मुम्बई । चेन्नइ सुपर किंग्सले कप्तानीमा महेन्द्रसिंह धोनी फर्केयता इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा आइतबार दोस्रो जित हात पारेको छ । यसका लागि उसले दिल्ली क्यापिटल्समाथि ९१ रनको ठूलो अन्तरको जित निकाल्न सफल रह्यो ।
पहिले ब्याटिङ गरेको चेन्नइले डेभन कन्वेको ८७ रनको मद्दतले छ विकेटमा २ सय ८ रन बनाएको थियो । जवाफमा दिल्लीले १७.४ ओभरमा अलआउट हुन अगाडि १ सय १७ रन मात्र बनाउन सक्यो ।
चेन्नइका बलरमध्ये मोइन अलि सर्वाधिक घातक रहे । उनले चार ओभरमा १३ रन खर्चेर तीन विकेट लिए । यस अगाडि आइतबारको पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले सनराइजर्स हैदराबादमाथि ६७ रनको जित निकालेको थियो ।


