प्रहरीमा गैरव्यावसायिक आचरण सह्य र क्षम्य हुँदैन : नवनियुक्त आईजीपी सिंह

काठमाडौं । प्रहरी महानिरीक्षक ( आईजीपी ) धीरजप्रताप सिंहले प्रहरीमा गैरव्यावसायिक आचरण सह्य र क्षम्य नहुने बताएका छन् । 

प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहबीच प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक सिंहले प्रहरी संगठनको श्रीवृद्धिमा जोड दिँदै उक्त कुरा बताएका हुन् । उनले प्रहरी संगठनका असल अभ्यासहरूलाई निरन्तरता दिँदै समय अनुकूल पद्धति र प्रविधि उन्मुख नवीन परम्पराको थालनी गरिने बताए । 

नैतिक आचरणयुक्त प्रहरी व्यावसायिकता अभिवृद्धि र अपराध अनुसन्धानमा वैज्ञानिकीकरणका साथै सुशासन प्रवर्धन गर्न कार्यविधि तथा मापदण्ड निर्माण, आर्थिक पारदर्शिता कायम र प्रहरी जवाफदेहिता सुनिश्चित गर्न विशेष पहल हुनेमा उनले जोड दिएका छन् । 

आसन्न स्थानीय तहको निर्वाचन अहिले राष्ट्रिय प्राथमिकताको विषय भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले निर्वाचनलाई निष्पक्ष, भयरहित एवम् सुरक्षित तवरबाट सम्पन्न गर्न उच्च सतर्कता, संवेदनशीलता र महत्वका साथ सफलतापूर्वक सम्पादन गर्न उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन दिए । 

कुनै पनि व्यक्ति वा संगठन आलोचना मुक्त नहुने बताउँदै महानिरीक्षक सिंहले भने, ‘नेपाल प्रहरी र यसमा आवद्ध सकल दर्जा त झन् नागरिक जीवनको एक अभिन्न हिस्सा भएकोले हाम्रो हरेक क्रियाकलाप माथि नागरिकहरूले सूक्ष्म निगरानी राख्नु अस्वाभाविक ठान्दिन । मेरो मान्यता भनेको गुनासो र आलोचनालाई स्वीकार गर्नुपर्दछ र त्यसको उचित सम्बोधन गर्नुपर्दछ भन्ने हो । गुनासो र आलोचना उसैको हुन्छ, जसप्रति आशा र विश्वास जोडिएको हुन्छ ।’ 

नेपाल प्रहरीको आधार भन्नु नै नागरिक विश्वास र भरोसा भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले समाज र राष्ट्रको हित र सुरक्षाका खाँतिर संगठन र यसमा आबद्ध सकल दर्जाका प्रहरी कर्मचारीहरूले कानूनी राज्यको मान्यता अनुरुप निष्पक्ष एवम् व्यावसायिक प्रहरी सेवा प्रवाह गर्न र कुनै प्रकारको सम्झौता नगर्न निर्देशन दिए । व्यक्तिगत स्वार्थ त्यागी निर्भिकताका साथ आ–आफ्नो व्यावसायिक धर्म निर्वाह गर्न सम्पूर्ण अधिकृत तथा जवानहरूलाई उनले निर्देशन दिए । 

प्रहरी महानिरीक्षक सिंहले भने, ‘कानून सम्मत जिम्मेवारी बहन गर्ने सिलसिलामा कुनै अधिकृत तथा जवानहरूबाट अकर्मण्यता, लापरवाही र उदासीनता हुनेछैन ।’ 

भष्ट्राचारमा शून्य सहनशीलता अवलम्बन गर्नुका साथै चोरी निकासी गर्ने, प्राकृतिक स्रोतको दोहन गर्ने तथा अन्य आपराधिक कार्यमा संलग्न हुने तत्वहरूसँगको साठगाँठ एवम् अवाञ्छित क्रियाकलापमा संलग्न रहने, प्रश्रय दिने तत्वहरुको पहिचान गरी कारवाही गर्ने सवालमा आफू कठोररूपमा प्रस्तुत हुने उनले बताए । 

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरु, प्रहरी प्रधान कार्यालय तथा उपत्यकास्थित वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरुको साथै नेपाल प्रहरी प्रदेश कार्यालयहरूका प्रमुखहरूको भर्चुअल रूपमा उपस्थिति थियो ।
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..