चितवनमा रातिदेखि लागेको आगो आज बिहान ७ बजेमात्रै नियन्त्रणमा, ६ वटा पसल जले


चितवन । चितवनको भरतपुर महानगरपालिका–३ कमलनगरमा लागेको आगो आज बिहान ७ बजे पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
आज बिहान २ बजेदेखि निभाउन सुरु गरिएको आगो चार वटा दमकलको सहयोगमा आज बिहान ७ बजेमात्र नियन्त्रणमा लिन सकिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।

भरतपुर महानगरपालिका–३ कमलनगर स्थित तुलसीराम सापकोटाको चार तले घरमा आगो लागेको हो । नारायणगढ बजार क्षेत्रमा पर्ने घरमा आगो लागेपछि वरपरका बासिन्दा त्रसित भएका थिए ।
आगोबाट सो घरमा रहेका ६ वटा पसलका सामानहरु जलेर नष्ट भएका छन् । क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ ।

प्रहरीका अनुसार विष्णु प्रसाद लामिछानेको एक्सप्रेस मोबाइल पसल, विष्णु आचार्यको दुर्गा इलेक्ट्रोनिक पसल, बसन्त कार्कीको श्रीकृष्ण सप्लायर्स, शंकर सापकोटाको जुत्ता पसल, बासुदेव आचार्यको फेन्सी पसल र सूर्यमणि लामिछानेको दियालो फेन्सी पसलमा क्षति पुगेको छ । मानवीय क्षति भने भएको छैन ।

आज बिहान करिब २ बजेतिर आगो लागेको सूचना प्रहरीले पाएको थियो । त्यसलगत्तै वडा प्रहरी कार्यालय नारायणगढ र जिल्ला प्रहरी कार्यालयको टोली आगो लागेको स्थानमा पुगेको थियो ।

त्यसपछि भरतपुर महानगरपालिकाको दमकलले आगो निभाउन सुरु गरेको थियो । तर एउटा मात्र दमकलले आगो निभाउन नसकेपछि खैरहनी नगरपालिकाका दुईवटा र नेपाली सेनाको एउटा दमकल बोलाएर आगो निभाउन थालिएको थियो । आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी पनि खटिएका थिए ।

सबैको प्रयासमा आज बिहान ७ बजेको समयमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको र क्षतिको विवरण आउन बाँकी रहेको डिएसपी अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..