सिराहा । अवैध रुपमा नदी उत्खन्न भईरहेको जनगुनासो बढेपछि जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख एसपी अर्जुन प्रसाद तिमिल्सिनाले अबैध उत्खन्न विरुद्ध निगरानी बढाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाले कल्याणपुर नगरपालिका-१० दोखा स्थित घुर्मी खोलाबाट अवैध उत्खनन् गरेको भन्दै ON TEST नम्बरको जेसिबी नियन्त्रणमा लिएको छ ।


कल्याणपुरको घुर्मी खोलाबाट ठेक्का नै नगरी अवैधरुपमा बालुवा उत्खनन् गरिरहेको अवस्थामा जेसिबी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिनाले चालकलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बताए । उनले सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर कारवाही प्रक्रिया अघि बढाइने बताए ।
त्यसैगरी : अवैध रुपमा ग्राभेल उत्खनन् गर्ने पाँच टिपर र एक वटा जेसीबीलाई सिराहा प्रहरीले नियन्त्रणमा लिएको थियो । स्थानीयले दिएको सूचनाको आधारमा प्रहरीले सिरहाको गोलबजार नगरपालिका –१ मुक्सारबाट टिपर र जेसीबीलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार ना३ख ६८१२, प्र २–०१–००१ ख ०२४३, ना३ख ८७७७, प्र२ –०१–००१ ख ०१०१ र रा१ख २०८८ नम्बरको टिपर र नम्बर उल्लेख नभएको चेनवाला स्काभेटर शनिवार राति नियन्त्रणमा लिएको हो ।
टिपर र स्काभेटर नियन्त्रणमा लिए पनि साँचो लिएर ड्राइभरहरू फरार भएकाले चार वटा टिपर र स्काभेटर प्रहरीको सुरक्षामा उत्खनन् स्थलमै रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) अर्जुन प्रसाद तिमिल्सिनाले जानकारी दिए । उत्खनन् गरिरहेको अवस्थामा प्रहरी गएपछि सबै गाडीका चालक भागेकाले गाडी मात्रै प्रहरीकाे नियन्त्रणमा रहेकाे उनकाे भनाइ छ ।
हाल सम्म नगरपालिकामा एउटा पनि खानी दर्ता नभएको गोलबजार नगरपालिकाका सूचना अधिकारी दिनेश सहनीले जानकारी दिए । सहनीले प्रहरीले टिपर नियन्त्रणा लिएको विषयमा पनि जानकारी नभएको बताए । उनले भने, ‘हाम्रोमा अहिलेसम्म जानकारी आएको छैन, प्रहरीले प्रक्रिया पुर्याएर जिम्मा लाउँछ होला ।’
प्रत्येक वर्ष विकास निर्माण सुरु भएसँगै सिराहाको गोलबजार, धनगढीमाई, मिर्चैया, कर्जन्हा र लहान नगरपालिकाको उत्तरी क्षेत्रमा अवैध उत्खनन हुने गरेको छ । स्थानीय निकायमा नै खानी दर्ता गर्ने र त्यसको राजस्व लिने व्यवस्था भए पनि उनीहरूको मौनताले मिलेमतोको आशंका स्थानीयले गरेका छन् ।