प्रधानसेनापति शर्माले गरे सुरक्षा पोष्टको निरीक्षण

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले तनहुँको ऋषिङ गाउँपालिका–८ अर्चलछापमा नेपाली सेनाले स्थापना गरेको सुरक्षा पोष्टको आज शुुक्रबार निरीक्षण गरे। प्रधानसेनापति शर्माले व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) ले स्थानीय तह निर्वाचनलाई लक्ष्य गरी स्थापना गरेको ‘कम्पनी अपरेटिङ बेस’ को निरीक्षण गरेका हुन्  । 

निरीक्षणका क्रममा प्रधानसेनापति शर्माले उक्त इलाकाको वस्तुस्थितिलगायत विविध पक्षबारे जानकारी लिनुका साथै जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा निर्वाचन अधिकृतसँग अन्तरक्रिया गरे । सो क्रममा उनले उक्त ठाउँमा तैनाथ सकल दर्जालाई सम्बोधन गर्दै सरकारबाट नेपाली सेनालाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढङ्ले सम्पादन गर्न निर्देशन दिएका थिए । 

निरीक्षणका क्रममा कालीभञ्जन गण (इ) का गणपति प्रमुख सेनानी रामज्योति बोहराले प्रधानसेनापति शर्मालाई त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी गराएका थिए । 

प्रधानसेनापति शर्मा पछिल्लो केही दिनयता सेनाका चारवटै कमाण्ड अन्र्तगत रहेका कमाण्ड मुख्यालय, शिक्षालय, बाहिनी र गणको भ्रमणमा ब्यस्त छन् । यो उनको निर्वाचन सुरक्षा लक्षित भ्रमण रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

प्रधानसेनापति शर्माले भ्रमणकाक्रममा देशभर सेनाले स्थापना गरेका कम्पनी अपरेटिङ बेसलाई विशेष चासोका साथ भ्रमण र निर्देशन दिइरहेका छन् । 

सैनिक प्रवक्ता सहायक रथी नारायण सिल्वालले सेनाको भौतिक संरचना र उपस्थित नभएका क्षेत्रहरुमा निर्वाचन लक्षित सुरक्षाका लागि यस्ता बेसहरु बनाइएको बताउछन् । उनका अनुसार सेनाका सेनानी वा उपसेनानीको कमाण्डमा करिब एकसय जनाको सँख्यामा रहने टुकडीलाई सम्पूर्ण बन्दोबस्तीसहित राखिने स्थानलाई कम्पनी अपरेटिङ बेस भनिएको हो । यस्तो बेसबाट नजिकको स्थानमा पैदल र सवारीसाधनबाट गस्ती तथा सुरक्षा प्रवन्धको व्यवस्थापन हुने गर्छ । 

‘आवश्यकता अनुसार कम्पनी बेसले आफ्नो क्षेत्रमा केही दिनका लागि प्लाटुन अपरेटिङ बेस बनाउन सक्छ,’ प्रवक्ता सिल्वालले पर्दाफाससँग भने,’ हामीले हाललाई निर्वाचन सुरक्षा लक्षित बेसहरु बनाएका हौं, यी बेस कहिलेसम्म रहने भन्ने विषय त्यहाँको सुरक्षा अवस्थामा निर्भर हुनेछ। ’

प्रधानसेनापति शर्माले यसअघि १८ बैशाखमा नेपाली सेनाद्वारा ईलामको दानाबारी क्षेत्रमा स्थापना गरेको बेसको निरीक्षण गरेका थिए । यस्तै १५ बैशाखमा बारा महागढीमाई क्षेत्रमा स्थापना गरेको बेसको निरीक्षण गरेका थिए । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..