेदवारीसम्म रद्द गर्न सक्छ । एक लाख रुपैयाँसम्म जरिवाना पनि गर्नसक्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..