काठमाडाैं । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेकाे छ ।
आइतबार बसेकाे मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेकाे हाे । गृह मन्त्रालयको सिफारिसमा सिंहलाई आईजीपी नियुक्त गरिएकाे बताइएकाे छ ।हालका प्रहरी महानिरीक्षक शैलेश थापा वैशाख १८ गतेदेखि अनिवार्य अवकाशमा जाने भएपछि सरकारले सिंहलाई आईजीपी नियुक्त गरेकाे हाे ।
नेपाल प्रहरीभित्र चर्चित नाम हाे धिरजप्रताप सिंह । ठूला-ठूला केसहरुकाे अनुसन्धान गरेर नै सिंहले आफूलाई अब्बल प्रहरी अधिकारीकाे रुपमा स्थापित गर्नुभएकाे छ ।
महानिरीक्षकको लागि सिंहसहित विश्वराज पोखरेल र सहकुल थापा प्रतिष्पर्धामा हुनुहुन्थ्याे । उहाँहरु तीनै जना ०४९ चैत्र ११ मा नेपाल प्रहरीमा प्रवेश गर्नुभएकाे थियाे । सिंह लामाे समयसम्म वरियतामा अगाडि रहनुभयाे । यद्यपि डीआईजी र एआईजी हुँदा पोखरेलले दरबन्दी सिर्जना गरेर सिंहलाई उछिन्नुभएकाे थियाे । पोखरेल ०७७ मंसिर २५ मा एआईजीमा बढुवा हुनुभएकाे थियाे । सिंह ०७८ चैत ७ मा एआईजी बन्नुभएकाे थियाे ।
प्रहरी नियमावली-२०७१ मा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मध्येबाट कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, भौगोलिक क्षेत्रमा काम गरेको अनुभव, शैक्षिक योग्यता, तालिम, चुनौतीपूर्ण वा विशेष जिम्मेवारीका आधारमा १ जनालाई आईजीपीमा बढुवा गर्न सक्ने व्यवस्था छ । सरकारले साेही नियमावली अनुसार सिंहलाई आईजीपी नियुक्त गरेकाे हाे ।
०४९ साल चैत ११ गते धीरजप्रताप सिंह नम्बर एक इन्स्पेक्टरका रुपमा नेपाल प्रहरीमा प्रवेश गर्नुभएकाे थियाे । आफ्नाे क्षमता र कार्यकुशलताका कारण सिंह अब्बल प्रहरी अधिकारीका रुपमा चर्चित हुनुहुन्छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख रहनुभएका सिंहले एआईजी सिंहले मधेश प्रदेशमा डीआईजीकाे रुपमा रहँदा निक्कै राम्राे काम गर्नुभएकाे थियाे । इच्छाराज तामाङकाे केशदेखि लिएर प्रहरीले सञ्चालन गर्ने अप्रेशनहरुमा सिंहले अब्बल काम गरेकाे देखाउनुभएकाे छ ।


